Comments Add Comment

दिल्लीको आश्रमबाट बेपत्ता भएका नेपाली चेली पुनः बेचिएको आशंका

३ पुस,काठमाडौं । बेचबिखन प्रभावित महिलाहरुको संस्था शक्ति समूहले हालै नयाँ दिल्लीस्थित एक आश्रयस्थलबाट बेपत्ता पारिएका ८ जना किशोरीको खोजी र उद्दारमा पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शक्ति समूहको टोलीले मंगलवार महिला बालबालिका मन्त्री थममाया थापालाई भेटेर ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।

नेपाल सरकारले कुटनीतिक पहल गरी बेपत्ता भएका किशोरीको जीवनरक्षाको पहल गर्नुपर्ने शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामी मगरले बताइन् । दिल्लीका कोठीबाट डेढ वर्षअघि उद्दार गरिएका ती किशोरीलाई स्वदेश फिर्ता गर्ने कानुनी प्रक्रिया पूरा नहुँदा आश्रममा राखिएको थियो ।

स्वदेश फिर्ती सम्बन्धी कानून नहुँदा किशोरीहरु पुनः बेचबिखनको जोखिममा रहेको शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले बताइन् । सरकारले आवश्यक पहल नगर्दा उनीहरुको उद्दार हुन नसकेको शक्ति समूहले जनाएको छ ।

नयाँ दिल्लीस्थित एक सेल्टर होमबाट ८ जना किशोरी गत डिसेम्बर १ तारिखमा बेपत्ता भएका थिए । करिब डेढ वर्षअघि कोठीबाट उद्दार गरिएका १६ जना नेपाली चेलीहरुमध्ये ९ जना दिल्लीस्थित संस्कार आश्रममा थिए । उनीहरुलाई स्वेदश फर्काउने प्रयास सफल हुन नसकेको दनुवारले बताइन् ।

उद्दार हुँदा १८ वर्षमुनीका ती किशोरीहरु यसबीचमा १८ वर्ष पुगेपछि दिल्लीकै अदालतमा मुद्दा चलिरहेको थियो । उनीहरुको लागि शक्ति समूहले कानुनी लगायत आवश्यक सहयोग गरिरहेकोमा गत डिसेम्बर १ देखि अचानक ८ जना किशोरी सेल्टर होमबाट रहस्यमय ढंगले बेपत्ता पारिएको शक्ति समूहले जनाएको छ ।

बेचबिखनमा परी उद्दार गरिएकाहरुलाई स्वदेशफिर्ती सम्बन्धी नीति नभएको कारण यस्तो घटना भएको ध्यानाकर्षणपत्रमा जनाइएको छ । यसअघि पनि उनीहरुको स्वदेश फिर्तीका लागि पहल गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गरे पनि दूतावासबाट गम्भीरतापूर्वक पहल नलिदा उनीहरु बेपत्ता भएको शक्ति समूहले जनाएको छ । उनीहरु पुनः बेचबिखनको खतरामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment