Comments Add Comment

सुदूरपश्चिममा राजधानीकै सांसदले बुझ्छन् घरभाडा

६ पुस, कैलाली । प्रदेश राजधानी र राजधानी नजिकै घर भएका प्रदेशसभा सदस्यले समेत घरभाडा वापत रकम लिएको तथ्य भेटिएको छ ।

प्रदेश राजधानीमा घर नभएका सदस्यलाई घरभाडा दिने प्रावधान रहे पनि सुदूरपश्चिम प्रदेशका सांसदहरुले राजधानी धनगढी र त्यसनिजिकै घर भएर पनि प्रदेश संसद सचिवालयबाट महिनैपिच्छे घर भाडा बुझिरहेका छन् । संसद सचिवालयले दिएको जानकारी अनुसार राजधानीमा घर भएका र नभएका सबै प्रदेशसभा सदस्यहरुले घर भाडाको रकम लिइरहेका छन् ।

धनगढी र आसपासमा घर भएका ११ जना सांसदले घर नभएको भन्दै घरभाडा सुविधा लिएको भेटिएको हो । उनीहरुले यस्तो सुविधा महिनै पिच्छे लिइरहेका छन् । कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट निर्वाचित कांग्रेस सांसद डिल्लीराज पन्तको धनगढीमै घर छ, तर उनले सचिवालयबाट घर भाडा वापतको रकम लिइरहेका छन् ।

पन्तको घरबाट प्रदेशसभा भवनको दूरी २ सय मिटरमात्रै छ । क्षेत्र नम्बर ५ को क बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरीको घर फूलबारीमा छ जो धनगढी उपमहानगरपालिका भित्रै पर्छ । उनले पनि घरभाडा वाफतको रकम लिइरहेका छन् ।

कांग्रेसका समानुपातिक सांसद टेकबहादुर रैकाको धनगढीमै घर छ, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकीको फुलवारीमा घर छ, राजपाकी समानुपातिक सांसद मालामती रानाको धनगढीमा घर छ, उनीहरुले पनि घर भाडा वाफतको रकम महिनैपिच्छे लिइरहेका छन् ।

कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी घर बाटै राजधानी आउने भएपनि घर भाडा वापत पाइने रकम लिन छोडेका छैनन् । कैलाली क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित पूर्वमन्त्री दीर्घ सोडारीको घर धनगढीको शिवनगरमा छ, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरीको घर गोदावरी नगरपालिका क्षेत्रमा पर्छ । उनीहरुले घरभाडा वापतको रकम लिइरहेका छन् ।

नेपाली कांग्रेसमा बौद्धिक नेताका रुपमा चिनिने भरत खड्का डोटीबाट निर्वाचित सांसद हुन्, उनको धनगढीमा पनि घर छ तर उनले पनि घरभाडाको रकम भने छाडेका छैनन् । कांग्रेसकै सांसद दिव्येश्वरी शाहको पनि धनगढीमै घर भएर पनि घरभाडा लिइरहेकी छिन् ।

कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेस नेता देवराज पाठकको पनि धनगढी तारानगरमा घर छ तर उनले पनि महिनै पिच्छे घर भाडा वापतको रकम लिइरहेका छन् ।

घर भाडा वापतको रकमका लागि संसद सचिवालयमा निबेदन आएकाले सबै सांसदहरुले घर भाडाको रकम उपलब्ध गराइएको संसद सचिवालयका सचिव बलराम शर्माले बताए ।

संसद सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक अन्य सबै सांसदहरुले घर भाडा वापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ ।

घर भाडावापत बिपक्षी दलको नेताले २० हजार, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिहरुले १८ हजार, सत्ता पक्षको सचेतक र बिपक्षी दलको प्रमुख सचेतकले १८ हजार र सांसदहरुले १७/१७ हजार रुपैयाँ मासिक रुपमा पाउने प्रावधान छ ।

सांसदहरुलाई फर्निचर खर्च वाफत एकमुष्ट १/१ लाख रुपयाँ दिने प्रावधान अनुसार सुदूरपश्चिमका सबै सांसदहरुले सो रकम समेत लिइसकेका छन् ।

सांसद सचिवालयका पदाधीकारीको सेवा सुविधा तथा तलव भत्तामा मात्रै मंसिरसम्म ३ करोड ८६ लाख ३८ हजार ६ सय १२ रुपैयाँ खर्च भएको संसद सचिवालयका सचिव शर्माले ताए । उनले धारा बिजुलीको २ हजार, सञ्चार सुविधावापत ३ हजार सबै सांसदहरुले लिने गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment