Comments Add Comment

भारतीय मिडियाको दावीः जोन्सन एन्ड जोन्सन बेबी पाउडर हानीकारक

जोन्सन एन्ड जोन्सनका बालबालिका लक्षित उत्पादनहरू नेपालमा पनि निकै लोकप्रिय छन् । जसमध्ये एक हो, बेबी पाउडर । तर, हालैको एउटा भारतीय अनलाइनले भने यो बेबी पाउडरमाथि प्रश्न चिन्ह उठाएको छ ।

जोन्सन एन्ड जोन्सनको बेबी पाउडर क्यान्सरको कारक बन्न सक्ने उक्त अनलाइनको समाचारमा जनाइएको छ । अनलाइनले लेखेको छ, ‘बेबीकेयरका लागि अमेरिकी फर्मा कम्पनी जोन्सन एन्ड जोन्सनले लामो समयदेखि यस्तो रसायन प्रयोग गरिरहेको छ, जसले क्यान्सर फैलाउन सक्छ ।’

खुफिया दस्तावेज र सूत्रको हवाला दिँदै अनलाइनले दावी गरेको छ कि पाउडरको टेस्टिङमा ‘एसबेस्टस’ नामक रसायन मिलाउने गरिन्छ ।

‘यो कुरा कम्पनीका उच्च अधिकारीदेखि वैज्ञानिक, चिकित्सक र वकिललाई समेत थाहा छ । तर, उनीहरुले यसलाई गोप्य राखिरहेका छन्,’ समाचारमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्य संस्थाका अनुसार एसबेस्टसको सुक्ष्म तत्व मात्र प्रयोग गर्दा पनि त्यो शरीरका लागि विषालु बन्छ । त्यही विषालु तत्वले बर्षौंपछि शरीरमा क्यान्सरको रुप लिन्छ ।

जोन्सन एन्ड जोनसन बेबी पाउडरमा हानिकारक केमिकल समावेश हुने गरेको आरोप विगतमा पनि लाग्ने गरेको थियो । हालै जुलाईमा अमेरिकाको सेन्ट लुइस अदालतले कम्पनीको पाउडरमा क्यान्सर फैलाउने केमिकल ‘एसबेस्टस’ पाइएपछि ४ दशमलव ७ अर्ब डलर जरिवाना लगाएको थियो । यो रकम ती २२ महिला र उनीहरुको परिवारलाई दिइयो, जसले पाउडरको कारण क्यान्सर हुने दावी गरेका थिए ।

कम्पनीको खण्डन
बेबी केयर प्रोडक्टका लागि प्रख्यात जान्नसन एन्ड जोन्सनले भने उक्त आरोपको खण्डन गरेको छ । आफ्ना सबै उत्पादन परीक्षण गर्दा त्यसमा हानिकारक पदार्थ नरहेको पाइएको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment