Comments Add Comment

विदेशबाट फर्केकाहरु भन्छन् : हाम्रो सीप र पूँजी उपयोग होस्

६ पुस, बुटवल । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले आफूहरुले विदेशमा सिकेको सीप, कमाएको पूँजी र अनुभवको सदुपयोग हुने कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

विदेशमा काम गरेर फर्केकाहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपाल प्रदेश ५ ले केन्द्र सरकारले जस्तै प्रदेश सरकारले पनि प्रदेशको विकास निर्माण र समृद्धिमा आफूहरुलाई नीति र योजनामै समेट्न माग गरेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी संस्थाले विदेशबाट फर्किएको सीपयुक्त जनशक्तिलाई यत्तिकै खेर जान नदिन र उत्पादनमूलक क्षेत्रमा लगाउन माग गरेको छ ।

संस्थाकी ५ नंं प्रदेश संयोजक सीता बस्यालले केन्द्र सरकारले सहुलियत कर्जा, सीप परीक्षण, पुनःस्थापनालगायतका कार्यक्रम ल्याउन लागेकाले प्रदेश सरकारले पनि त्यस्ता कार्यक्रम ल्याउनुपर्ने माग गरिन् ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुलाई पहिचान र सम्बोधन नगर्दा उनीहरु पुनः विदेश पलायन हुने परिपाटी रहेकाले उनीहरुलाई स्वदेशमै उद्यमशील र रोजगार बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने उनले माग गरिन् ।

संस्थाले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सामूहिक लगानीमा आरएमएन इन्भेस्टमेन्ट कम्पनी स्थापना गरी उत्पादनशील क्षेत्र र सेवामूलक व्यवसायमा लगानी गरी आम्दानी गर्ने तयारी गरेको समेत अध्यक्ष बस्यालले जानकारी दिइन् ।

संस्थाका सल्लाहकार डीएल शर्माले दुई तिहाई वहुमतको स्थिर सरकार बनेपछि स्वदेशमै केही गर्ने वातावरण बनेको देखेर धेरै नेपाली स्वदेश फर्किने क्रम अब बढ्ने औंल्याउंदै सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment