Comments Add Comment

देशभरका किल्ला अध्ययन गर्दै प्रधानसेनापति थापा

४ पुस, बुटवल । प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको अवलोकन गरेका छन् ।

बुटवल उपमहानगरपालिकाले जितगढीमा विशेष गुरुयोजना बनाएर काम अगाडि बढाइरहेका बेलामा सेनापतिसहितको विशेष टोलीले यहाँको अवलोकन गरेको हो ।

उनले नेपाल एकीकरण पूर्व र पश्चातका विभिन्न किल्लाहरु, सामरिक महत्वका क्षेत्रहरु, गढीहरुलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको जानकारी दिए । सेनापतिले बुटवल उपमहानगरपालिकाले अगाडि सारेको अभियानको सराहना गर्दै त्यसलाई पूरा गर्ने काममा आफुहरुले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

त्यसक्रममा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेको लगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराएका छन् ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाइको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्न थालेको छ ।

उपमहानगर प्रमुख शिवराज सुवेदीले बुटवलले जितगढीलाई राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको भन्दै सबैको सहकार्यको खाँचो रहेको बताए । विसं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको छ ।

सेनापतिसहितको टोलीलाई वडा नंं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठ,बुटवल उपमहानगरका प्राविधिकहरु धर्मराज ढकाल, मधु ज्ञवाली, रुक्मागत बस्याललगायतले जितगढीको गुरुयोजनाका बारेमा जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment