Comments Add Comment

प्रदेश २ का शिक्षकले आफ्ना निरक्षर सदस्यलाई ६ महिनाभित्र साक्षर बनाउने

२ पुस, सप्तरी । प्रदेश २ का शिक्षकहरुले आफ्नो परिवारमा कोही निरक्षर भए साक्षर बनाउने प्रतिबद्धता जनाएका छन् ।

साक्षरता दर वृद्धि गर्न प्रदेशका शिक्षकहरुले आफ्नो परिवारका निरक्षर सदस्यलाई ६ महिनाभित्र साक्षर बनाउने प्रतिबद्वता गरेका हुन् ।

प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा प्रदेश २ का शिक्षकका पेशागत संस्थाका प्रमुख तथा प्रतिनिधिको सोमबारको बैठकले यस्तो प्रतिबद्वता जनाएका हुन् ।

शिक्षकहरुले छिमेकमा भएका निरक्षर ब्यक्तिलाई साक्षर हुनका लागि उत्प्रेरणा जगाउने र विद्यार्थीलाईसमेत साक्षरता अभियानमा सरिक गराउने निर्णय नै गरेका छन् ।

बैठकमा विद्यालय बाहिर रहेका उमेर समूहका सवै बालबालिकालाई विद्यालयमा ल्याउनका लागि सम्पूर्ण शिक्षकले पहल गर्ने, विद्यालयमा भर्ना भएका बालबालिकालाई अनियमित हुन नदिने, विद्यालय छाड्ने समस्या समाधान गर्न विद्यालय र शिक्षण सिकाइलाई बालमैत्री बनाउनेमा शिक्षकहरु प्रतिबद्व भएका छन् ।

भोजभतेर र कार्यक्रम नगर्न अनुरोध गर्ने

गाउँमा कसैको विवाह हुँदा जन्तीलाई विद्यालयमा राख्ने परम्परा अहिले पनि प्रदेश २ का कतिपय ठाउँमा विद्यमान छ । साथै संघ-संस्था र राजनीतिक दलको कार्यक्रम पनि विद्यालयमै गरिन्छ । तर शिक्षकहरुले अब यस्तो हुन नदिने बताएका छन् ।

उनीहरुले विद्यालयको समयमा विद्यालयमा भोजभतेर नगर्न, सार्वजनिक कार्यक्रम सभा समारोह नगर्न, विद्यालय नजिकमा लाउडस्पिकर नबजाउन र विद्यालयको पठनपाठनमा असर पार्ने कुनै पनि कार्य नगरिदिन सबै सरोकारवालाहरुमा अनुरोध गर्ने भएका छन् ।

विद्यालय शान्ति क्षेत्रको अवधारणा बमोजिम विद्यालयलाई निर्वाध रुपमा सञ्चालन हुन बाधा अवरोध नगरिदिन र शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउन पनि अनुरोध गरेका छन् ।

सानै कक्षादेखि परीक्षालाई मर्यादित बनाउने, समयमा कोर्स सक्ने, परीक्षासंग अब्यस्त गराउन नमुना परीक्षाहरु सञ्चालन गर्ने, कमजोर विद्यार्थीलाई थप कक्षाहरु सञ्चालन गर्ने र आगामी माध्यमिक शिक्षा परीक्षाहरुलाई पूर्णमर्यादित, ब्यवस्थित बनाउन पहल गर्ने निर्णय उनीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment