Comments Add Comment

हार्‍यो सन्दीपको टिम मेलबर्न

६ पुस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

शुक्रबार भएको खेलमा सन्दीपको टिम मेलबर्न डकवर्थ लेविस मेथोडमा सिड्नी थन्डर्ससँग १५ रनले पराजित भएको हो । मेलबर्नले १८२ रनको चुनौती पछ्याउँदै ब्याटिङ थालेको पहिलो ओभरमै पानी परेपछि खेल आठ ओभरमा छोट्याइएको थियो ।

आठ ओभरमा ९० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले ६ विकेटको क्षतिमा ७४ रन मात्रै बनाउन सक्यो । मेलबर्नका लागि निक लर्किनले अविजित २८ रन बनाए पनि जित दिलाउन भने सकेनन् ।

सिड्नीका लागि ड्यानियल साम्सले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८१ रन बनाएको थियो । सिड्नीका लागि जासन संघाले अविजित ६३ रन बनाएका थिए । त्यस्तै, ड्यानियल साम्सले ३४ रन बनाएका थिए ।

बलिङतर्फ मेलबर्नका सन्दीप लामिछानेले दुई विकेट लिए । उनले चार ओभरमा ३६ रन खर्चेर दुई विकेट लिएका थिए । त्यस्तै, एडम जाम्पाले पनि दुई विकेट लिएका थिए ।

बिग ब्यास लिग आफ्नो सपना भएको भन्दै आएका सन्दीपको आफ्नो सपना पनि पूरा भएको छ । उनको खेल हेर्न नेपाली समर्थक पनि मैदानमा नेपाली राष्ट्रिय झण्डा बोकेर उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment