Comments Add Comment

पर्यटक बोलाउन रेवानको टोली स्याङ्जा, पाल्पाहुँदै बुटवलमा

३ पुस, बुटवल । पोखरा सडक महोत्सवको प्रवर्द्धनका लागि रेष्टुरेण्ट एण्ड वार एशोसिएसन (रेवान) पोखराको टोली स्याङ्जा, पाल्पा हुँदै बुटवल आइपुगेको छ ।

नेपालकै सबैभन्दा ठूलो महोत्सवको प्रचारप्रसारका लागि रेवान टोली पोखराबाट स्याङ्जा, पाल्पाहुँदै बुटवल आइपुगेको हो ।

अंग्रेजी नयाँ वर्षको स्वागतार्थ यहीँ पुस १३ गतेदेखि १७ गतेसम्म अर्थात डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म आयोजना हुने महोत्सवबारे रेवान पोखराले ३ वटै जिल्लामा सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघ र पत्रकारहरुसँग अन्र्तक्रिया गरेको छ ।

कार्यक्रममा रेवानले समग्र प्रदेशको अर्थ व्यवस्था चलायमान बनाउनका लागि पोखरा सडक महोत्सव आयोजना गर्न लागिएको प्रबर्द्धनात्मक टोलीका संयोजक तथा रेवान पोखराका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलले जानकारी दिए ।

त्यस्तै महोत्सवले पोखराको लेकसाइडलाई अन्र्तराष्ट्रिय रुपमा ब्राण्डिङ गर्नका लागि पनि महोत्सवले सघाउ पुर्‍याउने बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, अन्र्तराष्ट्रियस्तरका विभिन्न खानाका परिकार, मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनलगायत मुख्य आकर्षणका रुपमा रहने रेवान पोखराका महासचिव गणेश थापाले जानकारी गराएका थिए ।

कार्यक्रममा ‘सडकमै खाउँ, सडकमै नाचाैं, सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा राष्ट्रिय कलाकारहरुको लोकदोहोरी, लाइभ व्याण्ड, हाँस्य प्रहसन, बालउद्यान तथा अन्र्तराष्ट्रिय खानाका स्टलहरु रहने जानकारी गराइएको थियो ।

महोत्सवमा करिब ७ लाख दर्शकले अवलोकन गर्ने महासचिव थापाले जानकारी दिए । उनका अनुसार महोत्सवको मुख्य दिन डिसेम्बर अन्तिम दिन न्यू इयर इभको दिन मात्र करिब ३ लाख दर्शक लेकसाइड पुग्छन् ।

उनले महोत्सवका लागि भनेर विदेशी पर्यटक पनि यसैका लागि भनेर लेकसाइड आउनेगरेको बताए । उनले भने, ‘हामीले महोत्सव सुरु गर्नुअघि यो पुस माघमा मान्छे नै आउँदैनथे, तर महोत्सव सुरुसँगै पर्यटक बढ्न थाले, तर अहिले महोत्सवका लागि भनेरै पर्यटक आउन थालेका छन् ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले नेपालीहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा जाने संस्कृतिको विकास हुँदै गएको बताए ।

उनले यसलाई निरन्तरता दिन सके त्यहाँ आउने पर्यटकलाई नजिकका पर्यटकीय क्षेत्रमा लगेर बसाइँ लम्ब्याउन सकिने र त्यसका लागि सहकार्य आवश्यक रहेको औंल्याए ।

स्याङ्जाको वालिङमा आयोजित छलफल कार्यक्रमको व्यवस्थापन वालिङ उद्योग बाणिज्य संघले तथा पाल्पामा आयोजित छलफल कार्यक्रमको व्यवस्थापन पाल्पा उद्योग बाणिज्य संघ र बुटवलमा बुटवल उद्योग वाणिज्य संघले ब्यबस्थापन गरेका थिए ।

स्याङ्जाको वालिङमा आयोजित छलफल कार्यक्रममा बोल्दै वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले पोखरा सडक महोत्सवलाई स्याङ्जाको सँधै साथ र सहयोग रहने प्रतिबद्धता जनाए । महोत्सवका लागि स्याङका वालिङ, पुतलीबजारलगायतका क्षेत्रबाट धेरै मात्रामा मानिसहरु जानेगरेको उल्लेख गरे ।

पाल्पामा आयोजित कार्यक्रममा बोल्दै पाल्पाका बाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले सडक महोत्सव समग्र गण्डकी प्रदेशकै गर्व गर्ने महोत्सव भएको र यसले समग्र गण्डकी प्रदेशकै पर्यटन प्रबर्द्धनमा सघाउने भएकाले महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले रेवान पोखराको सडक महोत्सवबाट सिकेर पाल्पाले पनि त्यसको सिको गर्दै पाल्पा सडक महोत्सव गर्ने योजना बनाएको जानकारी गराए ।

उनले पोखरासँग सहकार्य गरेमात्र पाल्पालेपनि पर्यटनमा फड्को मार्ने भन्दै सहकार्य गर्न तयार रहेको बताए । सो अवसरमा उनले बुटवल, पाल्पा, स्याङ्जा हुँदै पोखरा निस्कने बाटोमा पर्ने सिद्धबाबाको बाटोमा समस्या रहेको बताउदै यसको हल गर्न सकिए पाल्पा र पोखरा दुवै शहरले भारतीय पर्यटकहरु भित्राउन सकिने भएकाले बाटो निर्माणका लागि पहल गर्न रेवान पोखराको टिमलाई आग्रह गरे ।

प्रवर्द्धनात्मक भ्रमण टोलीले मंगलबार दिउँसो नवलपुर र सौराहामा पुगेर छलफल गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, टान क्षेत्रीय संघ पोखराका उपाध्यक्ष सुसिलराज पौडेल, नाट्टा पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देल, नाट्टा पोखराका पूर्वअध्यक्ष ओम पाण्डे, रेवान पोखराका सदस्य बसन्त गौतम, दिल श्रेष्ठ, पूर्वसचिव श्रीराम गिरीसहित पोखराका केही पत्रकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment