Comments Add Comment

कांग्रेस सबैभन्दा अनुशासित पार्टी हो

नेपाली कांग्रेसकी नेतृ सीता गुरुङ विधान मस्यौदा कमिटीमा थिइन् । यसक्रममा उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, प्रदेश र स्थानीय कमिटीहरुमा मात्रै होइन, पदाधिकारी, विभाग, संसदीय बोर्ड लगायतमा पनि महिलाको ३३ प्रतिशत आवाज सुनिश्चित हुनुपर्ने आवाज उठाइन् र फरक मत पेश गरिन् ।
तेह्रथुम जन्मघर भएकी गुरुङ पूर्वसांसद एवं पूर्वराज्यमन्त्री हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी नेपाली कांग्रेसकी युवापुस्ताकी नेतृ मानिन्छन् ।
विधान मस्यौदा कमिटीमा नेतृ गुरुङले गरेको संघर्ष र नेपाली कांग्रेसभित्र महिला नेता कार्यकर्ताहरुको अवस्थाबारे अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छः

तपाईले नेपाली कांग्रेसको विधान मस्यौदा कमिटीमा महिलाको विषयमा फरक मत राख्नुभयो भन्ने सुनियो । तपाईको फरक मत केमा हो ?

प्रस्तावित विधानमा यी कुराहरु समावेश गर्न नसकिएका कारणले फरक मत ल्याएकी हुँ । हाम्रो पार्टीको संरचनामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भन्ने भएको छ । ३३ प्रतिशत सुनिश्चित नभएको चाहिँ पदाधिकारी, विभागहरु, संसदीय बोर्ड, कार्य सम्पादन समिति, अनुशासन समिति लगायतमा हो । यी सबैमा ३३ प्रतिशत सुनिश्चित हुनुपर्‍यो भन्ने मेरो प्रस्ताव हो । बोल्दाखेरि पनि मैले यिनै कुरालाई उठाएकी छु । यसमा अरु महिला साथीहरुको पनि सपोर्ट छ । र, यो विषयमा अब महासमिति बैठकमा छलफल हुनुपर्छ ।

यसपालि विधानमा महिलाका लागि नयाँ व्यवस्था पनि थप भएको छ । पार्टीमा महिलाले निरन्तरता दिँदैनन् भन्ने कुरा उठ्छ । केही कुरामा अवरोध पनि हुन्छन् । जस्तो– प्राकृतिकरुपमा महिलाले बच्चा जन्माउँछ । यसमा करिब दुई वर्ष ग्याप नै हुन्छ । गर्भवती भएका बेलामा एक वर्ष समय त्यसै जान्छ । बच्चा पाइसकेपछि बच्चाको अधिकारका लागि पनि समय दिनुपर्छ ।

त्यसैले, यसपालि विधानमा थप भएको के छ भने सदस्यहरुको योग्यताको मापन गर्दा महिलाको प्रजनन अवधिभरिको समयलाई गणना नगरिने । हामीले यो प्रावधान विधानमा राखेका छौं । यसले महिलाहरुको राजनीतिलाई अगाडि बढाउनुका लागि उर्जा प्रदान गर्छ र मनोबल बढाउँछ । यो मैले नै प्रस्ताव गरेकी हुँ ।

यो मामिलामा सबैभन्दा बढी अनुशासनमा बसेको पार्टी नेपाली कांग्रेस नै हो जस्तो लाग्छ । हाम्रो पार्टीमा पार्टीभित्रैका कार्यकर्तासँग बिहे गर्ने परम्परा पनि छैन । सांसदहरुकै कुरा गर्ने हो भने अरु दलमा नेताका श्रीमतीहरुलाई ल्याइएको छ, हाम्रो पार्टीमा त्यस्तो छैन । अरु दलले जनजातिको कोटाबाट ल्याउँदा पनि खस आर्यका श्रीमतीहरु ल्याएका छन् । कम्युनिस्टहरुमा त्यस्तो बढी छ । पार्टीभित्रै काम गर्ने, त्यहीँभित्रै बिहे गर्ने उनीहरुको परम्परा छ । कांग्रेसमा त्यस्तो छैन ।

नेपाली कांग्रेसभित्र महिला–नेता कार्यकर्ताको अवस्था कस्तो छ ? उनीहरुलाई चरित्रसित वा कुनै पुरुषसँग जोडेर अपमानित गर्नेखालका घटना व्यहोर्नुपरेको छ कि छैन ?

स्वतन्त्रता भन्दाखेरि अनुशासनविनाको स्वतन्त्रता भन्ने बुझ्नुभएन । हामीले पार्टीको विधानमै के कुरा राखेका छौं भने महिला हिंसा, लैंगिक हिंसा, धरेलु हिंसा र सामाजिक विभेदका कुराहरुलाई पार्टीको सदस्यता दिँदाखेरि नै एउटा प्रतिवद्धतापत्रजस्तो मानेर यी कुराहरु गर्ने छैन भन्ने गराउने । हाम्रो पार्टीको नीति नै के छ भने महिला हिंसा गर्नेलाई पार्टीको सदस्यताबाट निस्कासन गरिने छ । यो कुरा केन्द्रीय कार्यसमितिले नै निर्णय गरिसकेको छ ।

तर, सांस्कृतिक कुरा गर्दा, कांग्रेसका महामानव वीपी कोइरालाले आफ्नो संस्मरणमा ‘परस्त्रीगमन छाड्न सकिनँ’ भनेर लेखेको पढ्न पाइन्छ । उनी त यौन स्वच्छन्दतावादी नै मानिन्थे हैन र ?

त्यो त वीपीको व्यक्तिगत कुरा भो । व्यक्तिगत चरित्र र आचरणको कुरासँग हामीले सिंगै पार्टीलाई जोड्न त मिलेन नि ।

तर, नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले वीपीलाई आफ्नो आदर्श मान्ने गरेका छन् नि हैन र ?

साहित्यसँग जोडेर हेर्ने हो भने त उहाँको अर्कै पाटो छ । हामीले हेर्ने भनेको राजनीतिसँग जोडिएका कुराहरु हुन् । साहित्य भनेको अर्कै संसारमा डुबेर कुरा गर्ने हो, त्यसलाई राजनीतिमा जोड्न मिलेन । साहित्य भनेपछि काल्पनिक पनि हुने भो । साहित्यलाई जोडेर यता ल्याउन मिलेन, राजनीतिको कुरालाई पार्टीले आत्मसात गर्नुपर्छ ।

पार्टीभित्रै महिलाहरु विभेदमा परेका कुरा बेलाबखत उठ्ने गरेका छन् । नेकपाका एक जना प्रदेश मन्त्री त ‘मीटू’ मै पनि फसिसके । कांग्रेसभित्र चाहिँ यस्तो खतरा छैन ?

सिंगो पार्टीविशेष भन्दा पनि मीटू भनेको त व्यक्तिकै कुरा हो । यसलाई पनि पार्टीसँग मुछेर हेर्नुहुँदैन । अरु पार्टीहरुमा भूमिगत अवस्थामा, द्वन्द्वकालीन अवस्थामा हिँड्दाखेरि यस्ता घटना बढी जोडिन्थे पनि होला । त्यसैले अरु पार्टीमा यस्तो बढी भयो भन्ने लाग्छ ।

हाम्रो पार्टीमा पनि २०१५ सालपछिको भूमिगत काललाई हेर्ने हो भने केही घटनाहरु होलान् । तर, भूमिगत राजनीतिबाट कांग्रेस बाहिर आइसकेपछि त्यस्ता घटनाहरु अलि कम छ भन्छु म । पार्टीभित्रै त्यस्तो छ भन्ने उजुरीमा आउँदैनन् । कसैकसैको व्यक्तिगत कुरा छ भने त त्यसलाई भन्न सकिन्न ।

नेपाली समाजमा एउटा अपसंस्कार नै भइसक्यो कि राजनीतिमा वा सामाजिक कार्यमा लागेका महिलालाई फलाना–फलानासँग जोडेर चर्चा गरिदिने । कांग्रेसकै नेताका पनि त्यस्ता किस्सा बजारमा धेरै सुन्ने गरिन्छ । महिला नेतृको नजरबाट हेर्दा यस्ता घटना कत्तिको दुःखदायी लाग्छन् ?

योचाहिँ कस्तो लाग्छ भने कतिको त सत्य पनि होला । तर, धेरैचाहिँ अफवाह फैलाउने गरिएको छ । कसैले कसैमाथि रीस साँध्नु छ भने महिलाहरुलाई चरित्रसँग जोडेर कुरा गरिदिने । यो जुनसुकै पार्टीमा छ । कसैलाई सिध्याउनुपर्‍यो भने अन्तिम अस्त्र के प्रयोग गर्ने त भन्दा पार्टीकै नेताहरुको पनि स्वार्थ मिलेन भने महिलासँग जोडिदिने । यस्तो हरेक ठाउँमा हुन्छ, तपाईहरुको मिडियामा पनि हुन्छ ।

सामाजिक संरचना र मानसिकताकै कारणले यस्तो हुने गरेको हो । एउटा क्षेत्रमा मात्रै होइन, यो हरेक क्षेत्रमा छ । यसलाई सबैले मिलेर बदल्नुपर्छ । सोचाइको दरिद्रताको उपजले गर्दा यस्तो हुने गरेको हो । यसले गर्दा महिलाहरु मारमा परेका पनि छन् । कसले कसलाई सिध्याउने खेलकै रुपमा यी कुराहरु आउने गरेका छन् ।

तर, यति हुँदाहुँदै पनि महिलाहरुले स्वतन्त्रताको उपभोगचाहिँ अरुमा भन्दा कांग्रेसमै लागेर बढी गरिरहेका छन् भन्ने तपाईको दाबी हो ?

अरु दलको भनेर तुलना गर्न म चाहन्नँ । हाम्रो पार्टीभित्र चाहिँ महिलालाई नराम्रो वातावरण छैन । हामीले पनि संगठन गरेर हिँडेको ३० वर्ष भयो । मभन्दा सिनियर दिदीहरु पनि हुनुहुन्छ । आजसम्म कसैले मलाई सिध्याउने खेल भयो भनेर अनुभूति सेयर गरेको मैले सुनेको छैन । बरु सामाजिक परम्परा र मूल्यमान्यताले अप्ठ्यारो पारेको कुरा चाहिँ सबै पार्टीका महिलाहरुले भन्ने गरेको सुनिन्छ ।

क्षमताको कुरा गर्ने हो भने अष्टलक्ष्मी शाक्य त सिनियर नेतृ हुन् नि, जुनसुकै पार्टीकी भए पनि । तर, उनलाई प्रदेशको प्रमुख बन्न पनि त रोकियो । यस्तै कारणले गर्दाखेरि महिलाहरुको योगदान र क्षमताको मूल्यांकन हुन सकेको छैन । मूल्यांकन गर्ने ठाउँमा महिलाहरु नभएका कारणले मूल्यांकनको पाटो ओझेलमा परेकै छ । पार्टीले नै ओझेलमा पार्छ भन्नु भन्दा पनि निर्णायक ठाउँमा हामी महिलाहरुको पहुँच नपुगेकै कारणले यस्तो भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment