Comments Add Comment

पारस खड्काले किन भने ईपीएलको व्यवस्थापन झूर ?

८ पुस, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण सम्पन्न भएसँगै नेपाली क्रिकेटका कप्तान पारस खड्काले आयोजकबाट खेलाडीहरु निराश भएको बताए । उनले भने, ‘अफ द फिल्ड यो प्रतियोगिता एकदमै झूर भयो ।’

पारसको मुखबाट यत्तिकै यो अभिव्यक्ति निस्केको थिएन । ईपीएल सुरु भएयता खेलाडीहरुमा गुम्सिरहेको असन्तुष्टिलाई उनले ओकलेका हुन् । किनभने, अरु खेलाडीले पारसले जसरी खुलेर बोल्ने हिम्मत गर्न सक्दैनन् ।

पारसले खासगरी पुरस्कार राशी थोरै भएको र खेलाडीको सेवा–सुविधामा अपेक्षाकृत नभएको गुनासो गरेका छन् । क्रिकेटमा विशेषगरी बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदीयमान खेलाडी तथा हरेक खेलका ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको पाइन्छ । तर, बिजेता टिमलाई २५ लाख र उपबिजेतालाई १० लाख बाहेक प्लेयर अफ दी सिरिजको पुरस्कार मात्र थियो । अन्य विधामा पुरस्कार थिएन । यसमा खेलाडी सन्तुष्ट छैनन् ।

तर, ईपीएल व्यवस्थापनमा यति कारणले मात्र प्रश्न उठेको भने होइन । अरु पनि थुप्रै कमी कमजोरीले गर्दा प्रतियोगिताले आफूलाई ‘नेपालको सबैभन्दा ठूलो क्रिकेट लिग’ दाबी गर्ने हैसियत गुमाएको छ ।

अन दी फिल्डमा भने प्रतियोगिता रोमाञ्चक थियो । फाइनलमा भैरहवा ग्लाडीएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रिएटस बिजेता बन्नुअगाडि थुप्रै सनसनीपूर्ण प्रतिस्पर्धाहरु कीर्तिपुर मैदानले देख्यो । टेष्ट राष्ट्रका अनुभवी खेलाडीको सहभागिताले प्रतियोगिताको वजन बढाएको थियो ।

लामो समयदेखि नेपाल क्रिकेट संघ (क्यान) अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिबन्धमा परेका बेला नेपाली क्रिकेटलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता प्रतियोगिताले धानेका छन् ।

यी प्रतियोगिताले घरेलु खेलाडी उत्पादन मात्रै हैन, अन्तरराष्ट्रिय स्तरमा नेपाली क्रिकेटर कुन लेभलमा छन् भन्ने वास्तविकता पनि उजागर गरेको छ । ईपीएल जस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको तथ्य कप्तान पारस स्वय‌ं स्वीकार्छन् ।

ईपीएलको सकारात्मक पाटोबारे उनी भन्छन्, ‘विभिन्न राम्रा देशका अनुभवि खेलाडीको सहभागिता रह्यो । विश्वभर ईपीएलले नेपाली क्रिकेटको बारेमा राम्रो सन्देश दिएको छ ।’

आयोजकले यो प्रतियोगिताको तयारी नै निकै फितलो गरेको थियो । मैदानभित्रका कमीकमजोरी बाहिरैबाट देखिन्थ्यो ।

व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई सुम्पिइएको थियो । उक्त कम्पनीले खेलाडीहरुमाथि अनावश्यकरुपमा लगाम कस्यो ।

पहिलो क्वालिफायर खेलमा काठमाडौं किंग्स इलाभेनलाई पराजित गरेपछि पोष्ट म्याच कन्फ्रेन्समा कप्तान ज्ञानेन्द्रले भनेका थिए, ‘यो गर्नु हुन्छ त्यो गर्नुहुन्न । यहाँ जा त्यहाँ नजा । बाँधिएर बस्नुपरेको छ ।’

यसलाई अझै प्रष्ट गर्न हामीले ज्ञानेन्द्रसँग आग्रह गर्दा भारतबाट ल्याइएका व्यक्तिबाट राम्रो व्यवहार नभएको प्रष्ट्याए ।

ज्ञानेन्द्रले भने, ‘यहाँहरुले आईसीसीको आचारसंहिताको हिसाबले गर्न खोज्नुभएको होला, तर आचारसंहिता मात्रै सबै कुरा हुँदैन । भारतबाट आयोजकले व्यवस्थापनका लागि ल्याएकाहरुको व्यवहार चित्तबुझ्दो थिएन ।’

यद्यपि, अन द फिल्ड प्रतियोगिता भने राम्रो भएको र यसले क्रिकेट विकासमा योगदान दिएको उनको भनाइ छ ।

पानीदेखि शौचालयसम्मको अभाव

ईपीएल आयोजकले चाहेको भए, त्रिवि क्रिकेट मैदानलाई हरियालीसँगै स्तरीय पिच बनाउन सक्थ्यो । तर आयोजक जसोतसो काम चलाउनेतिर गयो । मैदानको गुणस्तर निकै दयनीय देखियो । खेलाडीलाई डाइभ हान्न पनि गाह्रो हुने अवस्था थियो ।

मैदान बाहिरको व्यवस्थापनमा त झनै आयोजकको ध्यानै थिएन । पानीको अभाव एकातिर शौचालयको अभाव अर्कोतिर । दर्शकदीर्घामै बारिएको बालमा पिसाब फेर्न दर्शक बाध्य बने भने भीआईपीले प्रयोग गर्ने शौचालयमा प्रतियोगिताभर पानी नै आएन । शौचालयको दुर्गन्धले त्यहाँ शौच गर्न जाने जो कोही आक्रान्त बने ।

आयोजकको जताततै लापरवाही भएको खेलाडी तथा प्रशिक्षक र टिम मालिक बताउँछन् । अम्पायरका निर्णयहरुमा समेत धेरै प्रश्न चिन्ह उठेका थिए ।

तर, दर्शकको साथ

तेस्रो संस्करणसम्म आइपुग्दा ईपीएलले निकै लोकप्रियता कमाएको छ । बाग्लो दर्शकको उपस्थितिले नै यो तथ्य प्रमाणित हुन्छ । ईपीएलको फाइनल करिब १४ हजार ५ सय दर्शकले टिकेट काटेर हेरे टिकट नकाटी खेल हेर्नेको घुईचो पनि कम थिएन ।

उद्घाटन खेलमा पनि ११ हजार उपस्थिति थिए । अन्य खेलमा भने चारदेखि ५ हजारको हाराहारीमा दर्शकले त्रिवि क्रिकेट मैदानमा पुगेर प्रत्यक्ष खेल हेरे । तर, आयोजकले ईपीएलमा सहभागी टिम र खेलाडीलाई सन्तुष्ट पार्न भने सकेन ।

के भन्छन् आयोजक ?

ईपीएलका निर्देशक आमिर अख्तरले कप्तान पारस खड्काबाट आएको टिप्पणीलाई गम्भीरतापूर्वक लिइएको बताएका छन् । उनले यस वर्षका कमी–कमजोरुी अर्को वर्ष सुधार्ने वाचा गरे ।

उनले भने ‘पारस खड्का हाम्रो राष्ट्रिय टिमका कप्तान हुन् । उनलाई मात्रै हैन सबै खेलाडीलाई बोल्ने अधिकार छ । उहाँहरुले गर्नुभएको गुनासो हामीले सुनेका छांै र त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ । सकेको हामीले गरेको हो । केही कमजोरी भयो होला । तर, सुधार गर्छौं ।

अम्पायरको गलत निर्णयको विषयमा भने उनले बचाउ गरे । अख्तरले भने, ‘संसारमा अम्पायरको निर्णयमा कहिले पनि सबै सन्तुष्ट हँुदैनन् । तर, अम्पायरको निर्णय हामीले मान्नैपर्छ । नेपालका एम्पायरले नै हो अन्य प्रतियोगितामा खेलाएको पनि । अम्पायरको निर्णयमा प्रतिवाद गर्न मिल्दैन ।’

प्रतियोगिताभर तीनवटा खेलमा मात्रै एम्पायरको बारेमा कम्प्लेन आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment