Comments Add Comment

नेपाल फर्किए सुमन, आमाले मिर्गौला दिने भएपछि स्वदेशमै प्रत्यारोपण हुने

युएई/  दुवै मिर्गौला बिग्रिएर युएईको अस्पतालमा नियमित डायलसीस गराइरहेका चितवन रत्ननगर-२ टाँडीका सुमन परियार बिहीबार नेपाल फर्किएका छन् ।

परिवारका सदस्यले र्मिगौला दिने भएपछि थप उपचार नेपालमै गराउन उनलाई स्वदेश फर्काइएको हो । आमा चन्दा परियारले आफ्नो मिर्गौला दिएर छोरा बचाउने बताउँदै आएकी थिइन् ।

आमाले मिर्गौला दिने भएपछि नेपालमै उपचार गराउन सुलभ हुने भएकाले उनलाई नेपाल फर्काइएको उनी कार्यरत कम्पनी म्यानेजर सन्जु तमुले बताए । सुमनलाई नेपाल फर्काउन लाग्ने सबै खर्च उनी कार्यरत कम्पनीले व्यहोरेको छ ।

कम्पनी म्यानेजर सन्जुको आग्रहमा कम्पनीले उनले पाउनुपर्ने सबै सुविधासहित बिहीबार इदिहाद एयरलाइन्सको टिकट काटेर नेपाल पठाएको हो ।

यो पनि पढ्नुहोस परिवारलाई खुसी दिन परदेशिएका सुमन अस्पतालको बेडमा, सहयोगको अपील

यस्तै सुमनको रेखदेख गर्न युएई आएकी उनकी श्रीमती पनि उनीसँगै घर फर्किएकी छिन् । उनलाई स्वदेश फर्किनका लागि गायक प्रकाश पौडेलले हवाई टिकट उपल्बध गराएका हुन् ।

उनलाई यहाँ ल्याउन पनि गायक पौडेेलले भिसा र हवाई टिकट उपल्बध गराएका थिए । सुमनले आबुधावीको खालिफा अस्पतालमा नियमित डायलसीस गराइरहेका थिए ।

उनलाई कार्यवहाक राजदूत सागरप्रसाद फुयाँल, विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिलगायतले अस्पतालमै पुगेर ढाडस दिदै आएका थिए ।

यहाँ १९ पटकसम्म नियमित डायलसीस गराएका सुमनको शुक्रबारबाट मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलसीस हुनेछ । त्यसपछि चिकित्सको सल्लाह अनुसार प्रत्यारोपण गरिने परिवारको भनाइ छ ।

१० लाख ५० हजार सहयोग

सुमनको थप उपचार र जीवन चलाउन सहज बनाउन अबुधाबीमा सहयोग अभियान चलाइएको छ ।

यो पनि पढ्नुहोस सुमनको दुःखमा साथ दिन परदेशसम्म आइपुगिन् सबिता

गायक प्रकाश पौडेल, सन्जु तमु, पत्रकार उमाकान्त पाण्डे र लक्ष्मण सापकोटाको अगुवाईमा अभियान चलाइएको हो । अभियानले ३५ हजार दिहराम (१० लाख ५० हजार) संकलन गरेको छ ।

५ हजार दिहराम उनी कार्यरत कम्पनीका साथीहरुले संकलन गरेका हुन् भने अन्य रकम सहयोग अभियान चलाएपछि युएईमा रहेका केहीँ सामाजिक संस्था तथा व्यक्तिले सहयोग गरेका हुन् । संकलित रकम चाडै सुमनको खातामा पठाउने अभियानमा सहभागी पत्रकार पाण्डेले बताए ।

साथै युएईमा रहेका केहीँ सामाजिक संस्था तथा व्यक्तिले सहयोग प्रतिवद्धता जनाए अनुसारको रकम समेत जम्मा गरेर सुमनको खातामा पठाउने तयारी छ । प्रतिवद्धता गरिए अनुसारको तीनहजार दिहराम रकम उठ्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment