Comments Add Comment

दुनियाँका अनौठा सजाय

कानूनी शासनमा अपराधीले सजाय पाउँछ । तर सजायका प्रकार भने देशको कानून अनुसार फरक फरक हुन सक्दछन् ।

अमेरिकाको मिसौरीमा बस्ने डेभिड बेरीलाई हरिणको सिकार गरेको अभियोगमा एक वर्षसम्म जेलभित्र बसेर महिनामा कम्तीमा पनि एकपटक डिज्नीको बम्बी कार्टून हेर्ने सजाय दिइएको थियो । कार्टुन हेर्दा हेर्दै उनको सोच बदलियोस् भन्ने सदिच्छा प्रशासनको थियो ।

सन् २००३ मा अमेरिकाको सिकागोमा दुईजना युवकलाई ४५ दिनको जेल सजाय दिइयो । त्योसँगै उनीहरुलाई आफ्नो गृहनगरमा एउटा गधासँग मार्च गर्ने आदेश पनि दिइयो । उनीहरुमाथि चर्चबाट मूर्ति चोरेको आरोप थियो ।

अमेरिकाको ओक्लोहोमामा एकजना हाइस्कुलका विद्यार्थी टाइलर एलरेडले रक्सी खाएर गाडी चलाउँदा गाडी दुर्घटना भयो र उनका साथीको मृत्यु भयो । १७ वर्षका ती किशोरलाई जेल जानबाट बच्नका लागि अदालतले अनौठो शर्त राख्यो । उनले सोही स्कुलबाट ग्राजुएसन गर्नुपर्ने भयो । साथै वर्षभरी लागूऔषध, रक्सी तथा निकोटिन परीक्षण गराउनु पर्ने र दश वर्षसम्म चर्च धाइरहनु पर्ने आदेश अदालतले दिएको थियो ।

स्पेनको एन्डालुसियाका एकजना युवकले आफ्ना आमाबुवाले पकेट मनी नदिएको भन्दै अदालतमा मुद्दा हाले । २५ वर्षका ती युवकले आमाबुवाले आफूलाई मासिक ३ सय ९५ युरो रकम पकेटमनी दिनुपर्ने माग गरेका थिए । अदालतले त उल्टै ती युवकमाथि पो सजाय सुनायो । ३० दिनभित्र बुवाआमाको घर छाड्न र आफ्नो खुट्टामा उभिनका लागि अदालतले ती युवकलाई आदेश दियो ।

सन् २००८ मा बेलायतमा एकजना कार चालकलाई कारमा तीव्र आवाजमा र्याप गित घन्काएको आरोपमा १ सय २० पाउन्ड जरिवाना लगायो । तर अदालतले अर्को अनौठो आदेश पनि दियो । त्यो के भने यदि ती युवकले २० घण्टासम्म शास्त्रीय संगीत सुनेमा जरिवाना रकमलाई ३० पाउण्डमा झार्ने । तर विडम्बना ती पुरुषले १५ मिनेटभन्दा बढी शास्त्रीय गीत सुन्न सकेनन् । आफुलाई मन नपर्ने संगीत सुन्नुपर्दा कस्तो अनुभुति हुन्छ भन्ने कुराको चेत पसोस् भन्ने उद्देश्य अदालतको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment