Comments Add Comment

‘माउन्टेन ग्लोरी’ का २४ कोठामा के गर्दैछन् ज्ञानेन्द्र ?

७ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबारदेखि पोखरा छन् । उनी निजी पारिवारिक भ्रमणमा पोखरा आएका हुन् । उनी पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पामा बसिरहेका छन् । यो रिसोर्ट पोखराको एकान्त ठाउँ दोबिल्लास्थित रहिचौरमा छ ।

पूर्व राजा ज्ञानेन्द्र बसेपछि हालसालै सञ्चालनमा आएको रिसोर्टको चर्चा चुलिएको छ । ७२ रोपनी क्षेत्रफलमा बनेको यो रिसोर्टमा ८ जना व्यवसायीले लगानी गरेका छन् ।

रिसोर्टमा काठमाडौंका होटलमा अनुभव प्राप्त गरेका व्यक्तिदेखि पोखराका अटो क्षेत्रका व्यवसायीसम्मको लगानी छ ।

रिसोर्टका एकतर्फ जंगल र अर्कोतर्फ खोला छ । रिसोर्टमा ६४ कोठा छन् । जसमध्ये केही निर्माणाधीन अवस्थामै छन् । शाह परिवारले २४ कोठा बुकिङ गरेका छन् ।

रिसोर्टमा ठूला-साना गरी ४ वटा हल छन् । आन्तरिक तथा बाहृय उच्च वर्गका पर्यटकलाई लक्षित गरी यो रिसोर्ट सञ्चालनमा ल्याइएको रिसोर्टका अध्यक्ष नरेन्द्र प्रजापतिको भनाइ छ । यो रिसोर्ट पोखरा विमानस्थलदेखि ७ किलोमिटरको दूरीमा छ ।

करिब एक अर्ब लगानीमा रिसोर्ट सञ्चालनमा आएको लगानीकर्तामध्येका ध्रुव थापा बताउँछन् । एकान्तमा बस्न र जंगलको समेत स्वाद लिन चाहनेका लागि रिसोर्ट उपयुक्त रहेको लगानीकर्ता बताउँछन् ।

रिसोर्टमा ६ वटा ब्लग र ६ वटा भिल्ला छन् । एउटा प्रेसिडेन्टल रुम र एउटा स्वीट छ । अरु सबै सुपर डिलक्स रुम छन् ।

स्विमिङ पुल र बारको सुविधासहित रिसोर्टको आकर्षक डिजाइन छ । रिसोर्टबाट हिमालको फूट हिलसहित धौलागिरि, अन्नपूर्णदेखि मनास्लु हिमालसम्म दृश्यावलोकन गर्न सकिन्छ । कोठा र बाथरुमबाटै हिमाली दृश्य देख्न सकिने गरी रिसोर्टको डिजाइन गरिएको छ ।

हिमाली दृश्य, हरियाली वातावरण र सेती तथा फुस्रे खोलाबाट आउने संगीत यो रिसोर्टको अर्को विशेषता हो ।

पूर्वराजा ज्ञानेन्द्र परिवारलाई यो रिसोर्टमा ल्याउन काठमाडौंका व्यवसायीहरु खटिएका थिए । फुट ट्रयाक र साइकल ट्रयाकसमेत रहेको यही रिसोर्टमा सोमबारदेखि बसिरहेका छन् ज्ञानेन्द्र परिवार ।

रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेका छन् । उनले १६ दिनका लागि कोठा बुकिङ गरेको रिसोर्ट स्रोतले बताएको छ । राजपरिवारको खानादेखि सम्पूर्ण व्यवस्थापनका लागि काठमाडौंबाटै मानिसहरु खटिएका छन् ।

समर्थकसँग भेटवार्तादेखि विन्ध्यवासिनी दर्शनसम्म

निजी भ्रमण भनिए पनि ज्ञानेन्द्रले समर्थक र शुभेच्छुकसँग भेटवार्ता गरिरहेका छन् । राजतन्त्रको पक्षधर पार्टीका कार्यकर्ता, शुभेच्छुक र समर्थकसँग ज्ञानेन्द्रले भेटवार्ता गरिरहेका छन् ।

शुक्रबार राप्रपा अध्यक्ष कमल थापासँग यही होटलमा बसेर पूर्वराजाले कुराकानी गरेका छन् । भेटमा देशको समसामयिक विषयमा कुराकानी भएको राप्रपा निकटको मिडिया नेपालले जानकारी दिएको छ ।

शनिबार पूर्वराजा ज्ञानेन्द्र दम्पतिले विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । परिवारसहित बिहान ११ बजे विन्ध्यवासिनी दर्शन गर्न जाने उनको सचिवालयले जानकारी दिएको छ । उनको दर्शनलाई लिएर विन्ध्यवासिनी क्षेत्रमा कडा सुरक्षा दिइएको छ ।

पूर्वराजाको हैसियतमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकासले सामान्य स्वागतको कार्यक्रमसमेत राखेको छ । अन्य विशिष्ट व्यक्तिहरुलाई जसरी विन्ध्यवासिनीमा दर्शन गर्ने प्रवन्ध र स्वागत गरिन्छ, त्यसरी नै पूर्वराजालाई पनि पूजाआजा गर्ने व्यवस्था मिलाइएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

सोमबार ज्ञानेन्द्रको स्वागतमा सयौंको संख्यामा उनका समर्थकहरु पोखरा विमानस्थल पुगेका थिए । उनले विमानस्थलमा बोल्दै जनताले बोलाएको ठाउँमा जाने बताएका थिए ।

पोखरा आउनासाथ पोखरा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रको जयजय गानसँगै पञ्चेबाजाले उनको स्वागतमात्रै भएन, गणतन्त्र र संघीयता खारेजीको चर्को नारासमेत लागेको थियो ।

एक/दुई दिनमा पूर्वयुवराज पारससँगै परिवारका अन्य सदस्य पनि पोखरा आउने उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

एक हप्ताका लागि आएका पूर्वराजा ज्ञानेन्द्रले पोखरामै अंग्रेजी नयाँ वर्षको सेलिब्रेसन गर्नेछन् । विन्ध्यवासिनी दर्शनसँगै उनी यसपटक लेखनाथमा हुने एक कार्यक्रममा पनि सहभागी हुने उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

पूर्वराजा बसेको होटलमा अहिले साधारण व्यक्तिलाई भने प्रवेशमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment