Comments Add Comment

नेपालमा भारु प्रतिबन्धबारे बीबीसीको रिपोर्ट, कसलाई पर्‍यो समस्या ?

४ पुस, काठमाडौं । गत मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले भारतीय रुपैयाँ २००, ५०० र २००० का नोट कारोबार गर्नु, ल्याउनु र राख्न गैरकानूनी हुने भएकाले त्यसो नगर्न सूचना दिने निर्णय गर्‍यो । नेपाल सरकारको यो निर्णयले भारतमा समेत तरंग सिर्जना भएको छ ।

मन्त्रिपरिषदको उक्त निर्णयलाई धेरैले नेपालमा भारतीय नोट प्रतिबन्ध लगाइएको अर्थमा बुझेका छन् । किनभने यसअघि नेपालमा भारतीय नोटको खुल्लमखुल्ला कारोबार हुने गरेको थियो । त्यसलाई रोक लगाउने बारेमा विगतको सरकारले चासो दिएको थिएन ।

मन्त्रिपरिषदको उक्त निर्णय पनि नेपालमा धेरै चलनचल्तीमा रहेका ठूला भारतीय नोटको कारोबार अब गैरकानूनी हुनेछ । १०० भन्दा कमको भारतीय नोटमात्रै कारोबार हुँदा ठूलो परिणाममा कारोबार नहुने भएकाले त्यसले नेपाली अर्थतन्त्रलाई र नेपाली मुद्रालाई फाइदा गर्ने धेरैको तर्क छ ।

यसै विषयले भारतमा भने हंगामा मच्चिएको छ । नेपालको यो निर्णयलाई भारतका सबैजसो ठूला सञ्चारमाध्यमले प्राथमिकताका साथमा प्रकाशन प्रशारण गरेका छन् ।

हिन्दुस्तान टाइम्स, इकोनोमिक टाइम्स, इन्डिएन एक्सप्रेस, एनडिटिभी, इन्डिया टुडे लगाएतका मुलधारका सबैजसो सञ्चारमाध्यमले यसबारेमा समाचार प्रकाशन गरेका छन् ।

बीबीसी हिन्दी अनलाइनले भने वीरगञ्जमा आएर ‘ग्राउण्ड जिरो रिपोर्ट’ नै तयार पारेको छ । रिपोर्टमा यो निर्णयले खासगरी नेपालका सीमावर्तीक्षेत्रमा कठिनाई सुरु भएको दाबी गरिएको छ ।

बीबीसीका लागि पत्रकार निरज प्रियदर्शिनीले लेखेको रिपोर्टमा सीमावर्ती इलाकामा आर्थिक उथलपुथल मच्चिएको उल्लेख छ ।

के छ बीबीसीको रिपोर्टमा ?

‘नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाउँदा कसलाई समस्या भएको छ ?’ शीर्षकमा प्रकाशित उक्त रिपोर्टमा नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको जनाउँदै सीमावर्ती शहर रक्सौल र विरगञ्जमा ठूलो समस्या उत्पन्न भएको जनाइएको छ ।

बीबीसीले लेखेको छ, ‘नेपाल सरकारको यो निर्णयले दुवै देशको बीमा व्यापारिक सम्बन्धमा तिक्तता पैदा गरेको छ ।’

नेपाल सरकारले नोट प्रतिबन्धित गर्नुको कुनै आधिकारिक कारण नबताएको पनि रिपोर्टमा उल्लेख छ । भनिएको छ, ‘जानकारहरुका अनुसार यो कदम भारत सरकारले आफ्नो पुरानो प्रतिबन्धित नोट जुन नेपाल राष्ट्र बैंकसँग अझै रहेको छ त्यो अहिलेसम्म नसाटिदिएको कारण उठाइएको हो ।’

नेपाल राष्ट्र बैंकका अनुसार नेपालसँग अझै पनि ८ करोड रुपैयाँका पुराना नोटहरु छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई उद्धृत गर्दै बीबीसीले यो विषय दुवै सरकारले मिलेर समाधान गर्नुपर्ने लेखेको छ ।

बीबीसीले अर्का पत्रकार अभिषेक पाण्डेको भनाइ उद्धृत गर्दै भनेको छ, ‘दिल्ली र काठमाडौंमा बसेका सरकारका मानिसहरुले स्थानीय मानिसहरु र उनीहरुको वास्तविक समस्यालाई बुझ्दैनन् र हाम्रो सम्बन्ध व्यापारिक मात्रै नभई सामाजिक पनि छ ।’

कसरी उत्पन्न भयो समस्या ?

सन् २०१६ नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन नियन्त्रण गर्ने अभियानको लागि भनेर ५०० र १००० रुपैंयाकोे भारतीय रुपैंया प्रतिबन्धित गरेर नयाँ विशेष सुरक्षासहितका ५०० र २००० को नोट चल्तीमा ल्याएपछि नेपालमा रहेका ठूलो धनराशीको पाँच सय र हजारका भारतीय नोट साटिएन ।

अनौपचारिकरुपमा कारोबार हुने अबौंं रुपैयाँ बराबरका भारतीय नोट रद्दी कागजमा परिणत भए । नेपाल राष्ट्र बैंकले औपचारिक माध्यमबाट ल्याएका करोडौं मूल्य बराबरका भारतीय रुपैंया पनि साटिएनन् ।

यस विषयमा नेपाली पक्षले पटक–पटक आग्रह गरे पनि भारतीय पक्षले त्यसबारेमा चासो देखाएन । त्यसपछि भारतले जारी गरेका नयाँ नोटहरु केही समयपछि फेरि नेपालमा भित्रिन थाले र कारोबार पहिले जस्तै हुन थाल्यो । यसैबीच गतसाता मन्त्रिपरिषदको निर्णयपछि १०० भन्दा ठूलो भारतीय नोटको कारोबार हुन छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment