Comments Add Comment

श्रृंखलाले जति चर्चा नपाएको मनिताको गुनासो

‘मिस यूनिभर्स’ मा उत्कृष्ट १० औं स्थानमा पुगेर नेपाल फर्किएकी मनिता देवकोटाले मिडियाको साथ नपाएको गुनासो गरेकी छिन् । ‘मिस वर्ल्ड’ श्रंखला खतिवडाले जति चर्चा पाइन्, ‘मिस युनिभर्स’ मा आफूले त्यति चर्चा नपाएको देवकोटाले संकेत गरिन् ।

काठमाण्डौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा देवकोटाले भनिन्- ‘मिस वर्ल्डमा नेपाललाई जुनखालको सहयोग मिडिया र दर्शकले गर्नुभएको छ, अरु टाइटल होल्डरले त्यस्तो सहयोग पाउन सकेका छैनाैं ।’

‘मिस वल्र्ड नेपाल’ लाई उचाइमा पुर्‍याउनका लागि मिडियाले साथ दिएको छ, त्यो साथ अरु टाइटल होल्डरमा पनि हुन आवश्यक रहेको देवकोटाको भनाइ छ ।

देवकोटाले थपिन्, ‘हामीसँग पर्याप्त स्पोन्सर पनि छैन ।उनले पत्रकारसँग भनिन्- ‘सबैभन्दा पहिले त मसँग सवारी साधन थिएन । मिस यूनिभर्सका लागि पहिरनदेखि लिएर भिडियो तयार गर्नका लागि पनि मलाई खुबै गाह्रो भयो । ५०-६० केजी तौलको पहिरन लिएर बैंकक जान निकै मुश्किल भयो ।’

मनिताले थाइल्याण्डको बैंककमा आयोजित ‘मिस यूनिभर्स’मा विभिन्न टाइटलसहित उत्कृष्ट १० सम्मको यात्रा तय गरेकी थिइन् ।

विभिन्न समस्याका बावजुद पनि आफू उत्कृष्ट १० औं स्थानमा परेको भन्दै यो गर्व गर्नुपर्ने विषय भएको मनिताले बताइन् । उनले भनिन्- ‘हाम्रो देश सानो छ । हामीसँग कम श्रोत साधन छन् । तर, पनि हामी उत्कृष्ट १० मा पुग्न सफल भएका छौं । यो देशले नै गर्व गर्नुपर्ने विषय हो ।’

राज्य र मिडियाको समर्थन पाएको खण्डमा चाँडै नै क्राउन जित्ने उनले दाबीसमेत गरिन् ।

आयोजक भन्छन्- राज्यले सहयोग गरेन

‘मिस नेपाल वल्र्ड’ को आयोजक संस्था द हिडन टे्रजरका प्रमुख गोपाल कक्षपतिले राज्यले आफूहरुलाई सहयोग नगरेको भन्दै दुःख व्यक्त गरे ।

कक्षपतिले भने- ‘मिस नेपाल अब हाम्रो मात्र होइन, यो त राज्यले नै गर्व गर्नुपर्ने बिषय बनेको छ । तर, राज्यले आफूहरुलाई खै किन स्वीकार नगरेको हो, थाहा छैन ।’

कक्षपतिले सीमित श्रोतका कारणले पनि काम गर्न अप्ठ्यारो भएको बताए ।

विभिन्न विज्ञापनदातादेखि अन्य सहयोगीहरुको साथले मात्रै आफूहरु यो स्थानमा आएको भन्दै देशले नै सहयोग गर्ने हो भने आफ्ना प्रतिस्पर्धीले उपाधि जित्न सक्ने उनले दाबी गरे ।

नेपाल पर्यटन बोर्डसँग विभिन्न चरणमा कुरा भए पनि देशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने मिस नेपालजस्तो कार्यक्रमलाई सहयोग नपाएको उनले गुनासो पोखे ।
कार्यक्रममा मिस वर्ल्डमा भाग लिएर फर्केकी मिस नेपाल श्रृङ्खला खतिवडा पनि उपस्थित थिइन् । उनले मनिताको सफलताका लागि भन्दै केक काटेर सेलिब्रेसन पनि गरिन् ।

यो पनि पढ्नुहोस्

मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुगेर बाहिरिन्

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment