Comments Add Comment

प्रदेशका उपसभामुखको गुनासो : मर्यादाक्रममा सचिव भन्दा तल परियो

२ पुस, काठमाडौं । प्रदेशसभाका उपसभामुखले मर्यादाक्रममा आफूहरुलाई सचिव भन्दा पनि तल राखिएकोमा असन्तुष्टि जनाएका छन् ।

सोमबार काठमाडौंमा प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षसँगको अन्तरक्रियामा उनीहरुले उपसभामुखभन्दा वरियतामा सचिव माथि हुनु ठीक नभएको बताएका हुन् ।

प्रदेशसभा एककी उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाले विशिष्ट श्रेणीको सचिव नियुक्त गर्न सक्ने तर उपसभामुख भन्दा विशिष्ट श्रेणीको सचिव वरियतामा माथि हुने पद्धति ठीक नभएको बताइन् । ‘आफैंले नियुक्त गरेको सचिव, प्रदेशको मुख्य सचिव भन्दा भन्दा तल रहेर कसरी काम गर्ने ?’, उपसभामुख पोखरेलले भनिन्, ‘हामीलाई भीआईपी भन्ने तर समस्या यस्तो हुँदा गाह्रो छ ।’

गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले पनि आफुहरुलाई मर्यादाक्रमका कारण धेरै ठाउँमा अप्ठेरो परेको दुखेसो गरिन् । गत शनिबार चितवनमा सम्पन्न सातै प्रदेशसभाका उपसभामुखहरुको भेलाले पनि मर्यादाक्रमको विषयलाई गम्भीर रुपमा उठाएको प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् । उनका अनुसार उक्त भेलाले निकालेको निश्कर्ष मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई बुझाईँदैछ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा समानताको खाँचो औल्याएकी छन् । उनले महिला र पुरुषकाबीचमा समानता ल्याउन धेरै प्रयास भएको तर मनासिक रुपमा महिला कमजोर हुन्छन् भन्ने गलत चिन्तन कायमै रहेको उल्लेख गरिन् । सञ्चारमाध्यमले समाचारका लागि सूचना खोज्दासमेत महिलालाई भन्दा पुरुषलाई बढ्ता विश्वास गर्ने गरेको आफ्नो अनुभव रहेको उनको गूनासो छ ।

संघर्ष गरेर महिलाहरुले स्थानीय तहमा ४० प्रतिशत सहभागिता सुनिश्चित गराएको उल्लेख गर्दै उपसभामुख तुम्बाहाम्फेले सबै प्रदेशमा उपसभामुख महिला नै हुनुमा महिलामाथि कम विश्वास गरिएको ताइन् ।

राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले महिला र पुरुष मिलेर नै आर्थिक समृद्धिको सपना पुरा गर्न सक्ने बताइन् । आफूले राष्ट्रियसभामा एक पटक मात्र सदन चलाएको अनुभव सुनाउँदै उनले महिलालाई अवसर दिँदा काम गर्न सक्छ भन्ने बनाउनु महिला नेतृहरुसामु चुनौती रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment