Comments Add Comment

चितवनलाई हराउँदै भैरहवा क्वालिफायरमा

४ पुस, काठमाडौं । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटर राउण्डमा चितवन टाइगर्सलाई पराजित गर्दै दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको छ ।

भैरहवाले चितवनलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । १४० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

भैरहवाको जितमा कुशल मल्ल र रोहितकुमार पौडेलले चार ओभरमा ५१ रनको साझेदारी गरे । कुशल २७ रनमा अविजित रहे । उनले १३ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, रोहितले १४ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित बने । त्यसअघि भैरहवाका प्रदीप ऐरीले ४२ रन बनाए भने कप्तान शरद भेषावकरले २९ रन बनाए ।

बलिङतर्फ चितवनका कमलसिंह ऐरीले तीन विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । मध्यम स्कोर बनाउने क्रममा चितवनका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए ।

उनले ४५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५६ रन बनाए । चितवनको सुरुवात भने राम्रो थिएन । १८ रन हुँदा पहिलो विकेटको रुपमा सन्दीप सुनारलाई चार रनमा गुमाएको चितवनले दोस्रो विकेट पनि १८ रन हुँदा नै गुमाएको थियो । यसबेला भने पाउल स्टर्लिङ १४ रनमा आउट भएका थिए ।

एकपछि अर्को विकेट गुमाउने क्रममा चितवनले कप्तान पृथु बास्कोटालाई शून्य रनमै गुमाएपछि दबाबमा आएको थियो । यो बेला चितवनको स्कोर ४.३ ओभरमा ३ विकेटको क्षतिमा २४ रन भएको थियो । तर त्यसपछि आएका दीपेन्द्रले इनिङ उकासेका हुन् ।

बलिङतर्फ भैरहवाका मोहम्मद नाभिदले तीन विकेट लिदा अविनाश बोहराले दुई विकेट लिए ।

दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको भैरहवाले फाइनल प्रवेशको लागि काठमाडौं किंग्स एलाभेनसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई एक विकेटले पराजित गर्दै ललितपुर प्याट्रिएटस भने ईपीएलको फाइनलमा प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment