Comments Add Comment

स्थायी कमिटीमा प्रचण्डको प्रस्तुतिले वामदेव-माधव पक्ष खुशी

२९ मंसिर, काठमाडौं । पार्टी मुख्यालय धुम्बाराहीमा शनिबार दिउँसो करिब डेढ घण्टासम्म बसेको नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तुतीबाट वामदेव- माधव नेपाल पक्ष खुशी देखिएको छ ।

अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनलाई नै बैठकको एजेण्डा मान्ने जिकिर गरिरहेका बेला प्रचण्डले उदाररुपमा प्रस्तुत हुँदै अन्य एजेण्डालाई पनि प्रस्तुत गर्न सकिने भनेपछि असन्तुष्ट पक्षले राहत महसुस गरेको हो ।

शनिबारको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डका तर्फबाट २२ पृष्ठ लामो संयुक्त राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । बैठकमा नेता वामदेव गौतमले १६ पृष्ठ लामो भिन्ने राजनीतिक प्रतिवेदन दर्ता गराएका छन् । दुबै राजनीतिक प्रतिवेदनमाथि दुई दिनसम्म अध्ययन गरेर सोमबार बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित भएको छ ।

केपी ओलीले के भने ?

विगतमा एमालेको बैठक महासचिवले सञ्चालन गर्ने परम्परा भएता पनि पार्टी एकतापछि दुईजना अध्यक्ष भएपछि प्रायः केपी ओलीले नै बैठकको सञ्चालन गर्दै आएका छन् । शनिबारको बैठक पनि ओली आफैंले सञ्चालन गरेका थिए । उनले बैठक प्रारम्भ भएको जनाउ दिँदै सुरुमा करिब ५ मिनेट जति बोले ।

अहिले नेकपाले सरकारको नेतृत्व गरिरहेको र अनुकूल स्थिति रहेको बताउँदै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी एकता ऐतिहासिक रुपमा भएको र देशको नेतृत्व गर्ने अवसर पार्टीलाई प्राप्त भएको बताएका थिए ।

उनले सरकारले राम्रो काम गरिरहेको दाबी गरे । बैठकमा अध्यक्ष ओलीले भने- ‘अझ मलाई यहाँ आएपछि पो थाहा भयो, डाटाहरु हेर्दा सरकारले धेरै काम गरेको रहेछ ।’

प्रधानमन्त्री ओलीले बैठक धेरै लामो बस्नु छैन, बरु अर्को बैठक छिट्टै बोलाउनुपर्छ भन्दै स्थायी कमिटी बैठक छोट्याउन खोजे । पहिलो एजेण्डाका रुपमा अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन पेश हुने र अर्को एजेण्डा ‘विविध’ रहने बताउँदै ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गरे ।

अमृत बोहोरा र अमिक शेरचनको आपत्ति

बैठकको सुरुवातमै अनुशासन समितिका अमृत बोहोराले आपत्ति जनाए । बैठकमा उपस्थित रहेका अनुशासन समितिका बोहोरा र अमिक शेरचन लगाउतले माइन्युटमा हस्ताक्षर गर्न मानेका थिएनन् । उनीहरुलाई स्थायी कमिटीको बैठकमा ‘आमन्त्रित’ अन्तरगत राखिएकाले हस्ताक्षर गर्न नमानेको एकजना स्थायी कमिटी सदस्यले अनलाइनखबरलाई बताए ।

‘पूर्वएमालेमा अनुशासन कमिटी महाधिवशेनले बनाउँथ्यो र सो कमिटीका सदस्यहर स्थायी कमिटी सदस्य हुन्थे । विगतमा बैठकहरुमा पनि यसबारे बारम्बार सचेत गराउँदा पनि आमन्त्रित सदस्यमै राखेर अपमानित गर्न खोजिएको भन्दै बोहोराले बैठकमा आपत्ति जनाए । अमिक शेरचनले पनि बोहोरालाई साथ दिँदै माइन्युटमा हस्ताक्षर गरेनन् ।

शुरुमा अध्यक्ष केपी ओलीले बोहोरा र शेरचनलाई आमन्त्रित सदस्यकै रुपमा प्रस्तुत गर्न खोजेका थिए । तर, बैठकमा उपस्थित अन्य सदस्यहरुnmे यसमा आपत्ति जनाएपछि उनीहरुलाई ‘आमन्त्रित’ को साटो उपस्थित सदस्यमा राखिएपछि दुबैले हस्ताक्षर गरेको स्रोतले अनलाइनखरलाई बतायो ।

आधा दर्जन नेताको प्रश्न- एजेण्डा खोई ?

अध्यक्ष केपी ओलीले प्रचण्डलाई राजनीतिक प्रतिवेदन वाचन गर्न आग्रह गरेपछि माधव नेपाल पक्षका नेताहरुले एक एक गर्दै एजेण्डा खोई भनेर प्रश्न तेस्र्याउन थाले । बैठकमा यसरी प्रश्न गर्नेहरुमा भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, बेदुराम भुसाल लगायत थिए ।

असन्तुष्ट पक्षका नेताहरुले सचिवाललको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने एजेण्डा शुरुमै आउनुपर्ने बताए । त्यसैगरी सरकारको मूल्यांकन, पार्टी एजेण्डाको मापण्ड आदि विषयमा एजेण्डाहरु आवश्यक रहेको नेताहरुले बताए ।

नेताका असन्तुष्टिहरु सुनेपछि प्रचण्डले भूमिका बाँध्दै अध्यक्षद्वयबाट प्रस्तुत राजनीतिक प्रतिवेदनले समेटेका विषयमा सोही अनुसार र नसमेटिएका विषयहरु रहेमा बेग्लै एजेण्डा बनाउन सकिने बताएपछि माधव नेपाल र वामदेव पक्षका नेताहरुले चित्त बुझाएको स्रोतले बतायो ।

बैठकपछि माधव नेपालनिकट एक नेताले भने- ‘केपी ओलीजी बैठक छोट्याउने र थप एजेण्डा आउनै नदिने लाइनमा हुनुहुन्थ्यो, तर, प्रचण्डले सबै एजेण्डाहरु प्रस्तुत गर्न सकिने गरी ढोका खोलिदिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment