Comments Add Comment

मुस्लिम विद्यार्थी जुटे दाइजोको विरोधमा

बढिरहेको छ दाइजोको चलन
बन्दै छ सँस्कृतिको अंग
कसरी सुखी रहली र छोरी
किनेर दिएको दुलाहासँग

इस्लाम धर्ममा निकाह (विवाह) गर्दा दाइजोको कुरा हुन्न, बरु ‘महर’ भन्ने छ जुन केटा पक्षले दिनुपर्छ । केटीको भविष्य सुरक्षित होस् भनेर केटाले आफ्नो हैसियत अनुसार जग्गा, नगद, गरगहना आदि दिने गरिन्छ ।

इस्लामिक संघ, पर्साका अध्यक्ष जमील अख्तर कुरानले अर्काको सम्पत्ति अनुचित ढंगले नखानु भनेको बताउँछन् । ‘अरुको धन सम्पत्ति अनुचित ढंगले लिने कार्यलाई कुरानले ‘हराम’ भनेको छ’ उनले भने, ‘तर, हिजोआज मुस्लिमहरुले पनि इस्लामिक परम्पराभन्दा बाहिर गएर छोराको बिहेमा दाइजो लिन थालेपछि त्यस बिरुद्व अभियान चलाएका छौं ।’

इस्लामका जानकारहरुका अनुसार, निकाह (विवाह) मुलतः केटीको व्यवहार अनि सुन्दरता हेरेर गरिन्छ । इस्लाममा ‘जहेज’ भन्ने छ, जसको अर्थ विवाहको तयारी हो । तर, हुन थाल्यो उल्टो । त्यसैले मुस्लिम समुदायका अगुवाहरु यो कुप्रथाविरुद्ध लागेका छन् ।

तिनैमध्येकी एक हुन्– जेनिसा सुमन । स्नातक तहकी विद्यार्थी उनी वीरगन्ज महानगरपालिका– १४ को सुफा आइडियल स्कुलका सहायक प्रिन्सिपल पनि हुन् । ईस्लामिक संघले १ पुसबाट सुरु गरेको १० दिने दाइजो बिरोधी अभियानमा उनी पनि संलग्न छिन् । ‘मधेसका सबै समुदायमा दाइजोको विष फैलिएको छ’, उनले भनिन्, ‘त्यसकारण, मुस्लिम समुदायको यो अभियानबाट सबैमा राम्रो शन्देश जान्छ भन्ने हाम्रो विश्वास छ ।’

अभियानमा सक्रिय अर्का शिक्षक साविर अहमद एराज मुस्लिम समाजमा खराब देखासिकीबाट दाइजो प्रथा भित्रिएको बताउँछन् । ‘छोरीसँगै जग्गा बेचेर दाइजो दिनुपर्ने बाध्यता दिनप्रतिदिन विकराल बन्दै गएको छ’, उनले भने, ‘छोरीलाई सबैले पढाउ, आत्मनिर्भर बनाऊ । यसरी दाइजो जस्तोे कुप्रथामाथि प्रहार गर्न सकिन्छ भन्ने हाम्रो सोच छ ।’

यो अभियानमा बुर्का लगाएका महिला र किशोरकिशोरीदेखि धर्मगुरुहरुसम्म लागिपरेका छन् । अभियान अन्तरगत र्‍याली, कविता वाचन र पर्चा–पम्पलेट वितरणदेखि नाटक प्रदर्शनसम्मका चेतनामुलक कार्यक्रमहरु भइरहेका छन् । यो अभियानलाई प्रदेश २ का सबै जिल्ला पुर्‍याउने आयोजकहरुको लक्ष्य छ ।

समाजमा महामारी जस्तै फैलिरहेको दाइजो प्रथाले छोरीचेलीको जीवन बर्वाद पारिरहेको छ । छोरी जन्मिदा परिवारलाई बोझ हुने ठान्न थालिएको छ । तर, यो कुप्रथा निकै बलियो भइसकेकाले यसबिरुद्व ठुलै प्रयास आवश्यक भएको रियाज अन्सारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment