Comments Add Comment

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषाध्यक्षबाहेक सबै निर्वाचित

३ पुस, काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।

शीर्ष तहमा भएको सहमतिअनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि महाधिवेशनबाटै चुनिनेछन् ।

कोषाध्यक्ष भने मनोनित हुनेछ । निर्वाचत केन्द्रीय सदस्यहरु मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने सहमति जुटेको छ । प्रवक्ता पदाधिकारी मध्ये वा केन्द्रीय सदस्यलाई दिन सकिनेछ ।

अहिलेको विधानमा सभापतिसँग एक महामन्त्री र कोषध्यक्ष मात्र निर्वाचित हुने व्यवस्था थियो । उपसभापतिसँगै एक महामन्त्री, सहमहामन्त्री भने सभापतिले मनोनित गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था थियो । पछिल्लो पटक फोरम लोकतान्त्रिकसँग भएको राजनीतिक सहमतिका आधारमा एक उपसभापति थपियो ।

महामन्त्री पूर्णबहादुर खड्काको विधान संशोधन मस्यौदा समितिले संख्या र निर्वाचन पद्धतीमा सहमति जुटाउन नसकेपछि अहिलेकै पदाधिकारी कायम राख्न प्रस्ताव गरेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताले फरक मत राखे ।

त्यसपछि भएको छलफलमा विभिन्न विकल्प आएपछि अन्तत २/२/२ मा सहमति जुटेको छ । यो पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेको प्रस्ताव हो तर, निर्वाचन पद्धतीमा भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अडान सदर भएको छ ।

केन्द्रीय समिति १६१ सदस्यीय, ३३ प्रतिशत महिला

शीर्ष नेताहरुबीच केन्द्रीय कार्यसमितिको आधार अझ बढाउने सहमति भएको छ । अब केन्द्रीय कार्यसमिति १६१ सदस्यीय हुनेछ, जसमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । साथै जातीय क्लस्टरहरु पनि मिलाइने एक नेताले बताएका छन् ।

शीर्ष तहमा भएको यो सहमतिलाई भोलि १२ बजे बस्ने केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुनेछ ।

बैठक केही दिन लक्बिने

पूर्वनिर्धारित तालिकाअनुसार महासमिति बैठक आज मंगलबार नै सकिनु पर्ने हो । तर, विधानमा सहमति जुट्न नसक्दा अन्य प्रतिवेदनमाथि समेत राम्ररी छलफल भएको छैन ।

अब भोलि अन्य प्रतिवेदनमाथि छलफल हुनेछ । छपाइका लागि केही समय लाग्ने भएकाले विधान संशोधन प्रस्तावमाथि भने पर्सिमात्र छलफल गर्ने तयारी छ ।

पर्सिबाट महासमिति बैठक पार्टी कार्यालयमा बस्नेछ । अहिले सिंहदरबार अगाडि रहेको योगम्बर पार्टी प्यालेसमा भइरहेको छ । तर, त्यहाँ ५ गते विवाहका लागि अगि्रम बुकिङ रहेकाले बाँकी बैठक पार्टी कार्यालयमा गर्न लागिएको हो ।

त्यसका लागि टेन्ट लगायतको काम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment