Comments Add Comment

श्रेयाको बलात्कारपछि हत्या गर्नेलाई आजीवन कैद

४ पुस, पोखरा । १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले आजन्म कैदको फैसला सुनाएको छ ।

मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जिवित रहेसम्म कैद गर्ने व्यवस्था भएपछि अदालतले गरेको यो पहिलो फैसला हो ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार स्याङ्जा स्थायी घर भई पोखरा– २२ पुम्दीभुम्दी बस्दै आएका २७ वर्षीय पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए । अदालतले कुसुमलाई मंसिर १७ गते दोषी ठहर गरेको थियो ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् । तर, अदालतबाटै आदेश आएको यो यो पहिलो भएको प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।

१० वर्षीया बालिका श्रेयाको असोज ९ गते हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै पौडेल पक्राउ परेका थिए । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको उनले स्वीकार गरेका थिए ।

रक्सीमा मात्तिएर श्रेयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलले स्वीकारेका थिए । पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रेयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको कुसुमले अदालतमा बयान दिएका थिए ।

श्रीयालाई हत्या गरेको कसैले थाहा नपाओस् भनेर शवलाई झाडीमा फालेर हिँडेको उनको बयान छ । रक्सीको जोसमा आफूले होस गुमाउँदा यस्तो घटना घटेको पौडेलले बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment