Comments Add Comment

‘राजा वीरेन्द्रको पोष्टमार्टम गर्न दिएनन्’

५ पुस, काठमाडौं । डा. प्रमोद श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को फोरेन्सिक विभागमा २९ वर्ष बिताए । दुई साताअघि अवकाश लिएका उनले आइओएमको फोरेन्सिक विभागमा रहँदा २५ हजारभन्दा बढी शव परीक्षण गरे ।

दासढुंगा दुर्घटनामा निधन भएका लोकपि्रय कम्युनिस्ट नेता मदन भण्डारीको शव पनि श्रेष्ठले परीक्षण गर्न भ्याए । रारा तालमा हेलिकोप्टर दुर्घटनामा परेकी अधिराजकुमारी प्रेक्षा शाहको पनि उनले शव परीक्षण गरे ।

डा. श्रेष्ठ दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र र उनको परिवारका सदस्यहरुको पोस्टमार्टमका लागि तम्तयार टिममा पनि थिए, तर शवहरुको पोष्टमार्टम गर्न दिइएन । गोली हानिएका, पहिरोमा पुरिएका, आत्महत्या लगायत अप्राकृतिक मृत्युवरण गरेका सामान्य व्यक्तिदेखि विशिष्टसम्मका शव परीक्षण गरेका उनी र उनको टिमले ‘छिटो गरिदेउ, नखोलिकनै गरिदेउ’ भन्ने अनगिन्ती अनुरोध सुन्नुपर्‍यो ।

घरायसी झगडाका क्रममा मृत्यु भएकाहरुको परिवारका सदस्यले भने रिपोर्ट आफ्नो पक्षमा आइदेयोस् भन्ने चाहनाबाट दबाव दिएको अनुभव पनि छ, डा. श्रेष्ठसँग । ‘त्यस्तोबेला दुवै पक्षलाई बोलाएर सम्झाउने हो’, उनी भन्छन्, ‘शवमा देखिएको कुरा रिपोर्टमा हटाइँदैन, नदेखिएको कुरा थपिँदैन ।’

फरेन्सिक विभागमा डा. तुलसी कडेल, डा. हरिहर वस्ती र आफ्नो टीम पोष्टमार्टमका क्रममा आइपर्ने यस्ता समस्या समाधान गर्न सफल भएको डा. श्रेष्ठले बताए । यद्यपि, यस क्षेत्रमा रात नभनी खट्ने चिकित्सकहरुलाई सरकार र जनस्तरबाट पनि खासै कदर नभएको उनको भनाई छ । ‘मानिसहरु मूर्दाका डाक्टर भन्थे’ उनी भन्छन्, ‘काम गर्दा यस्तो अवस्था पनि आयो, जहाँ हामीलाई नरपिचाससम्म भने ।’

तर, विचलित हुने कुरा भएन । किनभने, यो काम कति महत्वपूर्ण हो भन्ने कुरा फरेन्सिक विशेषज्ञहरु नै थाहा हुन्छ । त्यही कारण फरेन्सिक मेडिसिनतर्फको आर्कषण बढ्दो छ । डा. श्रेष्ठका अनुसार, आईओएमबाट फोरेन्सिक मेडिसिनमा सातजनाले एमडी गरेका छन् । नेपालमा फरेन्सिकसम्बन्धी काम गर्ने चिकित्सकको संख्या ५० हाराहारी पुगिसकेको छ ।

२९ वर्षे जीवनयात्रा

दाङ्गको तुलसीपुरमा जन्मेका प्रमोद श्रेष्ठले काठमाडौं आएर लैनचौरको जेपी हाईस्कुलबाट ०२७ सालमा एसएलसी गरे । त्यसपछि अस्कल साइन्स क्याम्पसबाट आईएस्सि र आईओएमबाट सन् १९८६ मा एमबीबीएस तहको अध्ययन पूरा गरे ।

उनी आईओएमको पहिलो ब्याचका एमबीबीएस थिए । महाराजगञ्जस्थित शिक्षण अस्पतालमै कार्यरत डा. श्रेष्ठ अब क्लिनिकल मेडिसिन पढ्न चाहन्थे । उनी भन्छन्, ‘तर हामी यहीका विद्यार्थी भएको र देशमा फरेन्सिक जनशक्ति नभएकाले क्लिनिकल विषय पढ्न निरुत्साहित गरियो ।’

उनले फरेन्सिक विभागमा काम थाल्दा नेपालमा फरेन्सिक विषयको सुरुवाती चरण थियो । त्यसबेला गोली लागेको शव विरलै आउँथ्यो । पोष्टमार्टमको लागि दिनमा ३-४ वटा शव आउथ्यो । ‘शवको पोष्टमार्टम पनि वीर अस्पतालमा मात्र हुन्थ्यो’, डा. श्रेष्ठ भन्छन्, ‘फरेन्सिक भनेको पोस्टमार्टम मात्र हो भने जस्तो थियो ।’

उनले सन् १९९० मा आईओएमबाट विशेष तालिमको लागि जापान जाने मौका पाए । त्यसपछि भने फरेन्सिक क्षेत्रको विहंगम दृष्य देख्न पाएको उनी बताउँछन् । ‘त्यस अघिसम्म एक हिसाबले करैले फरेन्सिक विषयमा लागेको थिएँ’, उनले भने, ‘यो बिषयमा रुचि जगाउन जापानको तालिमले ठूला काम गर्‍यो ।’

उनी एक वर्षे तालिम सकेर नेपाल फर्किए, तर उत्साह अनुसार काम गर्न पाएनन् । त्यसबेलासम्म नेपालमा न फरेन्सिक परीक्षणको लागि आवश्यक उपकरणहरु थिए, न त ल्याब सुविधा । सरकारी अस्पतालमा सरकारी चिकित्सकले मात्र शव परिक्षण गर्थे । जसले गर्दा डा. श्रेष्ठ दुई-तीन वर्ष त खाली जस्तै बसे ।

त्यही बेला (१९९३ मा) विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा श्रीलंकामा फरेन्सिकमा एमडी गर्ने अवसर पाए ।

श्रीलंकामा एमडी गर्दा उनी दैनिकमा १०-१२ वटासम्म शव चिरफार गर्थे । जबकी, नेपालमा त्यो बेला पनि मुश्किलले ४-५ वटा शव आउँथ्यो । शव परिक्षण पनि  दिउँसो दुई बजेपछि मात्र हुन्थ्यो । ‘पोष्टमर्टम गर्दा पानी समेत हुदैनथ्यो’, डा. श्रेष्ठ सम्झन्छन्, ‘साँघुरो कोठामा बडा दुःखले काम गर्नुपर्थ्यो ।’

श्रीलंकामा एमडि गर्दा डा. वस्ती र डा. कडेलसित उनको भेट भयो । त्यसबेला नेपाल फर्केर केही गर्ने योजना बनाएको डा. श्रेष्ठ बताउँछन् । त्यही अनुसार, उनीहरुले वीर अस्पताल साघुँरो भएकोले पोष्टमर्टम रुमको लागि ठूलो ठाउँ दिन स्वास्थ्य मन्त्रालयमा निवेदन दिए । त्यसपछि २०५७ भदौमा त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) परिसरमा रहेको केही कक्ष उपलब्ध भयो, जुन अहिलेसम्म यथावत छ । ‘त्यसयता हाम्रो फरेन्सिक विभागमा उल्लेख्य सुधार आएको छ’, डा. श्रेष्ठ ‘यद्यपी, जुटाउन धेरै बाँकी छ ।’

नेपालमा पोस्टमार्टमको चुनौती

शवको पोष्टमार्टम गर्नुका विशेष कारण हुन्छन् । डा. श्रेष्ठ भन्छन्, ‘पोष्टमार्टमले मृत्युको कारण दिनुपर्छ । त्यो नभई विमा रकम आउँदैन । मृत्यु दर्ता हुँदैन । सम्पत्ति दाबी गर्न मिल्दैन । अपराधी उम्कन्छ । मान्छेले पाउनु पर्ने न्याय पाउँदैननन् । कानुनी झन्झट आइपर्छ ।’

तर, नेपालमा दक्ष जनशक्ति हुदाहुँदै पनि सर्पोटिभ सिस्टमको अभावमा अन्तर्राष्ट्रिय स्तरको उपलब्धी हासिल हुन नसकेको उनी बताउँछन् । उनका अनुसार, पोष्टमार्टम र फरेन्सिक जाँचका लागि चाहिने सर्पोट सिस्टम प्रभावकारी नहुँदा कतिपय अवस्थाका मृत्युको कारण पत्ता लगाउन नसकिने अवस्था छ ।

फरेन्सिक विभागमा पोस्टमार्टम गर्नकै लागि १० जना चिकित्सक हुँदा समेत पर्याप्त बेड नहुँदा हुनुपर्ने जति काम पनि नभइरहेको डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार, फरेन्सिक जाँचको अवस्था पनि खराबै छ । यसका लागि जम्मा दुईवटा ल्याव छन्- नेपाल पुलिस फोरेन्सिक साइन्स ल्याब र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ।

तर, त्यहाँका प्राविधिकहरुले उचित तालिम नपाउँदा जनशक्ति भएर पनि उपलब्धी हासिल नभएको डा. श्रेष्ठ बताउँछन् ।

फरेन्सिक जाँच जिउँदो मानिसको पनि गरिन्छ । उमेर पत्ता लगाउन, बलात्कार भएको छ कि छैन भनेर छुट्याउन फरेन्सिक जाँच गर्नुपर्छ ।

डा. प्रमोद श्रेष्ठ नेपालमा पोष्टमार्टमलाई अझै पनि चुनौतीपूर्ण मान्छन् । उनका अनुसार, विशेषगरी शव पहिचानमा समस्या छ । ‘हवाइजहाज दुर्घटनालगायतका दुर्घटनामा शव क्षतविक्षत अवस्थामा हुन्छन्’, उनी भन्छन्, ‘त्यस्तो अवस्थामा कुन शव कसको, कुन अंग कुन शवको भनेर पहिचान गर्न कठिन हुन्छ ।’

त्यस्तोमा मृतक व्यक्तिहरुको विवरण (शारीरिक बनोट, कद, छालाको रङ्ग इत्यादि), पहिरन, खत इत्यादीको आधारमा सनाखत गरिने उनले बताए । उनका अनुसार, महंगो प्रविधि भएकैले नेपालमा डीएन परीक्षण खासै प्रयोगमा छैन । जसले गर्दा शव परीक्षणका लागि पुरानै शैली अपनाउने बाध्यता छ ।

र पनि, आफूहरुले सम्झन लायक काम गरेको डा. श्रेष्ठ बताउँछन् । विशेषतः २८ फागुन ०७४ भएको युएस बंगला विमान दुर्घटनामा परेका यात्रुहरुको क्षतविक्षत शवहरुको पोष्टमार्टम ४ दिनमै गरेर अन्तर्राष्ट्रिय स्तरबाटै प्रशंसा पाएको अनुभव उनले सुनाए ।

डा. श्रेष्ठ फरेन्सिक विभागलाई अन्तराष्ट्रिय स्तरको बनाउनु अनिवार्य भइसकेको बताउँछन् । यसका लागि सरकारले फरेन्सिक मेडिसिनलाई प्राथमिकता दिनैपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अब सबै जिल्ला अस्पतालमा एकजना विज्ञसहितको फरेन्सिक टिम र सुविधाजनक पोष्टमार्टम रुम हुनैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment