Comments Add Comment

निर्मला प्रकरणमा प्रहरीले भन्यो– सबै कुरा डीएनए मात्रै होइन

८ पुस, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी फेरि एकपटक चुकेको छ ।

पहिलोपटक बलियो सबुतविनै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेर साख गुमाएको प्रहरी दोस्रोपटक प्रदीप रावल र विशाल चौधरीको नाम सार्वजनिक गर्दा चुकेको हो ।

पछिल्लो समय १९ मंसिरमा नाम सार्वजनिक गरिएका दुई युवामध्ये एक विशाललाई प्रहरीले शनिबार कञ्चनपुरमै लगेर छाडेको छ भने रावल अझै प्रहरी हिरासतमै छन् ।

यसअघि प्रहरीले निर्मलाको बलात्कार गरेको स्वीकारेको दाबी गरेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका थिए । र, रावलको बयान लिएका थिए ।

त्यसपछि खनालको सचिवालयबाट सामूहिक बलात्कार भएको निष्कर्षसहित आरोपितको बयान समेत सार्वजनिक गराइएको थियो । त्यसवेला साबिती बयानका कारण हौसिएको प्रहरी अहिले एकाएक ‘ब्याक’ भएको छ ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) ले उपलब्ध गराएको ‘वाइ एसटीआर’ डीएनए प्रोफाइल निर्मलाको स्वावसँग मिले/नमिलेको सार्वजनिक नै नगरी प्रहरीले शंकास्पद भनेको व्यक्तिलाई छाडिसकेको छ ।

स्रोतका अनुसार प्रहरी नेतृत्वलाई दुवै डीएनए स्याम्पल नमिलेको जानकारी पुगेपछि नतिजा सार्वजनिक गर्न ढिलाइ गरिएको हो ।

यो पनि पढ्नुहोस निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

यसअघि घटनाको प्रारम्भमा अनुसन्धान गरेको सीआईबीका डीएसपी अंगुर जिसीको टोलीले पनि रावललाई समातेको थियो । तर, प्रमाण फेला नपरेपछि उनी छुटेका थिए ।

अहिले उनै रावलको बयानका आधारमा समातिएका भनिएका चौधरीलाई प्रहरीले छाडिसकेपछि उनले आफूलाई यातना दिएर आरोप स्वीकार्न लगाइएको दाबी गरेका छन् । ‘हतियारसहित बसेका प्रहरीले प्रदीपले स्वीकारिसक्यो तँ पनि स्वीकार नत्र राम्रो हुँदैन भनेर धम्क्याए’, उनले भनेका छन् ।

चौधरी छुटिसकेपछि पनि रावलको हकमा के होला भन्ने प्रश्न उठेको छ । प्रहरीको उच्च स्रोत भने अझै पनि निर्मला हत्यामा रावलको संलग्नता हुन सक्ने दाबी गर्छ । ‘उसले वीर्यभित्र नछिरेको बताएको छ’, प्रहरीको उच्च स्रोत भन्छ, ‘सबै कुरा डीएनए मात्र होइन ।’

यद्यपि, अहिले सर्वसाधारणले प्रहरीको अनुसन्धानभन्दा बढी डीएनएलाई आधार मान्न थालेका छन् । यस्तो अवस्थामा निर्मलाको स्वावमाथि नै प्रश्न उठिरहे पनि यसबारे सर्वेन्द्र खनाल नेतृत्वको नेपाल प्रहरी मौन छ ।

प्रहरी उच्च स्रोतले प्रदीप घटनामा संलग्न भएको अझै दाबी गरिरहे पनि कुनै सबुत भने भेटिएको छैन । प्रमाण अभावकै कारण उनलाई अभद्र व्यवहार गरेको आरोपमा म्याद थपेर प्रहरीले थुनिरहेको छ ।

एकातिर आरोप स्वीकारेको दाबी भइरहँदा प्रहरीले भने उनलाई ४ पटक जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर राखिरहेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको छ ।

कागजी रुपमा प्रहरीमाथि अभद्र व्यवहार गरेको प्रहरीले जनाए पनि अन्तिम पटक ६ पुसमा म्याद थप गरेर निर्मला प्रकरणमा उनमाथि अनुसन्धान भइरहेको छ ।

त्यसैले डीएनए नमिले वा अन्य प्रमाण नभेटिए पनि जिल्ला प्रशासन कार्यालयबाट उनीमाथिको आरोप सम्बन्धी फैसाला भएपछि उनी छुट्नेछन् ।

यो पनि पढ्नुहोस सांसदलाई आईजीपी खनालको चुनौती : दबाव दिएको भेटिए मेरो बर्दी फुकालिदिनुस्

कहिले हुन्छ डीएनए सार्वजनिक ?

प्रहरी प्रधान कार्यालयले आरोपित दुई जना व्यक्तिको डीएनए रिपोर्ट कञ्चनपुर पठाइसकिएको जनाएको छ । तर, कञ्चनपुर प्रहरीका डीएसपी एवं निर्मला प्रकरणका अनुसन्धान अधिकृत कृष्ण ओझा भन्छन्, ‘अझै डीएनए प्रोफाइल यहाँसम्म आइपुगेको छैन ।’

‘प्रोफाइल आइपुगेपछि जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा खोल्छौं’, उनले अनलाइनखबरसँग भने । डीएनए रिपोर्ट नै नहेरी उनी कसरी छुटे त भन्ने प्रश्नमा ओझा भन्छन्, ‘उताबाटै छाडिएको हो ।’

तर, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदी भन्छन्, ‘विशालको डीएनए रिपोर्ट पुगिसकेको छ । रावलको पनि गइसकेको हुनुपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment