तपाईं कुनै निर्णयक मोडमा हुनुहुन्छ ? अर्थात यस्तो विन्दुमा हुनुहुन्छ, जहाँबाट तपाईंको जीवनले नब्बे डिग्रीमा कोल्टे फेर्दैछ ?
विवाह, सम्बन्ध विच्छेद, जागिर बदल्ने, नयाँ उद्यम गर्ने कुनैपनि ठूलो निर्णय लिनका लागि सही समय हुन्छ ?
जब हामी कुनै ठूलो निर्णय गर्ने मोडमा पुग्र्छौ, नाफा-घाटाको आंकलन गर्छौं । कति यस्ता हुन्छन्, जो समयको पर्खाइमा रहन्छन् । जस्तो कि, नयाँ बर्ष ।
के क्यालेन्डरको पातो फेरिएसँगै जीवनको निर्णय बदल्नुपर्छ ? यस प्रश्नको जवाफ हाम्रो मुडमा निर्भर गर्छ ।
हालै विविसी अनलाइनको हिन्दी संस्करणमा एक आलेख प्रकाशित छ । त्यहाँ के उल्लेख छ भने, कुनैपनि निर्णय लिने कुरा हाम्रो मुडमा निर्भर गर्छ । र, हाम्रो मुड मौसममा निर्भर गर्छ । जस्तो कि, जाडो मौसम । गर्मी मौसम ।
यतिबेला जाडो मौसम सुरु भएको छ । जाडोलाई हामी दुःखको संकेतको रुपमा पनि बुझ्छौं । यतिबेला मौसम उजाड हुन्छ । सुख्ख हावा चल्छ । वायुमण्डलको तापमान चिसिदै जान्छ । रात लामो र दिन छोटो हुन्छ । अन्नबाली, रुख बुट्यान हराभरा हुँदैन ।
यो मौसमी असर हाम्रो मानसिकतामा पर्छ । शरीरमा पर्छ । हामीले जाडो याम सुरु हुनै लागेको बेला दिपावलीको पर्व मनाउँछौं । अर्थात तिहार मनाउँछौं । तिहारलाई झिलिमिली वा दीपहरुको पर्व भनिन्छ । यो एक सांकेतिक पर्व पनि हो । तिहारले के संकेत गर्छ भने, ‘अब जाडो याम सुरु हुँदैछ । दुख र कठिन दिनहरु सुरु हुँदैछ । यस्तो कठिनाईसँग पनि हामी उमंगको दीप बालेर बाँच्नुपर्छ । मनमा उमंग र उत्साहको दीप बालिरहनुपर्छ ।’
‘जिन्दगीको कुनै ठूलो निर्णय लिने हो, तब कहिले लिनुपर्छ ?’ शीर्षकमा विविसी अनलाइनले लेखेको छ, ‘जाडो याममा मुड खराब हुन्छ । कतिपयलाई यस मौसममा एसएसडी अर्थात सीजनल अफेक्टिभ डिसअर्डर हुन्छ ।
सन् १९८० को दशकमा टेलिफोनबाट अमेरिकामा एक सर्वेक्षण गरिएको थियो, जाडोको दिनमा ९२ प्रतिशत व्यक्ति एसएडीको शिकार हुन्छ ।
यो आलेखमा मौसमी मुडले व्यक्तिको निर्णयक क्षमतामा प्रभाव पार्छ भनेको छ । सोही कुरामा केन्दि्रत रहेर खराब मुडमा लिइने निर्णय कति सही वा गलत भन्ने कुरा विश्लेषण गरेको छ ।
आलेखमा भनिएको छ, खराब मुडमा गरिने सबै कुरा खराब हुँदैन । अर्थात खराब मुडमा गरिएको निर्णयले खराब नतिजा दिन्छ भन्ने छैन ।
जब हामी खराब मुडमा हुन्छौं । जब हामी डिप्रेसनग्रस्त हुन्छौं, तब हामी जोखिमलाई अरु बढी राम्ररी बुझ्छौं । किनभने खराब मुडामा हामी कुनैपनि कुराको आनन्द उठाउन सक्दैनौ । भविष्यप्रति त्यती धेरै आशावादी हुँदैनौ । यस्तो बेला गरिने निर्णयबाट धेरै अपेक्षा गरिएको हुँदैन ।
डिप्रेसनग्रस्त व्यक्ति कुनैपनि निर्णय लिइरहँदा धेरै विकल्पमाथि घोत्लिदैनन् । उनीहरु जोखिम लिँदैनन् । सुरक्षित विकल्प छनौट गर्छन् । अर्थात यस मुडमा तपाईंले कुनै निर्णय लिनुभयो भने, त्यो जोखिमरहित हुनसक्छ ।
एसएडीका शिकार व्यक्ति आफ्नो वित्तिय अवस्थाका लागि जुन निर्णय लिन्छन्, त्यो धेरैजसो सही सावित हुन्छ ।
निर्णय लिने व्यक्ति यदि जोखिम कम लिन्छन् भने, यो खराब कुरा होइन ।
जो व्यक्ति आशावादी हुन्छन्, दिमागी हिसाबले उनीहरु यो सोच्छन् कि नोक्सान होला कि घाटा । उनीहरु कमसल काम रोज्दैनन् । सोच्छन्, यसले भविष्य राम्रो हुनेछ ।
डिप्रेसनग्रस्त व्यक्ति निराशावादी हुन्छ । उनीहरु भविष्यप्रति उस्तो आकंक्षा राख्दैनन् । अर्थात उनीहरु जोखिम मोल्न तयार हुँदैनन् ।
जुन व्यक्ति आशावादी हुन्छन् । उनीहरु भविष्यका लागि पूर्ण तागत लगाएर काम पनि गर्छन् । करियरमा बढी सफल हुन्छन् । उनीहरुको सम्बन्ध बलियो हुन्छ । आशावादी व्यक्ति यो पनि सोच्छन् कि, उनलाई कुनै रोग छैन । नतिजा, उनीहरु स्वास्थ्यका हिसावले पनि तन्दुरुस्त रहन्छन् ।
तर, बेलाबखत जिन्दगीमा ठूलो निर्णय लिनका लागि गर्मी मौसमको प्रतिक्षा गर्नु पनि सही हुन्छ । त्यसबेला उज्यालो दिन लामो हुन्छ । मौसम उमंगमय हुन्छ । यस्तो बेला निर्णय लिन सजिलो हुन्छ ।
हाम्रो मुड र निर्णय लिने क्षमताबीच खास तालमेल छ । यदि कुनै ठूलो निर्णय लिँदै हुनुहुन्छ भने सोच्नुहोस्, त्यो निर्णय के हो ? त्यसमा कुनै नोक्सान हुने खतरा छ ? त्यसमा सावधानी अपनाउनुपर्नेछ ? यदि त्यसो हो भने जाडोको याममै निर्णय लिन ठिक छ ।
यदि अनिर्णयको शिकार हुनुहुन्छ भने मौसम खुलेको दिन पर्खनुहोस् ।