Comments Add Comment

वीपी, केपी र पुस १

आज निश्कर्ष निकाल्न सकिन्छ – वीपीमा भिजन थियो । तर, काम गरेर देखाउने समय पाएनन् । केपी ओलीमा काम गरेर देखाउने पर्याप्त अवसर छ । तर, उनीमा भिजन भएन, देखिएन !

२०१७ साल पुस १ को घटनालाई नेपाली राजनीतिक इतिहासको आधुनिक कालखण्डमा एउटा कडीका रुपमा हेर्ने गरिन्छ । जब राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालासँगै दुइ तिहाइको संसद नै सैन्यबलका माध्यमद्वारा “कू” गरे, त्यहीँबाट शुरु भयो देशको अस्थिरतासंगै राष्ट्रियता कमजोर बनाउने खेल ।

भनिन्छ– वीपी सरकारले ल्याएको लोकप्रिय एवं जनहितका कार्यक्रमसँगै राजा महेन्द्रमा औडाहा प्रारम्भ भैसकेको थियो । जननिर्वाचित सरकार अपदस्त गरिने हल्ला स्वयंम राजा निकटद्वारा नै फैलाइएको थियो । तर, राजाबाट जननिर्वाचित सरकारमाथि त्यो स्केलको ‘कदम’ उठाइएला भन्नेमा वीपीलाई पत्यार भएन ।

राजाले कुनै पनि बेला जेल हाल्न सक्ने भन्दै देशै छाड्ने प्रस्ताव लिएर प्रधानमन्त्रीको सरकारी निवास पुगेका विपक्षी दलका नेता भरत समशेरलाई उल्टै राजनीतिमा त्यति धेरै कायर बन्न नहुने भन्दै राजनीति गर्नेले जुनै परिस्थितिको पनि सामना गर्न तयार रहनुपर्ने बताएर आश्वस्त पार्न खोजेका थिए वीपीले ।

प्रधान सेनापति नीरशमसेरको असहयोगसँगै असहमतिका वीच नीरसमशेरलाई अघोषितरुपमा दरबारमै नियन्त्रणमा राखेर बरियतामा दोश्रा रहेका सुरेन्द्रबहादुर शाहसमेतको समर्थन प्राप्त गर्न नसकेका राजा महेन्द्रले दरबारभित्रै कार्यरत जनरल समरबहादुर कुँवरको नेतृत्वमा वीपीसहितका नेतालाई अपदस्त गरेका थिए ।

राजा महेन्द्रले उक्त कदम चाल्ने नै भएपछि असहमतिका बाबजुद पनि जनरल कुँवरको आदेशमा डेपुटी कमाण्डर शाह स्वयं वीपीसहितका नेतालाई कब्जामा लिन लुरुलुरु बबरमहलस्थित तरुण दलको सभास्थल (तुंग शमसेर राणाको निवास) मा पुगे र वीपीसहितका नेतालाई नियन्त्रणमा लिए ।

वास्तवमा सार्वभौसत्ता जनतामा निहित हुनुपर्छ भन्ने वीपीको मान्यतासहित वीपीको लोकप्रियताकै कारण ०१७ साल पुस १ गते उक्त घटना हुन पुगेको थियो । ०१७ सालको उक्त घटना राजनीतिक कारणले भन्दा पनि वीपी–महेन्द्रवीचको ब्यक्तित्वको टकरावको उपज हो भन्नेहरु पनि छन । तर, अध्यन गरिनुपर्ने विषय भनेको राष्ट्रियता र राष्ट्रहितप्रति महेन्द्र पनि चिन्तित थिए भने वीपी र महेन्द्र किन मिल्न सकेनन ? वा यी दुई शक्तिलाई फुटाइराख्ने वलवान शक्ति कुन थियो ? त्यो आज पनि खोजका लागि सान्दर्भिक विषयवस्तु बन्न सक्छ ।

त्यो पुसको कालो दिन !

परम्परागत शक्ति राजा महेन्द्रले आधुनिक शक्तिका रुपमा उदाएका वीपी र कांग्रेसलाई समाप्त पार्दा नै आफ्नो अभिष्ट पूरा हुने सपना देख्नुलाई परम्परागत शक्तिले अस्वाभाविक ठानेन र उपयुक्त समयको पर्खाइमा बस्यो । तर, वीपी र वीपीको सरकारले देशभित्रबाट सैन्य र बाहिरवाट कुटनीतिक समर्थन किन प्राप्त गर्न सकेनन् भन्ने विषय नै मूल प्रश्न हो ।

नेपालमा प्राप्त प्रजातन्त्रको स्थायित्वको मूल भरोसाको शक्ति भनेको त्यसताका भारत नै हो । तर, सो कालखण्डमा भारत वीपीप्रति असन्तुष्ट हुनुमा इजरायललाई मान्यता दिइनुलाई नै मूल विषय मानिँदै आएको छ । इजरायललाई मान्यता दिने निर्णय राजनीतिक निर्णय भएता पनि त्यो निर्णयको पहिलो हस्ताक्षरकर्ता वीपी अर्थात नेपाल नै हो । तसर्थ पनि नेहरु त्यो निर्णयबाट असन्तुष्ट भएको बुझ्न कठिन छैन ।

सोही समयमा युगोस्लाभ राष्ट्रपति जोसेभ टिटोले वीपीको प्रशंसा गर्दै ‘एसियाली क्षितिजमा उदाउँदो हिरो’ बताएपछि नेहरुमा वीपीप्रति नराम्रो छाप पर्न पुग्यो । इजरायल प्रकरणपछि चतुर खेलाडी भनेर चिनिने राजा महेन्द्रलाई वीपी र उनको सरकार अपदस्थ गर्नका निम्ति वातावरण सिर्जना भइहाल्यो ।

राजा महेन्द्रद्वारा प्रजातन्त्रमाथि नै प्रतिवन्ध लगाएपछि सुरक्षित सेल्टर खोज्दै भारत पुगेका र पुनः नेपाल फर्किएर प्रजातन्त्रका निम्ति लामो सशस्त्र एवं निशस्त्र आन्दोलन गर्न पुगेका कांग्रेस र वामपन्थीका लागि प्रजातान्त्र फिर्ता ल्याउनै ३० वर्ष लाग्यो । त्योवीचमा महेन्द्रले शासन टिकाउन के मात्र गरेनन् ?

राजाले भारत भ्रमणमा गएका समय विश्व सम्वन्ध परिषदमा बोल्दै नेपाल–भारत सम्बन्धको स्थायित्वमा जोड दिए । आफ्नो शासनप्रति भारत अनुदार रहन सक्ने निचोडका साथ राजा महेन्द्रले उत्तरी छिमेकी मुलुक चीनको आड लिन पुगे ।

उता, भारतप्रति कटाक्ष गर्दै नेपालीको हित प्रतिकुल विध्वंसात्मक कार्य गरिरहेकाहरुलाई भारतले आफ्नो भूमि उपयोग गर्न दिएर नेपाल–भारतवीचको आपसी सम्बन्धमा नेपाली जनतामा समेत नकारात्मक टिप्पणी शुरु भएको भन्दै घुमाउरो भाषामा असन्तुष्टि पोखे ।

त्यतिले मात्र नपुगेर सञ्चार माध्यममा मुखै खोलेर महेन्द्रले भने कि नेहरुलाई नेपालको वर्तमान राजनीतिक अवस्थाबारे पूरै जानकारी छ । खुल्ला सीमानाको फाइदा अराष्ट्रिय तत्वले लिन सक्ने भएकाले भारतले नियन्त्रण नगरे नेपालभित्र भारतविरोधी प्रतिकृया उत्पन्न हुँदा रोक्न गाह्रो पर्नेछ । यो घुमाउरो धम्की नै थियो महेन्द्रको ।

दृश्यमा महेन्द्र र अदृश्यमा नेहरु वीपीप्रति खुस थिएनन् भन्नेहरु पनि छन् । नेपालभित्र वीपी सरकारले ल्याएको बिर्ता उन्मूलन, राज्य रजौटा उन्मूलन, सहकारी संस्थाको गठन, ग्राम विकास योजना, जिल्ला विकास बोर्ड स्थापना, यातायात प्रणालीको विकास र विस्तार, सिंचाई, कृषि, सञ्चयकोष र सञ्चारसंगै विश्वविद्यालयको स्थापनाजस्ता क्रान्तिकारी एवं लोककल्याणकारी कार्यले राजा महेन्द्रमा इष्र्या पैदा हुनु स्वाभाविक नै थियो ।

उता अन्तराष्ट्रिय स्तरमा जोसेभ टिटो जस्ता ब्यक्तिले एसियाकै हिरो भन्न थालेबाट वीपीको उचाई अन्तराष्ट्रिय स्तरमा पुग्न लागेको बुझ्न कठिन छैन । यी दुई विषयले महेन्द्र र नेहरु दुबैलाई झस्कायो । अन्ततः समयको ताक कुरेर बसेका महेन्द्रले नेहरु समेत वीपीसँग झस्किएको अवस्थाको भरपुर फाइदास्वरुप पुस १ को कालो दिन निम्तियो ।

यो पुस १

वीपी कोइरालामा भिजन थियो । तर, नेपाल र नेपालीका लागि केही गरेर देखाउने समय उनले पाएनन् । आज नेपालमा राष्ट्रियताको झण्डा उठाएर नेपाली जनतालाई दर्जनौं हवाइ सपना बाँडेर नेकपाले दुई तिहाइ हासिल गरेको छ । र, यही दुई तिहाई मतको जगमा निर्मित सरकारका प्रधानमन्त्री छन् केपी शर्मा ओली ।

सरकार सञ्चालनका ९ महिनामा प्रधानमन्त्री ओलीले बोल्दै आएको बोलीको वजनका कारण दुई तिहाइको सरकारको ग्राफ दैनिक तीब्र गतिमा ओह्रालो लाग्दैछ ।

पुस १७ भित्र आफ्नै पानीजहाज चल्ने भनिएको थियो । गृहिणीले ग्यासको सिलिण्डर लिएर पसल–पसल दौडने दिन गए भनियो । भातै खान त सुतेरै बस्नुस सरकारले खुवाउँछ, धनी हुने भए मात्र काम गरे हुन्छ, रेलको यात्रा अब टाढा छैन, बस सञ्चालक तत्कालै कम्पनीमा नगए यातायात समितिहरु खारेज गरिन्छ, सिण्डिकेटका दिन अब सकिए भनियो । म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई गर्न पनि दिन्न भन्नेदेखि मैले बोलें भने बुद्धिजीवीको ढाड खुस्किन्छ जस्ता अभिव्यक्तिले नेकपाको दुई तिहाईको सरकारको शीर उच्च भएको मान्न स्वयं सत्तारुढ दलका नेतासमेत तयार छैनन् ।

सरकारका काम कारवाही हेर्दा राष्ट्र पूर्णतः असफल उन्मूख देखिन्छ । हत्या, हिंसा, आतंक, बलात्कार, महंगी, भ्रष्टाचारजस्ता विषयको कुरा छाडांै, जासुसी भनेर विभिन्न मुलुकले प्रतिवन्ध लगाएको एनजीओको कार्यक्रममा सरकारको संलग्नता हुने, सँगै उक्त कार्यक्रममा सहयोग पुर्‍याएवापत बक्सिसस्वरुप दक्षिण बाहुको शैलीमा प्रमाणपत्र र पैसा प्रधनमन्त्रीले ग्रहण गर्ने कुरालाई सामान्य मान्न सकिन्न, यो राष्ट्रकै बेइज्जत हो ।

यसैबाट निकर्ष निकाल्न सकिन्छ – वीपीमा भिजन थियो । तर, काम गरेर देखाउने समय पाएनन् । केपी ओलीमा काम गरेर देखाउने पर्याप्त अवसर छ तर, उनीमा भिजन भएन, देखिएन ! दुनियाँमा जहाँपनि सत्ता अन्धो नै हुन्छ भन्ने उखान आज नेपालमा पनि चरितार्थ भएको छ । पोलपोलमा तस्वीर झुण्ड्याउने लालचाले हिजो निर्वाचनताका जनताका वीचमा गरेको वाचा नै भुले केपीले ।

वीपीको पार्टीको वर्तमान हविगत

ऐतिहासिक विरासत प्राप्त तथा वीपी कोइरालाद्वारा स्थापित पार्टीमा आज वीपीको विचारभन्दा पनि ‘बीबी’ को हालीमुहाली प्रधान बन्न पुग्यो । सरकारले दर्जनौं जनविरोधी काम गर्दासमेत कांग्रेस विरोधका नाममा मधुर स्वरमा फेसबुक लाइभ गर्दैछ ।

०१७ सालमा वीपी कोइरालाको सरकार अपदस्त नगरिएको भए सोही समय एउटै अवस्थामा रहेको दक्षिण कोरिया बरावर नेपाल पनि हुने थियो । आज पनि जनतालाई हवाइ सपना नबाँडी समृद्ध नेपाल निर्माणको मार्गचित्र सरकारसँग छ भने त्यो मार्गचित्रलाई कार्यान्वयन गर्न कसैले रोकेको छैन । नेपालको आजका मितिको जस्तो प्रतिपक्ष दुनियाँका कुनै पनि सरकारले पाउन दुर्लभ छ ।

तर, सरकार आफैं यतिबेला दुनियाँमै बदनाम जासुसी संस्था भनेर चिनिएको संस्थाको नेतृत्व गर्ने म्याडम मुनले दिएको ब्लेसिङमै रमाउन पुगेको छ । क्रान्तिकारी बामपन्थी भनिएको सरकारको यो भन्दा पतनको वाटो अरु केही हुनै सक्दैन ।विधान निर्माणका सन्दर्भमा पार्टीको केही समयअघि जारी केन्द्रीय समिति बैठक हेर्दा लाग्थ्यो, कांग्रेसले विधान निर्माण होइन, अन्तरीक्षमा यान नै पठाउँदैछ ! तर, परिणाम शून्य ! यसैले देखाउँछ काग्रेसको अर्कमन्यता ।

तर, यतिबेला महासमिती बैठकको माहौलमा झुम्मिएको कांग्रेसीहरुले सरकारलाई सच्चिन दबावमूलक निर्णय लिन्छन् वा आफ्नै पार्टी पनि सच्याउन सक्दैनन् ? त्यो भने हेर्नैपर्ने हुन्छ । कांग्रेसको राजनीतिक प्रतिवेदनमा विगतको उपलब्धीको मात्र चर्चा गरिएसँगै भोलिको नेपालको मार्गचित्र प्रस्तुत नभएको हेर्दा लाग्छ– कांग्रेस निर्वाचन हारको रनभुल्लमै हराउन पुगेको छ ।

फेरि अर्को वीपी चाहियो !

०२८ सालमा देहावसानअघि उनै राजा महेन्द्रले भनेका थिए, ‘मैले धेरै प्रधानमन्त्री र मन्त्री बनाएँ । तर, वीपीजस्तो हाइट भएको र दुनियाँलाई देखाउन लायक कोही भएनन् ।’

आज ०७५ सालको पुस १ गतेका मितिमा ०१७ साल पुस १ को सम्झना गर्दै गर्दा एउटा कुरा भन्नैपर्ने हुन्छ – नेपालको समृद्धि र नेपालीको उन्नतिका लागि नेपाललाई पुनः अर्को एउटा वीपी चाहिएको छ । कांग्रेसका आजका मितिका नेता हेर्दा कुचोको मुख काटेझै बराबरी देखिए । तर, यिनै नेतामध्येबाट त्यो पुस १ र यो पुस १ को समयको विभेद छुट्टयाउँदै संघीय गणतन्त्रात्मक नेपालको संविधानको कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माणको नेतृत्व गर्ने अभूतपूर्व अवसर आजको कांग्रेसभित्रको संकटले जुराइदिएको छ । सँगै, कांग्रेसभित्रको आजका मितिको संकटले नै कुशल नेतृत्वसमेत खोजिरहेको छ ।

( आचार्य नेपाली कांग्रेससँग आवद्ध छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment