Comments Add Comment

ज्ञानेन्द्रलाई पोखरामा फूलमाला, संविधानविरोधी प्रदर्शनमा राष्ट्रिय झण्डा

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहदम्पती पोखरा ओर्लनुभन्दा डेढ/दुईघन्टा पहिले नै विमानस्थल आसपास गणन्तन्त्रबिरोधी स्वर सुनिए । विमानस्थल बाहिर १० बजे नै राजतन्त्रका समर्थकहरु राष्ट्रि झण्डा लिएर पुगिसकेका थिए ।

ज्ञानेन्द्र शाह बिहान ११ बजे पोखरा ओर्लिने खबरसँगै उनका समर्थकहरुको ओइरो नै लाग्यो । करिब १२ बजे जब उनी विमानस्थलबाट बाहिरिए, तब उनको एक झलक तस्बीर खिच्न तँछाडमछाड नै चल्यो ।

पूर्वराजा ज्ञानेन्द्रको जयजय गानसँगै पञ्चेबाजाले उनको स्वागतमात्रै भएन, राष्ट्रिय झण्डा हल्लाउँदै गणतन्त्र र संघीयता खारेजीको चर्को नारासमेत लाग्यो ।

आफ्नो गलामा २१ किलोको फूलको माला र पञ्चकन्याबाट स्वागत ग्रहण गर्दै ज्ञानेन्द्र अघि बढे । समर्थकबाट उनीमाथि पुष्पवृष्टि भयो । संघीयता र गणतन्त्र खारेजीका नाराहरु घन्किए ।

फूलका गुच्छा लिँदै उनी विमानस्थलदेखि मुस्ताङचोकसम्म पुगे । सेल्फी खिच्ने र जयजय गान गाउनेहरुको भीडमा चमक चेहेराका साथ मुस्कुराउँदै पूर्वराजा ज्ञानेन्द्रले सम्मान लिए ।

उनी विमानस्थलबाट बाहिरिएसँगै राजा आउ देश बचाउ, गणतन्त्र र संघीयता खारेज गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नाराहरु घन्किए ।

पूर्वराजाले भीडलाई सशरीर हौसला दिइरहँदा पूर्वरानी कोमल भने विमानस्थलबाटै गाडीमा चडेर हात हल्लाउँदै मुस्ताङ चोकसम्म पुगिन् ।

विमानस्थलमा ज्ञानेन्द्रको स्वागतमा सयौं समर्थकहरु पुगेका थिए । समर्थकको ठूलो भीड र जयजयगान देखेर पूर्वराजाका दम्पती खुसी देखिन्थे । धेरै राजाहरु पाल्नुभन्दा एउटै राजा ठीक भन्ने आवाज भीडबाटै आइरहेको सुनिन्थ्यो ।

ज्ञानेन्द्रको स्वागतमा कमल थापा नेतृत्वको राप्रपा नेपालका चिनिएका कार्यकर्ताहरु पनि उपस्थित थिए । त्यसैगरी शिव सेना, धार्मिक संघसंस्थाका प्रतिनिधिदेखि लिएर स्वतस्फूर्त पुगेका व्यक्तिहरुसम्म भीडमा थिए ।

पूर्वराजा ज्ञानेन्द्र दुई हप्ता पोखरामा रहनेछन् । निजी भ्रमणका लागि पोखरा आएका भनिएका पूर्वराजा ज्ञानेन्द्रले अंग्रेजी नयाँ वर्ष पोखरामै सेलिब्रेसन गर्नेछन् ।

ज्ञानेन्द्र दम्पती पोखराको दोलिल्लास्थित एकान्तमा हालसालै खुलेको होटल माउन्टेन ग्लोरीमा बास बसेका छन् ।

निजी भ्रमणका लागि पोखरा आएको भए पनि ज्ञानेन्द्रले यसवीचमा समर्थकहरुसँग भेट गर्नेछन् । उनले पोखराका विन्ध्यवासिनी लगायतका धार्मिकस्थलको दर्शन गर्ने कार्यक्रम समेत छ ।

‘उहाँ अहिले दोबिल्ला होटलमा बस्नुभएको छ, समर्थकसँगको भेटघाट पनि जारी छ,’ शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने, ‘उहाँले पोखराका धार्मिकस्थलदेखि यहाँको मनोरमस्थलको समेत अवलोकन गर्ने कार्यक्रम छ ।’

यसैवीच पूर्वयुवराज पारससँगै परिवारका अन्य सदस्यहरु पनि एक/दुई दिनमै पोखरा आउने बुझिएको छ । पारस, हिमानी, उनका छोराछोरी पनि पोखरा आउने कार्यक्रम रहेको उनका निकटस्थले जानकारी दिएका छन् ।

ओली सरकार अलोकप्रिय बन्दा गणतन्त्रमाथि प्रहार

सोमबार पूर्वराजाको समर्थनमा देखिएको भीड अहिलेको सरकारको कार्यशैलीले बढेको आलोचना र अलोप्रियताको उपजसमेत भएको सडक किनारमा उभिनेहरुले गरेको विश्लेषण सुनिन्थ्यो ।

सोमबार पूर्वराजाको समर्थनमा देखिएको भीडले गणतन्त्रवादीहरुलाई झस्काएको छ । गणतन्त्रको विकल्प नदेखिए पनि सरकार र राजनीतिक नेतृत्व आलोचित बन्न पुग्दा गणतन्त्रमाथि प्रहार हुन थालेको भन्दै बुद्धिजीवीहरुले चिन्ता गरेका छन् ।

सरकारले अपेक्षित काम गर्न सकेन भने खेल्ने अर्को शक्ति जन्मनेतर्फ नेतृत्व सधैं सचेत रहनुपर्ने विश्लेषकहरुको भनाइ छ ।

पृथ्वीनारायण क्याम्पस राजनीतिक शास्त्रका उपप्राध्यापक गिरिधारी सुवेदीले राजतन्त्र समर्थकको आवाजले कुनै तूक नराख्ने भए पनि गणतन्त्रमाथि प्रहार सुरु भएको बताउँछन् ।

‘अब कसैले गणतन्त्र र संघीयता चाहिँदैन भन्दैमा केही हुनेवाला छैन । तर, राजतन्त्रका समर्थक र गणतन्त्रविरोधीले खेल्ने ठाउँ भने पाएका छन्,’ सुवेदीले अनलाइनखबरसँग भने, ‘गणतन्त्रको विपक्षमा भएको प्रदर्शन र संघीयतामाथिको प्रहारलाई अहिलेको सरकारले बेवास्ता गर्न मिल्दैन । सरकार अझै आलोचित हुँदै गए यस्ता आवाज बढ्दै जान्छन् ।’

पूर्वराजा जनतासरह भइरहेको भनिरहँदा उनको पक्षमा निस्किएको समर्थकहरुको भीडले गणतन्त्रबिरोधी शक्ति चल्मलाउन थालेको प्रति चनाखो रहनुपर्ने सुवेदीको भनाइ छ ।

पूर्वराजा र उनका समर्थकहरुले पोखरामा जम्मा भएको भीड र समर्थनलाई अहिलेको सरकारको अलोकप्रियताका रुपमा हेरेको शिव सेना नेपालका अध्यक्ष अनिल बताउँछन् ।

‘देशमा गणतन्त्र र संघीयता आए पनि अहिलेको राजनीतिक नेतृत्व र सरकारसँग कति धेरै मान्छे असन्तुष्ट रहेछन् भन्ने यसले देखाएको छ,’ अनिलले भने, ‘अहिलेको सरकारले राम्रोसँग काम गरेको र जनताको मन जित्न नसकेको महसुस पूर्वराजपरिवारले पनि गर्नुभएको छ ।’

‘गणतन्त्र आयो, संघीयता आयो, देश निरपेक्ष भयो देशले के पायो ?,’ बेगानासदेखि पूर्वराजाको स्वागतमा पुगेका ७० वर्षीय खिमनारायण पौडेल भन्दै थिए, ‘यो भीड राजाको समर्थकको मात्रै होइन, अहिलेको सरकारको कार्यशैली मन नपराउनेहरुको पनि हो ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment