Comments Add Comment

नेपाल र अमेरिकाका विदेशमन्त्रीस्तरीय वार्तामा उत्तर कोरियाबारे छलफल

४ पुस, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच १७ वर्षपछि भएको उच्चस्तरीय औपचारिक छलफलमा उत्तर कोरियाको बारेमा समेत छलफल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोबीच भएको औपचारिक वार्तामा क्षेत्रीय मुद्दामा नेपालको भूमिकाबारे छलफल भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुई देशका विदेशमन्त्रीस्तरीय वार्तालाई ऐतिहासिक बैठक भनिएको छ । नेपालसँगको बलियो सहकार्यका लागि अमेरिकाको प्रतिबद्धता समेत व्यक्त गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता रोवर्ट पाल्लानिडोद्वारा जारी विज्ञप्तिमा भनिएको छ- दुई नेताबीच उत्तर कोरियासहित इण्डो प्यासिफिक क्षेत्रको समृद्धि तथा स्वतन्त्रताको सन्दर्भमा नेपालको केन्द्रीय भूमिकाबारे छलफल भयो ।

हेर्नुहोस् भेटवार्ताको भिडियो


परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार मन्त्री ज्ञवाली र पोम्पियोबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत र फराकिलो पार्ने सहमति भएको छ । भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा सहकार्यबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई सन् २०३० भित्र मध्यम आयस्तरको मुलक बनाउने लक्ष्यअनुसार नेपाल सरकारले काम गरिरहेको जानकारी गराएका थिए ।

साथै उनले राजनीतिक भ्रमण र अनुभव आदान प्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताए । साथै व्यापार, लगानी र आर्थिक सहायताको क्षेत्रमा विशेष ध्यान दिन सकिने मन्त्री ज्ञवालीले बताएका थिए ।

सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल आएयता दुई देशबीच औपचारिक भ्रमण भएको थिएन । अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली हाल अमेरिकामा छ ।

आजै दुवै देशका उच्च अधिकारीहरु सम्मिलित संयन्त्रको बैठक समेत बसेको छ । सो बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेका छन् । नेपालको विकासमा अमेरिकी सहयोगका क्षेत्र विस्तारबारे बैठक केन्द्रित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment