Comments Add Comment

शहरका ११ गरीब परिवारले पाए किराना पसल

१ पुस, काठमाडाैं । रामेछापकी गीता खड्का बस्याल काठमाडाैंको शान्तिगनरस्थित सुकुम्वासी बस्तीमा बसेको लामो समय भयो । मिर्गाैला रोगी बस्याललाई परिवारको गर्जाे टार्न धौधौ थियो । आफ्नो उपचारमा मासिक ८/१० हजार लाग्ने खर्चको जोहो गर्न पनि उनलाई सकस थियो । दुखजिलो गरेर जीवन गुजार्दै आउनुभएकी उनी आइतबार एउटा किराना पसलको चाबी प्राप्त गर्दा औधी खुशी भइन् ।

शहरी गरीबहरू खोज्ने क्रममा ग्रामीण विकास केन्द्र नेपालले आयआर्जनका लागि व्यावसायिक विकास परियोजनाअन्तर्गत उनका लागि किराना पसल नै सहयोग गरेको थियो । चाबी लिँदै उनले सहयोग पाएकोमा खुशी व्यक्त गरिन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसामु बस्यालले भनिन् , ‘आफ्नो मासिक औषधि खाने र घरव्यवहार चलाउन किराना पसलले मलाई ठूलो सहयोग गर्नेछ ।’

उनीसँगै चाबी पाउनेमा विशाल मियाँ पनि छन् । गरीबलाई किराना पसल सहयोग गरेकामा अब भने बालबालिका पढाउनका लागि दुःख नहुने मियाँले प्रतिक्रिया दिए । उनीहरूसहित काठमाडाैंका विभिन्न ११ गरीब परिवारले आइतबार किराना पसल नै प्राप्त गरेका छन् । सडकका विभिन्न क्षेत्रबाट खोजेर ११ परिवारलाई किराना पसल सहयोग गरिएको हो ।

ती परिवारलाई कतार च्यारिटीको आर्थिक सहयोगमा आयआर्जनका लागि व्यावसायिक विकास परियोजनामार्फत ग्रामीण विकास केन्द्रले किराना पसल सहयोग गरेको हो । पसलको केही महीनाको भाडासमेत संस्थाले नै उपलब्ध गराउने जनाइएको छ । समग्रमा २१ लाखको परियोजनामा ११ पसल सहयोग गरिएको संस्थाले जनाएको छ ।

कतार च्यारिटीका परियोजना व्यवस्थापक इसाद अली शेखले गरीब परिवार छनोट गरेर किराना पसल सहयोग गरिएको जानकारी दिए । उनका अनुसार संस्थाले यसअघि सर्लाही र रौतहटमा २६४ परिवारलाई बाख्रापालनमा सहयोग गरेको छ ।

यस्तै रुपन्देही र कपिलवस्तुमा मौरी र कुखुरापालनमा सहयोग गरेको तथा विभिन्न जिल्लाका ९५ गरीब परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको जनाइएको छ । पसलको चाबी हस्तान्तरणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपालले समस्यामा परेका गरीब तथा असहायका लागि किराना पसल सहयोग गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्नुहुँदै यही नै वास्तविक धर्म भएको उनको भनाइ छ ।

‘इज्जत भनेको मेहेनत र पौरखको भरोसा हो, पसल प्राप्त गरेर मेहेनत गर्न कस्सिनुभएका उहाँहरूको भावनाले त्यही बोलिरहेको छ’, नेता नेपालले भने। सरकारले समृद्धिको यात्रा तय गरेको उल्लेख गर्दै उनले देशमा अझै शिक्षाको चेतना कम भएकाले सरकारले भर्ना अभियानलाई तीव्रता दिएको बताए ।

कार्यक्रममा सांसद अतहर कमाल मुसलमानले आइतबार दिइएको सहयोगले ११ परिवारको आयआर्जनमा महत्वपूर्ण सहयोग हुने विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment