Comments Add Comment

साहरुख भन्छन्–‘म पैसा र स्टारडमका लागि काम गर्दिनँ’

बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘जीरो’ले भारतीय बक्स अफिसमा खासै चमत्कारिक व्यापार गर्न सकेको छैन । ३ दिनको व्यापार हेर्दा भारतीय बक्स अफिसमा यसपटक पनि साहरुख खान असफल हुने निश्चित छ । ओभरसिजमा आक्रामक कमाई गरिरहेको यो चलचित्रलाई भारतका दर्शकले खासै रुचाएका छैनन् । साहरुख खान ‘फ्यान, दिलवाले, जब ह्यारी मेट सेजल’ पछि ‘जीरो’मा फेरि चिप्लिएका छन् ।

साहरुखले निरन्तर चलचित्र असफल हुँदा पनि महंगो बजेटमा नयाँ प्रयोग गर्न खोजेको देखिन्छ । साहरुखले निर्माण गरेको चलचित्र ‘रा वन’को अहिले भारतमा प्रशंसा हुन थालेको थियो, जबकी यो चलचित्र सो समयमा निकै आलोचित भएको थियो । आखिर, साहरुख सामान्य कथामा बक्स अफिसमा हिट हुने चलचित्रमा काम किन गर्दैनन् ?

चलचित्र रिलिजपछि एक म्यागेजिनसँग कुराकानी गर्दै साहरुखले यसको जवाफ दिएका छन् । उनले भनेका छन्–‘म वास्तवमा दोधारमा छु कि, म अरु मानिसले भने जस्तो चलचित्र गरुँ, या आफ्नो मनले भनेको चलचित्रमा काम गरुँ । मैले कहिले पनि यी कुरामा विश्वास गरेको छैन ।’

साहरुखले अगाडि भने–‘पछिल्लो ३० बर्षदेखि म बिहान उठ्छु र आफ्नो काममा निस्कन्छु । मलाई मेरी श्रीमति र बच्चाले तपाइसँग यति धेरै प्रेम र खुशी कसरी आउँछ भनेर सोध्छन् । मलाई लाग्छ, यो पैसा र स्टारडमको लागि हुँदै होइन । तर, मानिसहरु यो कुरा मान्न तयार छैनन् । मानिसहरुमा मैले कस्तो काम गर्नुपर्छ भन्ने बिषयमा आफ्नै एक प्रकारको अड्कल छ । उनीहरु मैले व्यवसायिक सफलता र पैसा कमाउनका लागि काम गर्छु भनेर सोच्छन् । तर, म यसका लागि कहिल्यै काम गर्दिनँ ।’

साहरुखले ‘जीरो’मा निर्वाहा गरेको होचो व्यक्तिको भूमिका आफ्ना लागि विशेष र गाह्रो काम रहेको उल्लेख गरेका छन् । उनले यसका लागि भीएफएक्सको उच्च प्रयोग गर्नुपरेको समेत बताएका छन् । साहरुखले अब ‘सारे जहाँ से अच्छा’ नामक चलचित्रमा काम गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment