क्यान्सरको बिरामी भएपछि मेरो किताब लेखनको शुरुवात भयो । बिरामी हुँदा भोगेको अनौठो, नयाँ र पीडादायी अनुभव सार्वजनिक गर्नुपर्छ भन्ने लागेर ‘हिल्ड’ HEALED पुस्तक लेखेकी हुँ । यस पुस्तकका सहलेखक नीलमकुमार पनि क्यान्सर सर्भाइभर हुनुहुन्छ ।
बाल्यकाल, बलिउडको करिअर र जीवनको अन्य पक्षलाई यो पुस्तकमा समेटेकी छैन । म पछिल्लो विगतलाई बिर्सन चाहन्नथेँ । जसले भोगेको छ, उसैले व्यक्त गर्दाको अनुभव बाँड्न चाहेकी हुँ ।
यो पुस्तकमा क्यान्सरको बिरामी हुँदा शारीरिक, मानसिक र भावनात्मक रुपमा के के भयो भन्ने विस्तृतमा चर्चा गरेकी छु । क्यान्सरबाट मुक्त भएपछि के भयो र अहिले के गरिरहेकी छु भन्ने पनि उल्लेख गरेकी छु । मेरो उपचार कहाँ भयो, मैले के–के सिकें भन्ने कुराको चर्चा गरेकी छु ।
मैले २०१७ को डिसेम्बरदेखि पुस्तक लेख्न थालेकी हुँ । त्यतिखेर मलाई सम्झिन पनि धेरै ग्राहो भएको थियो । चार/पाँच महिनापछि झण्डै–झण्डै मैले पुस्तक बीचमै लेख्न छाडिसकेकी थिएँ । त्यो पीडादीय क्षण पलपल सम्झिन साह्रै गाह्रो भइरहेको थियो । पुस्तकको अंग्रेजी संस्करणका प्रकाशक पेन्गुइनका गोविन्दले लेख्न नछाड्न उत्साहित गरिराख्नुभयो ।
जीवनमा एकदमै पीडादायी र कठिन पलबाट गुज्रिएपछि अमूल्य अनुभव प्राप्त हुन्छ । त्यसबाट सिकेको पाठ, त्यसबाट जीवनलाई हेर्ने दृष्टिकोण, त्यस्तो बेलामा चिनेका मानिसहरू र त्यसपछि बनेका अवधारणा छुट्टै हुँदोरहेछ । यस्तो कुरा शेयर गर्दा कसैलाई लाभ पुग्छ भन्ने मेरो मान्यता छ । पुस्तकले कसैको जीवनलाई लाभदायी हुने कुराले म खुशी छु ।
कसैलाई उपदेश दिन वा ज्ञान बाँड्नका लागि पुस्तक लेखेकी होइन । यही मान्यताका साथ म थप किताब पनि लेख्न चाहन्छु । यो पुस्तक ७ पुसबाट पोखरामा शुरु हुने नेपाल रिटरेचर फेस्टिभलमा सार्वजनिक हुँदैछ । यसको नेपाली संस्करण पनि फाइन प्रिन्टले निकाल्न लागेको छ । पुस्तकको अनुवाद क्यान्सर केयर नेपालले गरेको हो ।
लिटरेचर फेस्टिभलमा यो मेरो पहिलो अनुभव पनि हो । पाठकहरू माझ पुस्तकमार्फत जान पाउँदा म अत्यन्तै उत्साहित छु ।
यो आत्मकथा जस्तै हो । तर, आत्मकथाकै पुस्तक भने होइन । यो मेरो जीवनको एउटा भाग हो । जीवनको सम्पूर्ण पक्ष होइन । बिरामी हुँदा जुन अनुभव संगालें, त्यसलाई जीवनको अरु पक्षसँग मिसाउनुहुँदैन भन्ने लाग्यो । आत्मकथा लेख्नका लागि म तयार भइसकेकी छैन । केही वर्षपछि म त्यो पनि लेख्नेछु ।
क्यान्सरजस्तो बिरामी हुँदा असाध्यै अनौठो अनुभव के हुँदोरहेछ भने मृत्युलाई एकदमै नजिकबाट देख्न सकिँदोरहेछ । रुघाखोजीजस्तो औषधी खाँदैमा निको हुने बिरामी होइन यो । किमो थेरापी लिएपछि निको भइहाल्ने पनि होइन । लामो समयसम्म मृत्यु हुन्छ कि निको हुन्छ भन्ने थाहा हुँदैन ।
आफ्नै मृत्युसँग जुधिरहँदा साँच्चै नै गम्भीर अनुभव हुँदोरहेछ ।
शरीरमा देखिएको रोगको त राम्रो चिकित्सकबाट उपचार भइरहेकै हुन्छ । तर, मानसिक एवं भावनात्मकरुपमा आफूलाई बलियो राख्ने भन्ने सवाल महत्वपूर्ण हुँदोरहेछ । त्यस्तो बेलामा आफूलाई माया गर्नेहरू पनि प्रभावित भएका हुन्छन् । किनभने उहाँहरू पनि त्यो पीडाको छाँया र ‘ट्रमा’ मा परेका हुन्छन् ।
असाध्यै पीडामा परेका बेलामा त्यसबाट केही सिक्ने वा के गर्ने भन्ने आफैंमा निर्भर गर्छ । यस्तो बेलामा मैले ‘हेल्पलेस’ महशुस गरें ।
बिरामी हुँदा एउटा ज्योतिषीले हेरेर मेरो दाइहरू पूजा गर्ने सल्लाह पनि दिएका रहेछन् । त्यो कुरा पनि यो पुस्तकमा उल्लेख गरेकी छु । मेरी आमाको विश्वासका बारेमा पनि चर्चा गरेकी छु । मेरो उपचारमा संलग्न मुख्य सर्जनलाई आमाले यो अपरेसन गर्ने बेलामा यो रुद्राक्ष माला राखेर गर्नु भन्नुभएको थियो ।
गहिरो रोगबाट निको हुनका लागि मानसिक पक्ष पनि उत्तिकै मजबुत हुनुपर्छ । ‘डिप्रेस्ड’ छु भन्ने मलाई पनि थाहा थिएन । मलाई हेरविचार गरिरहेका साथीले तपाईले रोगविरुद्ध लड्ने बेलामा धेरै संघर्षको क्षणबाट गुज्रनुभयो, त्यसैले साइकोथेरापी लिन सल्लाह दिनुभयो । त्यसअनुसार मैले लिएँ पनि । त्यसले मलाई वास्तवमै सहयोग ग¥यो पनि ।
हामीले बलियो इच्छाशक्ति र आफ्नो सहनशक्तिलाई बिर्सिरहेका हुँदारहेछौं ।
यो पनि पढ्नुहोस मनिषा कोइरालाले लेखिन् ‘क्यान्सरको किताब’तस्वीर/भिडियोः चन्द्र आले