Comments Add Comment

पूर्वमा हुलाकी राजमार्गका लागि बजेट अभाव, निर्माण सुस्त

५ पुस, विराटनगर । पूँजीगत बजेट अभावले पूर्वी तराईको सप्तरी, सुनसरी, मोरङ र झापा जिल्लामा हुलाकी सडक निर्माण सुस्त भएको छ ।

हुलाकी सडक आयोजना इटहरीका प्रमुख विजयकुमार महतोका अनुसार चार जिल्लालाई जोड्ने सडक निर्माणका लागि वर्षेनी न्यून बजेट बिनियोजन हुने गरेको छ ।  चार जिल्लामा मुख्य र सहायक गरी २ सय २५ किलोमिटर लामो सडकसँगै केही पुल निर्माण गर्नुपर्नेछ ।

सप्तरीको राजविराज–मोरङको विराटनगर हुँदै झापाको भद्रपुरसम्मको सडक संरचनाको काम हुलाकी सडक आयोजना इटहरी कार्यालयले हेर्दै आएको छ । त्यसबाहेक जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालयले समेत हुलाकी सडक निर्माणको काम हेर्ने गरेका छन् ।

आयोजना प्रमुख महतोले भने ‘सडक निर्माणको गर्नुपर्ने काम धेरै छ, बार्षिक बजेट भने कनिका छरेजस्तै आउँछ, यो बजेट सडक टालटुलमा नै रित्तिने गरेको छ ।’

चालु आर्थिक वर्ष २०७५/०७६ का लागि चार कार्यालयबाट खर्च गर्ने गरी पाँच अर्ब रुपैयाँ बजेट निकासा भएको छ । इटहरी कार्यालयका लागि ३८ करोड रुपैयाँ मात्र निकासा भएको छ । गत आर्थिक वर्षमा ५३ करोड रुपैयाँ निकासा भएको थियो ।

हुलाकी राजमार्ग अन्तर्गत झापामा ४८, मोरङमा ४८, सुनसरीमा ३० र सप्तरीमा ३२ किलोमिटर दुरीको मुख्य राजमार्ग र राजमार्गभित्र पर्ने पुल निर्माण गर्नुपर्ने हुन्छ ।

सहायक सडकको रुपमा झापाको चारआली–केचना ४० किलोमिटर, मोरङको कानेपोखरी–रंगेली २५ किलोमिटर र सप्तरीको कल्याणपुर–बर्साइन हुँदै ब्रह्मपर्ती १८ किलोमिटर दुरीमा सडक निर्माण गर्नुपर्नेछ ।

चार जिल्लामा १ सय ४ किलोमिटर सडक र ३० वटा पुल ठेक्का प्रक्रियाबाट निर्माण भइरहेको महतोको दावी छ ।

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा ठेक्कामार्फत निर्माणको जिम्मेवारी लिएका कम्पनीले काम गरिरहे पनि बजेट अभाव भएको महतोको भनाइ छ ।

गत आर्थिक वर्षको बजेटमा सप्तरीमा साना र ठूला १५ पुल निर्माणकै चरणमा छन् । झापाको मेची नदीमा ३३ करोड रुपैयाँ लागतमा पुल निर्माणको कामसमेत चलिरहेको छ ।

झापाको चारआली–केचना ४० किलोमिटर दूरीको सहायक सडक कालोपत्रेको कामले गति लिइरहेकोे महतोले बताए ।

त्यसबाहेक मोरङ र झापा जोड्ने रतुवामाइमा निर्माण भएको पुलको पूर्व भाग गतवर्ष नदीले कटान गरेको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको पुलसँग सडक सञ्जाल भने जोडिएको छैन । मुख्य राजमार्ग अन्तर्गत पूर्व–पश्चिम र सहायक राजमार्ग अन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकको अवस्था र आवश्यकता हेरेर ठेक्का प्रक्रिया बढाइएको आयोजना प्रमुख महतो बताउँछन् ।

तराइका जिल्ला जोड्ने हुलाकी राजमार्गको पूर्व–पश्चिमतर्फको ९ सय ७५ किलोमिटर दुरी मुख्य राजमार्गको रुपमा पर्छ । यसैसँग जोडिएर तराइका जिल्ला सदरमुकाम जोड्ने उत्तर–दक्षिण सहायक सडकको दुरी ८ सय १७ किलोमिटर पर्छ । सहायक सडकमा ३२ वडा मार्गहरु निर्माण गर्नुपर्ने हुन्छ ।

मुख्य र सहायक सडकसहित एक हजार ७ सय ९२ किलोमिटर दूरीमा गर्नुपर्ने निर्माणको काममध्ये हालसम्म ७० किलोमिटर दूरीमात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्गलाई पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै ३० किलोमिटर दक्षिणतर्फ विस्तार गर्ने सरकारको योजना छ । आर्थिक वर्ष २०६२/०६३ देखि निर्माण थालिएको राजमार्गमा भने अहिले पनि कतिपय स्थानमा आधारभूत संरचना बन्न भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment