Comments Add Comment

आजका पत्रपत्रिकाः प्रतिस्पर्धाबिनै भीर्आइपीका लागि डेढ अर्बको हेलिकप्टर खरिद

२ पुस, काठमाडौं । राजधानी काठमाडौंबाट  प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले आज पनि जारी कांग्रेसको महासमिति र नेकपाको स्थायी समिति बैठकलाई प्राथमिकतामा राखेका छन् । कांग्रेसमा उठेको धर्म बहस र वामदेवको फरक मतले नेकपामा उत्पन्न तरंगबारे  पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा लेखेका छन् ।

त्यसैगरी, बेथिति र अनियमितताका विषयलाई पनि आजका पत्रिकाहरुले उठाएका छन् । पर्यटक बिरामी बनाउँदै पर्यटन व्यवसायीले गर्दै आएको कीर्ते धन्दा र प्रतिस्पर्धाबिनै भीआईपीका लागि डेढ अर्बको हेलिकोप्टर खरिद  गरिएकोबारे पत्रिकाहरुले चासो राखेका छन् ।

कान्तिपुरले ‘गौतमको प्रस्तावले ओली रुष्ट’ शीर्षक दिएर नेकपा स्थायी समिति बैठकबारे समाचार छ । त्यस्तै प्रतिस्पर्धाबिनै भीआईपीका निम्ति सरकारले डेढ अर्बको हेलिकोप्टर खरिद गरेको अर्को समाचार पनि कान्तिपुरमा छ । नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९ हेलिकप्टर बिना प्रतिस्पर्धा खरिद गरिएको समाचारमा उल्लेख छ ।

नागरिकले प्रधानमन्त्रीका अवैतनिक सूचना प्रविधि (आईटी) सल्लाहकार अस्गर अलीलाईस्मार्ट कार्ड र आईटीसम्बन्धी महत्त्वपूर्ण प्रोजेक्टहरु बिनाप्रतिस्पर्धा मन्त्रिपरिषदबाट निर्णय गराएर दिने गरिएको लेखेको छ ।

नागरिक लेख्छ–विभिन्न सरकारी निकायको सूचना प्रणाली आधुनिकीकरण र सुधार गर्ने भन्दै अघि सारिएका प्रोजेक्टहरु अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा मन्त्रिपरिषद्बाट निर्णय गरेर सुम्पिएको छ । र, केही प्रोजेक्टहरु सुम्पने तयारी छ ।
आउट सोर्सिङमार्फत् स्मार्ट लाइसेन्स प्रिन्ट गर्न अलीकै स्वार्थ र प्रभावमा मन्त्रिपरिषदबाट निर्णय गराएर बिनाप्रतिस्पर्धा मालिका इन्कर्पोरेट प्रालिलाई दिइएको नागरिकको दाबी छ ।

ठूला आयोजनाले काममा ढिलाइ गर्दा लागत बढेकोलाई पनि नागरिकले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेको छ । नागरिकका अनुसार, हुलाकी सडक, मध्यपहाडी राजमार्ग, सिक्टा सिँचाइलगायतका आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढ्नुका साथै विकासको आस गरेर बसेका जनतामा निराशा छाएको छ ।

नयाँ पत्रिकाले पर्यटक बिरामी पारेर हुने गरेको ठगी धन्दाको खोजीनीति गरेको छ । नेपालका पर्यटन व्यवसायीको यस्तै धन्दाका कारण अन्तर्राष्ट्रिय मिडियामा नेपालको असीमिति बदनाम भएको निष्कर्ष नयाँ पत्रिकाले लेखेको छ ।

नेपाल वायु सेवा निगमले खरिद गरेको दुई वाइडबडी खरिदबारे निरन्तर चासो राख्दै आएको अन्नपूर्णले आज पनि ‘नक्कली लालपुर्जाको सक्कली कथा’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ ।

नेपाल संस्कृत विश्वविद्यालय स्वामित्वको विभिन्न ठाउँका १ हजार ३ सय ३६ बिघा जग्गा अरुले नै कब्जा गरेको समाचार पनि अन्नपूर्णमा छ । समाचार अनुसार ०५८ सालदेखि नै विश्वविद्यालयले ती जग्गा उपभोग गर्न सकेको छैन । विश्वविद्यालयले जग्गाको मालपोत तिरिरहे पनि भोगचलन भने अरुले नै गरिरहेका छन् ।

विश्वविद्यालयको दाङको देउखुरी क्षेत्रका गोवहडिया, राजपुर, सतबरिया, बेला, गंगापरस्पुरलगायतका ठाउँका १ हजार ३ सय ३६ बिघा जग्गा छ ।

राजधानीले राजनीतिसँगै आर्थिक, सामाजिक विषयलाई प्रमुख पृष्ठमा छापेको छ । कांग्रेस महासमिति बैठकबारे मुख्य समाचार बनाएको राजधानीले यस वर्ष दशककै सबैभन्दा बढी धान फलेको लेखेको छ । समाचार अनुसार गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले उत्पादन बढेको छ ।

त्यसैगरी, औषधिमै वार्षिक २७ अर्ब बाहिरिने गरेको हिसाब पनि राजधानीले प्रस्तुत गरेको छ ।

गोरखापत्रले सरकार र पार्टी सही बाटोमा हिँडेको भनेर प्रधानमन्त्रीले गरेको दाबीलाई मुख्य समाचार बनाएको छ । महिला प्रतिनिधित्व ५० प्रतिशत बनाउन कांग्रेस नेत्रीहरुले दबाब दिएको खबर पनि गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment