Comments Add Comment

केशवकुमार बुढाथोकीः कांग्रेसमा युवा नेता प्रभावकारी भएनन्

२ पुस, काठमाडौं । पहिलो संविधानसभा निर्वाचनमा झापाका ७ मध्ये  ५ वटा क्षेत्र तत्कालीन नेकपा (माओवादी)ले जित्यो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पराजय व्यवहोरेको त्यो निर्वाचनमा झापा– ५ बाट भने नेपाली कांग्रेसका केशवकुमार बुढाथोकी निर्वाचित भए । उनी ०७० मा पनि सभासद निर्वाचित भएर सामान्य प्रशासन मन्त्री बने ।

इलाममा जन्मेका कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको राजनीतिक ‘करिअर’ निकै रोचक छ । ०२८ सालमा अस्कल क्याम्पसको विद्यार्थी छँदा वीपी कोइरालालाई भेटेको निहुँमा पक्राउ परेर उनले नौ महिना सदर जेलमा बिताए थिए । त्यसबेला उनी पार्टीमा लागेकै थिएनन् । त्यसपछिका दिनमा उनी राष्ट्रिय पञ्चायत सदस्य र सहायक मन्त्री बने ।

अहिले नेपाली काग्रेसमा सभापति शेरबहादुर देउवानिकट मानिने बुढोथोकी पार्टीमा नेतृत्व संकट रहेको बताउँछन् । अहिलेको नेतृत्व आलोचित भएकोमा भन्दा उनको चिन्ता वैकल्पिक नेतृत्व नआएकोमा छ । नयाँ पुस्ताका नेताहरू ‘इम्प्रेसिभ’ हुन नसकेको उनको ठहर छ ।

महासमिति बैठकको पूर्वसन्ध्यामा हात्तीगौंडास्थित निवासमा उनले वर्तमान कांग्रेस नेतृत्वबारे खुलेर कुरा गरे । आफ्नो राजनीतिक जीवनको आरोह–अवरोह र कांग्रेस पार्टीबारे बुढाथोकीसंग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

‘ग्रास रुट’ले आफूलाई बिझेका कुरा बलियोसँग उठाउन, नेतृत्वले गरेको गल्ती स्वीकार्नुपर्छ र यो महासमिति बैठकले पार्टी एकढिक्का छ भन्ने सन्देश दिनसक्नुपर्दछ । बाहिर जति ‘प्रपोगण्डा’ भएपनि महासमिति सदस्यहरूले पार्टी एक छ भन्ने सन्देश लिएर फर्कन सके पुग्छ ।

महासमिति बैठक सबै कुरा व्यक्त गरेर मन माझामाझ गर्ने ठाउँ हो । पार्टी पराजित भएकोमा कार्यकर्तामा चिन्तन भएको छ । मिडियामा हामी कमजोर छौं । कांग्रेसभित्र ठूलो कलह छ भनेर मिडियाले लेखिरहेको छ । कृष्णप्रसाद भट्टराईको पालादेखि कांग्रेसले मिडियालाई आफ्नो पक्षमा बनाएको देखेको छैन । शक्तिमा हुँदा पनि मिडियालाई आफ्नो पक्षमा पार्न सकेनौं ।
यो पनि पढ्नुहोस वीपी, केपी र पुस १ ! फेरि अर्को वीपी चाहियो !

अनुशासनमा पनि कमजोर भयौं । जुन नेताले जहाँ गएर, जे बोले पनि हुन्छ । गुट त कांग्रेसमा जन्मकालदेखि कै हो । वीपीकै पालामा सुवर्ण गुट, खै के गुट भन्ने थियो । गणेशमानजीको पालामा तीन गुट थियो । गुट अस्वाभाविक होइन पनि । पार्टीमा लागेका मान्छे सैनिक त होइन नी, ठूलो मान्छे देख्यो कि स्यालुट ठोकी हाल्ने ।

सशांकले पार्टी हाँक्नुहुन्छ जस्तो लाग्दैन

युवा पुस्ताका नेताहरू अहिलेका बुढा नेताहरू जति पनि ‘इम्प्रेसिभ’ हुन सकेनन् । यो भन्दा फलाना राम्रो भन्नका लागि वैकल्पिक नेता हुनुपर्‍यो । युवा नेतामा विकल्प नदेख्दा अबको कांग्रेस कसले हाँक्ला भन्ने चिन्ता लाग्छ ।

गिरिजाबाबुले किसुनजीमाथि जसरी धावा बोल्नुभयो त्यसले उहाँलाई पनि ठूलो नोक्सान भयो । उहाँले किसूनजीलाई काठमाडौंमा हराउन जुन भूमिका खेल्नुभयो, त्यहीबाट कांग्रेसमा अन्तरघात शुरु भयो ।

तपाईहरू युवा नेता, युवा नेता भन्नुहुन्छ । चन्द्र भण्डारी कृष्णप्रसाद भट्टराई हराउने समितिको संयोजक थिए । अहिले ठूलो कुरा गरेर हुन्छ ?

गिरिजाबाबुले अन्तरघातको विजारोपण गर्नुभएपछि रुखमाथि रुख उम्रियो । गिरिजाबाबु ‘डिक्टेटर’ हुनुहुन्थ्यो । उहाँ नबोलीकन, थाहै नदिई आफूसँग नमिल्ने कार्यकर्तालाई सिध्याउनु हुन्थ्यो । कसैलाई गाली नगर्ने । जति घण्टा बोल्नुस्, उहाँ चुरोट तान्दै मज्जाले सुनेर बस्नुहुन्थ्यो ।

गिरिजाबाबु विहान चार बजे निर्णय गर्नुहुन्थ्यो, अनि कसले थाहा पाउने ? विश्वासी तीन–चार जनाबाहेक कसैलाई नबोलाउने । चार बजे निर्णय गरे पाँच बजेको चिया सेशनमा अलिकति कुरा चुहाउने । छ बजे बाहिरी ‘सर्कल’ले थाहा पाउँथ्यो ।

२०५१ मा ६ जना मन्त्रीलाई निष्कासन गरेर चुनावमा जानु हुँदैनथ्यो । तर, गिरिजाबाबुले आँटेको काम गरेरै छोड्नुहुन्थ्यो । जसले जे भने पनि माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने त उहाँ नै हो ।

दरबार कांग्रेस र माओवादी मिलोस् भन्ने पक्षमा थिएन । राजा वीरेन्द्रसँग पनि माओवादीको सम्पर्क रहेछ, उनले सेना प्रयोग गर्न दिएनन् । माओवादीलाई शान्ति सम्झौतामा ल्याउनु गिरिजाबाबुको सबभन्दा ठूलो काम हो ।

गिरिजाबाबुको क्षेत्रमा अहिलेका पार्टी सभापति शेरबहादुर देउवाको हस्तक्षेप भएन । सुदूरपश्चिमको भएकाले होला पूर्वाञ्चलमा उहाँको प्रभाव देखिएन । पूर्वाञ्चलमा देउवाको पक्षमा लाग्नु भनेको एक हिसाबले आत्माघाती खेल हो । यस्तो खेल खेलेका साथीहरूलाई संरक्षण भएन भन्ने गुनासो आएको छ ।

देउवाजीमा पश्चिमको मोह बढी देखिएको हो की जस्तो लाग्छ । प्रन्या सुशीला कार्कीमाथि महाअभियोग र आईजीपी प्रकरण जयबहादुर चन्दकै लागि भए ।
यो पनि पढ्नुहोस कांग्रेसको आर्थिक बहसः दाइ महत ठीक कि भाइ ?

जे भए पनि शेरबहादुर देउवा जाली मान्छे चाहिँ होइनन् । सजिलै भेटघाट गर्न सकिन्छ । अरु नेता जस्तो यताको कुरा उता, उताको कुरा यता गर्नु्हुन्न । उहाँको बोली बुझिँदैन । भन्न खोजेको राम्रै कुरा पनि ‘डेलिभरी’ हुँदैन तर, यस कुरामा दोष दिन पनि मिल्दैन ।

सभापतिका अर्का आकांक्षी रामचन्द्र पौडेल प्रष्ट बोल्नुहुन्छ । अरु क्षमता पनि होला तर, सबै जिल्लामा उहाँका मान्छे छैनन् । राष्ट्रिय नेता हुन सबै जिल्लामा मान्छे पनि हुनुपर्ने रहेछ ।

शशांक कोइराला एकदमै भलाद्मी हुनुहुन्छ तर, उहाँले पार्टी हाँक्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

कांग्रेस नेताहरूको सचिवलाय नै छैन, पार्टी सभापतिकै छैन । एउटा पिएको भरले राजनीति गर्नुभएको छ । सचिवालय बनाएको भए ७५ जिल्ला हेर्न सकिन्थ्यो होला । किसुनजी र गिरिजाबाबुको पनि सचिवालय थिएन । सुशील कोइरालाको पनि एक जना पिए मात्र थिए ।

युवा पुस्ताका नेताहरू अहिलेका बुढा नेताहरू जति पनि ‘इम्प्रेसिभ’ हुन सकेनन् । यो भन्दा फलाना राम्रो भन्नका लागि वैकल्पिक नेता हुनुपर्‍यो । युवा नेतामा विकल्प नदेख्दा अबको कांग्रेस कसले हाँक्ला भन्ने चिन्ता लाग्छ ।

किसुनजी, गणेशमानजी, गिरिजाबाबुपछि अर्को छिमलका नेता जन्मनै सकेनन् । कुनै नेताले आफूपछि पार्टी हाँक्ने उत्तराधिकारी ‘ग्रूम’ गरेको पनि देखिएन । आगामी महाधिवेशनमा अहिलेका सभापति वा सभापतिका आकांक्षीहरु खडा हुँदैनन् भन्ने मानेर सोच्ने हो भने विकल्प को त ?

काग्रेस नेतृत्वको लागि ‘क्राइसिस’ देखिन्छ । महामन्त्रीसम्म मान्ला तर, कुनै युवा नेतालाई पार्टीले सभापति मान्ला जस्तो लाग्दैन । पार्टीमा ‘सिनियर’हरु धेरै छन् । उनीहरूले मिलेर साझा उम्मेदवार बनाउने हो भने चाहिँ भन्न सकिन्न ।

‘क्रेडिट’ बिनाको काम

नेकपा हात्ती हो । हात्ती भासमा परेपछि बाहिर निस्कन सक्दैन । मानी लिउँ यो सरकारले राम्रो काम गर्ला रे । यसबीचमा मध्य पहाडी लोकमार्ग, मेलम्ची खानेपानी, हुलाकी सडक बन्ला । तर यी परियोजनाहरु त कांग्रेसकै पालामा शुरु भएका हुन् नि । आयोजना पुरा गर भनेर कांग्रेस पनि दबाव दिनुपर्ने हो नि । जनतालाई यति कुरा बुझाउन सक्दा अर्को निर्वाचनमा नेकपासँग कांग्रेस डराउनुपर्छ जस्तो लाग्दैन ।
यो पनि पढ्नुहोस कांग्रेसकै वरिपरि सबै घुम्दैछन् : महेश आचार्य

कांग्रेसले राम्रो काम नगरेको होइन । हाम्रै नेतृत्वमा संविधान जारी भयो । सुशील कोइरालाभन्दा पहिला कम्युनिष्ट पार्टीका चार जना प्रधानमन्त्री बने पनि संविधान दिन सकेनन् ।

संविधान दिइसकेपछि पनि मधेसलाई सहभागी बनाउन संविधान संशोधनको काम पनि कांग्रेसले गर्‍यो । संविधान कार्यान्वयनको अगुवाई गर्ने क्रममा तीन तहको निर्वाचन गरायो । तर, काम गरे पनि ‘क्रेडिट’ लिन सकेन । तराईको राजनीति कांग्रेसका लागि प्रतिकूल रह्यो, भारतले नाकाबन्दी गर्दा बोल्न सकेन ।

कांग्रेस हराउने २९ जना

बखानसिं गुरुङको पालामा हाम्रो पार्टीमा अड्तीसे गुट थियो । गिरिजाबाबुको पालामा चौहत्तरे भयो, छत्तीसे पनि थियो । देउवाजीको पालामा उनन्तीसे भयो । ठट्टैठट्टामा मैले कांग्रेस उन्नतीसेको पार्टी भयो भन्ने गरेको छु । गत चुनावमा वडा तहसम्म उन्नतीस जनाको तजबीजमा टिकट बाँडियो ।

०७४ को निर्वाचनमा काग्रेस पराजित हुनुको एउटा कारण गलत टिकट वितरण पनि हो । काठमाडौंमा बसेर टिकट बाँडेपछि पाउनुपर्नेले पाएनन् । वडा, गाउँपालिका वा नगरपालिका नै विग्रिएपछि त्यसको असर प्रदेशसभा र संघीय संसदमा पनि पर्‍यो । जुनसुकै गुटको भएपनि टिकट वितरण गर्ने कुरामा २९ जनाको मुख मिल्यो । उनीहरूले अंशवन्डा गरेर आफू अनुकुलकालाई टिकट दिए ।

निर्वाचन क्षेत्र विभाजनमा पनि हामीले अध्ययनशील मान्छे पठाउन सकेनौं । नेकपाले अध्ययनशीलहरूलाई पठायो । उनीहरूले विगतको मतको पनि हिसाब गरेर क्षेत्र निर्धारण गरे ।

एमाले र माओवादीको अप्रत्याशित एकता त छँदै थियो, त्यसमाथि कांग्रेसमा गिरिजाबाबुको पालदेखि शुरु भएको अन्तरघात भन्ने रोग पनि बल्झियो । अनि चुनावमा ठुलो हार भयो ।

मैले एमाले र माओवादीको चुनावी एकतालाई किन अप्रत्यासित भनेको भने त्यसबेला प्रचण्ड दिनभर हामीसँग हुन्थे तर, राति गएर एमालेसँग सुत्दा रहेछन् ।

राजनीति छोड्दिनँ तर, चुनाव लड्दिनँ

म २००१ सालमा इलाममा जन्मेको हुँ । विद्यालय तह दार्जीलिङमा पुरा गरेर क्याम्पस पढ्न काठमाडौं आएँ । ०२१ साल पब्लिक (अहिलेको अस्कल) साइन्स क्याम्पसमा भर्ना भएको थिएँ, एक जना अध्यापकसँग विवाद र हातपात नै भयो । उहाँ अञ्चलाधीशका छोरा हुनुहुदोरहेछ । त्यसपछि मलाई ९ महिना सदर जेलमा जाके ।

दुर्भाग्य भनौं कि सौभाग्य, त्यो घट्नालाई राजनीतिक रंग दिने काम भयो । मेरो मामा केपी भट्टराई (इलाम) र दाजु फत्तेबहादुर बुढाथोकी (झापा) ०१५ सालका निर्वाचित सांसद हुनुहुन्थ्यो । उहाँहरू दुबै कांग्रेसका । अनि अस्कलको त्यो घट्नालाई राजनीतिसँग जोडेर व्याख्या गरियो ।

दुर्गानन्द झालाई फासी दिइसकेका थिए । मलाई उनी बसेकै सेलमा राखेका थिए । जेलमा ओमकार श्रेष्ठ, अरविन्द ठाकुर, प्रयागराजसिंह सुवाल, श्रीभद्र शर्मा, पेशल पोख्रेलहरुसँग संगत भयो । तर, त्यहाँबाट निस्किएपछि मात्र म राजनीतिमा लागेको हुँ ।

०२४ सालमा झापा गएर विद्यार्थी आन्दोलन गरेँ । प्रहरीले विद्यार्थी कुटेको विरोधमा हामीले आन्दोलन गर्‍यौं । त्यो बेला पनि सात–आठ दिन थुने ।

०२७ सालमा शैलजा आचार्य तरुण दलको कार्यवाहक सभापति हुनुहुन्थ्यो, म मेची अञ्चल संयोजक बनेँ । जेलबाट छुट्नु भएका वीपी कोइरालालाई भेट्न बनारस गएर फर्कदा पक्राउ गरेर फेरि नौ महिना चन्द्रगढी जेलमा हाले । हामीलाई व्यक्ति हत्याका थुनुवाहरूसँगै राखे । हामी छ–सात जना थियौं, उनीहरू २८–३० जना थिए ।

त्यतिबेला पार्टीले वर्गीय संगठनका मान्छेहरूलाई राष्ट्रिय पञ्चायतमा पठाउने नीति लिएको रहेछ । गिरिजाबाबुले मलाई युवक संगठनमा उठाउनुभयो । राष्ट्रिय पञ्चायतमा युवक, विद्यार्थी, महिला, स्नातक लगायत गरेर १६ सिट थियो । रामराजाप्रसाद सिंह, प्रकाशचन्द्र लोहनीले स्नातक कोटाबाट जितेका थिए ।

युवक संगठनबाट मुक्तिलाल चुके चुनाव जितेर राष्ट्रिय पञ्चायत सदस्य भए । मैले झापा जिल्ला सभापति जितेँ । पार्टीले ०३६ सालमा प्रधानपञ्चमा पनि उठायो र म शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च बनेँ । ०४३ सालमा राष्ट्रिय पञ्चायतमा पनि उठायो र मैले जिँते । त्यती बेला ‘डेमोक्र्याट’बाट म, द्रोणप्रसाद आचार्य (झापा), गम्भिरजंग कार्की (पाल्पा), लेखनाथ अधिकारी (लमजुङ), वीरेन्द्रकुमार पोखरेल (गोरखा) लगायत १०–१२ जनाले जित्यौं । वामपन्थीबाट पद्मरत्न तुलाधर लगायतले जितेका थिए ।
यो पनि पढ्नुहोस कांग्रेस सबैभन्दा अनुशासित पार्टी हो

राष्ट्रिय पञ्चायतमा आएपछि मलाई उच्चस्तरीय भूमिसुधार तथा वन सुदृढीकरण आयोगको संयोजक बनाए । त्यतिबेला मैले भरतपुर– १० मा मात्र १७० वटा लालपुर्जा बाडेँ । ०४४ सालमा जलस्रोत सहायकमन्त्री भएपछि ७५ वटै जिल्लामा सिंचाई कार्यायल खोलेँ । त्यसमा मलाई गर्व छ ।

बहुदल पक्षधरसँग राजा वीरेन्द्रले वार्ता गर्नुपर्छ भन्ने वक्तव्य दिएपछि ०४६ सालमा मलाई मन्त्रिपरिषदबाट हटाए । त्यसबीचमा म किसुनजी र गिरिजाबाबुसंग निरन्तर सम्पर्कमा थिएँ ।

त्यसताका सिके प्रसाई काग्रेसको झापा जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँसँग मेरो सम्बन्ध राम्रो थिएन । उहाँ मलाई कुनै पनि हालतमा पार्टीमा टिक्न दिन नचाहने । ०४८ सालको चुनावमा झापामा सिके प्रसाईजीहरू हार्नुभएपछि गिरिजाबाबुले मेची अञ्चल पुरै खाली भयो भन्दै मलाई पार्टीमा फर्कन भन्नुभयो ।

०५१ सालको चुनावमा केपी शर्मा ओलीले मलाई दुई हजार भोटले हराउनुभयो । ०६४ मा झापामा कांग्रेसबाट जित्ने म एक्लो थिएँ । ०७० मा पनि जितेर ०७३ मा नौ महिना सामान्य प्रशासन मन्त्री भएँ ।

मैले ०७० मा चुनाव जितेकै दिन अब चुनाव नलड्ने घोषणा गरेँ । अरुले पनि अवसर पाउनुपर्छ भनेर नउठ्ने भनेको हुँ । राजनीति छोड्दिनँ तर, अब चुनाव लड्दिनँ ।

तस्वीरहरुः चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment