Comments Add Comment

मनै लोभ्याउने लोमान्थाङ्

काठमाडौं । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङका विविध आकर्षणमध्ये एक हो लोमान्थाङ । सौन्दर्य र सम्पदा दुवै दृष्टिकोणले यो स्थान अति विशिष्ट छ ।

जोमसोमबाट कालीगण्डकीको तिरैतिर लोमान्थाङ पुग्दा भ्रमणप्रेमीहरुलाई उच्चतम आनन्दको अनुभूति हुन्छ । लोमान्थाङ वरपर देखिने गुफाहरु जति रहस्यमय छन्, यहाँको जीवनशैली उत्तिकै मौलिक छ ।

३८ सय मिटर उचाईमा रहेका अन्नपूर्ण हिमश्रृंखला र धौलागिरी हिम श्रृंखलाका बीच विशाल पठारमा १३ शताब्दीमा लो राज्यको स्थापना भएसँगै त्यसको राजधानीका रुपमा लोमान्थाङ जन्मेको हो । तसर्थ यसले पुरातन यूगलाई प्रतिबिम्बित गर्छ । यसलाई मध्ययुगिन किल्लाहरुले वरिपरीबाट घेरेको छ ।

माटो र ढुँगाले बनेका घरहरु र साना-साना गल्लीहरुको सञ्जालभित्र बौद्ध धर्म मान्ने लामाहरु जप-मालाको लयमा मन्त्रको साधना गरिरहन्छन् । लोमाङथाङका बासिन्दाहरुको संस्कृति र परम्परा पश्चिम र मध्ये तिब्बतसँग मिल्दोजुल्दो छ । उनीहरुले मान्ने चाडपर्व र परम्पराले तिब्बतीय बौद्ध धर्मलाई झल्काउँछ ।

पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेदेखि सन् २००८ सम्म यहाँ आफ्नै राज्यसत्ता थियो । मुस्ताङका अन्तिम राजा जिग्मे पलबर बिस्टको दुई वर्षअघि निधन भएसँगै पाँच तले लोमान्थाङ दरबार टुहुरो भएको छ । २०७२ सालको भुकम्पले पनि दरवारलाई क्षति पूर्‍याएको थियो । स्थानीयवासीले आफ्नै पहलमा यसको पुननिर्माण गरेका छन् । लोमान्थाङ दरवारको पर्खालमा पाँच कुना र बीच-बीचमा नौ मिटरका अग्ला बुर्जाहरु रहेका छन् । दरवारको पूर्वतिर एउटा मात्र प्रवेशद्वार राखिएको छ । यसभित्र रहेका १५ औ शताब्दीतिर निर्माण भएका मोन्खर दरवार, थुप्तेन गुम्बा, छयोदेन गुम्वा, झयाम्पाल गुम्बाहरु पर्यटकको लागि रुचीका विषय बन्छन् ।

‘द ल्यान्ड अफ फर्बिडन किंग्डम’ भनिने लोमाङथाङ घुम्न सन् १९९२ भन्दा अगाडि पर्यटकहरुलाई अनुमति थिएन । चीनको सहयोगमा ४६ सय मिटर उचाईमा रहेको कोराला बोर्डरसम्म सडक पुगेपछि यहाँ पर्यटकहरुको धुइरो लाग्न थालेको हो । १५ औं देखि २० औं शताब्दीसम्म यो भारत, नेपाल र तीब्बतबीचको ब्यापारिक केन्द्रका रुपमा थियो । अहिले लोमान्थाङमा नेपालीहरु भन्दा विदेशी पर्यटकहरु धेरै पुग्छन् । बौद्ध धर्मसम्वन्धी अध्ययन-अनुसन्धान गर्न लोमान्थाङ अति उपयोगि मानिन्छ ।

लोमान्थाङमा धेरै ठाउँमा मानव बसोबास गर्ने गुफाहरु फेला परेका छन् । यर्ीे गुफाहरु निकै ब्यवस्थित र वैज्ञानिक पाइएका छन् । बसोबासका लागि प्रयोग गरिएका गुफाहरु अग्लो पहाडमा छन् । प्राचिनकालमा सुरक्षाका हिसावले बसोबासका लागि अग्लो ठाउँ रोजेको हुन सक्ने अनुमान छ । एउटा गुफाभित्र विभिन्न तलाहरु पनि निर्माण गरिएका छन् । तला चढ्न भर्‍याङको प्रयोग र भर्‍याङमाथि घोप्टेको प्रयोग गरिएको छ । लोमान्थाङ पुग्ने अधिकांस पर्यटक गुफामा पुग्ने गरेका छन । गुफाभित्र भाँडाकुँडा, लत्ताकपडा, सत्रुसँग लड्न बनाएका धातुका साम्रगी भेटिन्छन् ।

लोमान्थाङमा बाह्रै महिना हिउँ पर्ने र चिसो हुने भएकाले मानिसहरु बाक्लो कापडाहरु लगाउँछन् । लोमान्थाङमा एकै ठाउँमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य पर्यटकका लागि अविस्मरणीय हुन्छ । दशैं र तिहारको बिदा मनाउन आन्तरिक पर्यटकहरु लोमान्थाङ पुग्न थालेका छन् ।

लोमान्थाङमा अझै पनि गाउँलेको आफ्नै कानुन चल्छ । भरसक यहाँका जनता प्रहरी र अदालतमा पुग्दैनन् । उनीहरुले आफ्नो समस्या मुखियालाई सुनाउने गर्छन् । मुस्ताङका सबै गाउँमा मुखियाका कार्यालय छन् ।

लोमान्थाङमा मान्छेको अन्त्येष्टि गर्ने अनौठो रम्परा रहेको छ । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाउने परम्परा उपल्लो लोमान्थाङ क्षेत्रमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीमा भने हराउँदै गएको छ । लोमान्थाङमा विष्ट, थकाली, गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ ।

लोमान्थाङ घुम्न मौसमको हिसाबले फागुनको अन्तिम सातादेखि असोज महिनासम्म उपयुक्त मानिन्छ । अधिकांश पर्यटकहरु जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान रुचाउँछन् । विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्गले पनि लोमान्थाङ पुग्ने पर्यटकहरुको सख्या बढाएको छ ।

मनाङको तिलिचो तालको अवलोकन गर्दै मुक्तिनाथ भएर पनि पर्यटकहरु लोमान्थाङ घुम्न जाने गरेका छन् । पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा पर्यटकहरु आफूलाई भाग्यमानी ठान्छन् । लोमान्थाङ घुम्नको लागी आउने-जाने बाटोको समय बाहेक कम्तीमा पनि ७ दिनको समय छुट्याउनु उपयुक्त हुन्छ । दैनिक १५ सय जतिको बजेट बनाउनुपर्छ ।

तस्वीर तथा भिडियोः फोर एएम प्रोडक्सन 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment