Comments Add Comment

थाइल्यान्डमा नेपालले स्वर्ण जित्दा बज्यो श्रीमान गम्भीर (भिडियो)

१ पुस, काठमाडौं । थाइल्यान्डमा आयोजित वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालले इतिहास रच्यो । तर, स्वर्ण पदकको खुशीसँगै आयोजकको कमजोरीले नेपाललाई दाँतमा ढुंगा लागेझैं भएको छ । स्वर्ण विजेता महेश्वर महर्जनको सम्मानमा राष्ट्रिय धुन बजाउँदा गम्भीर गल्ती भयो ।

नेपालले स्वर्ण जितेपछि पृष्ठभूमिमा रहेको ठूलो स्क्रिनमा नेपालको राष्ट्रिय झण्डा देखाइयो । अनि, उद्घोषकले नेपालको नेसनल एन्थम (राष्ट्रिय धुन) बज्ने घोषणा गरे । राष्ट्रिय धुन त बज्यो तर, अहिलेको नभएर पुरानो । राजतन्त्रकालिन ‘श्रीमान गम्भीर नेपाल’ को धुन बजाइयो ।

आयोजकको हेलचेक्र्याईले यस्तो गल्ती हुन पुगेको नेपाल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका उपाध्यक्ष दिनेश राजभण्डारी बताउँछन् ।

‘म पनि अनलाइनमा बसेर लाइभ हेरिरहेको थिएँ, पुरानो राष्ट्रिय धुन बजेपछि स्तब्ध भएँ,’ उनले अनलाइनखबरसँग भने । गलत राष्ट्रिय धुन बजेको विषयमा आफूले तत्काल म्यासेज पठाएर रोक्न भने पनि रेस्पोन्स नभएको राजभण्डारीले बताए ।

प्रतियोगितामा नेपालबाट टिम म्यानेजरका रुपमा श्याम श्रेष्ठ सहभागी थिए । तर, राष्ट्रिय गानको विषयमा आयोजकले उनीसँग कुनै जानकारी लिएको थिएन । न त उनले नै चासो राखेका थिए ।
राजभण्डारी भन्छन्, ‘आयोजकलाई सायद नेपालले जित्छ भन्न थिएन होला, त्यसैले नेपालको धुनको तयारी नै गरेका रहेनछन् । पछि हतारमा आफैंले इन्टरनेटमा खोजेर पुरानो धुन डाउनलोड गरेछन्, हाम्रा प्रतिनिधिसँग कुनै परामर्श गरिएनछ ।’

आफूले टिम म्यानेजरसँग यस विषयमा आयोजकसँग बुझ्न लगाएको र उनको जवाफ आएपछि थप कदम चाल्ने राजभण्डारीको भनाई छ ।

‘आयोजकले यस विषयमा क्षमायाचना गर्नुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।

पुरानो राष्ट्रिय धुन बजे पनि मानन्धर भावविव्हल बनेका थिए । धुन सकिएपछि उनले शरीरमा ओढेको राष्ट्रिय झण्डाले आँशु पुछेका थिए ।

यसअघि भुटानमा ५० औं एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनै महर्जनले स्वर्ण जित्दा नेपालको नयाँ राष्ट्रिय धुन नै बजेको थियो ।

परिषदलाई थाहा छैन

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले गलत राष्ट्रिय धुन बजेको विषयमा आफूलाई जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

अनलाइनखबरसँग उनले भने, ‘मलाई कसैले जानकारी गराएको छैन, अब बुझ्छु ।’

उनले राष्ट्रिय धुन बजाउने विषयमा आफूहरुको कुनै दायित्व नरहने पनि बताए ।

‘यो उतैको आयोजकको जिम्मेवारी हो, हामीले यहाँबाट एन्थम/सेन्थम दिएर पठाउने कुरा आउँदैन, परिषदका प्रतिनिधि पनि कोही गएका छैनन्,’ तिम्सिनाले भने । यद्यपि, एसोसिएसनले परिषदसँगको समन्वयमा नै प्रतियोगितामा भाग लिएको उनको भनाई छ ।

तिम्सिनाले उक्त कार्यक्रमको भिडियो हेरेर आयोजकलाई क्षमायाचना गराउन परिषदको तर्फबाट पत्र पठाउने बचन दिएका छन् ।

यस कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment