Comments Add Comment

पोखरेलीलाई पर्यटनमन्त्रीको सुझाव : बसीबसी पर्यटक आउँछन् भनेर मख्ख नपर्नुस्

९ पुस, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखराले आफूलाई परिवर्तन नगरे ५ वर्षपछि अन्य पर्यटकीय गन्तब्यले पोखरालाई जित्ने चेतावनी दिएका छन् ।

पोखरा पर्यटन परिषदले दिएको पर्यटन सुधारका ८ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले पोखराको ब्राण्ड छ भन्दै चुप लागेर बस्ने हो भने ५ वर्ष भित्रमा अन्य ठाउँले पोखरालाई पछि पार्ने चेतावनी दिएका हुन् । ‘बसी बसी पर्यटक आउँछ भन्दै मख्ख परेर बसिरहे अबको ५ वर्षमा पोखरा पछि पर्छ, अन्य ठाउँले पोखरालाई उछिन्छ’ उनले भने ।

लुम्बिनी, चितवन, रारालगायतका क्षेत्र पर्यटनका हिसाबमा धेरै अघि बढेको भन्दै मन्त्री अधिकारीले पोखरेलीले मेहनत नगरे कर्णालीले पनि उछिन्ने चेतावनी दिए । ‘अब तपाईं पोखरेलीहरु चेञ्ज हुनुस्, बसीबसी पर्यटक आउँछ भन्ने मानसिकताबाट माथि उठ्नुस् र पर्यटनका पूर्वाधार निर्माणलगायतका पर्यटन गतिविधिमा लाग्नुस्’ उनले आग्रह गरे ।

पर्यटक आकर्षित गर्ने तरिका थाहा नभए परामर्शदाता राख्नसमेत उनले आग्रह गरे ।

गाडीमा आउनेलाई पनि पर्यटक मान्नुस्

मन्त्री अधिकारीले गाडी चढेर आउने र आन्तरिक पर्यटकलाई पनि पर्यटन मान्न पोखरेली व्यवसायीलाई आग्रह गरे । ‘यहाँ आन्तरिक पर्यटक त पर्यटक नै होइनजस्तो गर्छन्, तर ती पनि पर्यटक हुन्, तर तिनले पनि खर्च गर्छन्’ उनले भने ।

उनले गाडीमा आउने पर्यटक ठूलो संख्यामा रहेको र यस्ता पर्यटकको १० प्रतिशत ठूला होटलहरुमा खर्च गर्ने तथ्यांक प्रस्तुत गरे । पर्यटकको संख्या गुणात्मक रुपमा बृद्धि हुँदै गएको बताउँदै अब तिनिहरुको बसाई लम्ब्याउने र उनीहरुलाई खर्च गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

मन्त्री अधिकारीले अमेरिकन र युरोपियन पर्यटकलाई आकर्षित गर्न सकेमात्र नेपालमा पर्यटकको संख्या बृद्धि हुने बताए । उनले थपे, ‘जसरी काठमाडौंकाहरु विदेश जाँदा जहाँ जान्छन्, पोखरा, चितवनलगायतकाहरु पनि त्यहीँ जान्छन्, किनभने ब्राण्ड बनिसकेकाहरुको पछिकाले नक्कल गर्ने परम्परा हो, हो त्यसरी नै अमेरिकन र युरोपियन जहाँ जान्छन्, भारतीय, चाइनिज, जापनिजपनि त्यहीँ जान मन पराउँछन्, त्यसैले उनीहरुलाई आकर्षित गर्नका लागि हामीले कोशिस गर्नुपर्छ ।’

पर्यटन बसपार्कको टेण्डर आह्वान हुँदैछ 

मन्त्री अधिकारीले पोखराको पर्यटन बसपार्क अब चाँडै बन्ने बताए । पर्यटन बसपार्क निर्माणका लागि ६ करोड रुपैयाँ छुट्याइएको र त्यो मन्त्रिपरिषद बैठकबाट आफूले पास गराइसकेको उनले जानकारी दिए ।

पर्यटन विभाग मातहत बन्ने सो बसपार्क निर्माणको टेण्डर बुधबारसम्ममा खुल्ने पनि बताए ।

सभाहल बनाउन जग्गा खोज्नुस्

मन्त्री अधिकारीले पोखरामा अन्र्तराष्ट्रिय सभाहल बनाउनका लागि जग्गा खोज्न पोखरेलीलाई आग्रह गरे । अन्तर्राष्ट्रिय सभाहल बनाउनका लागि बजेट रहेको बताउँदै उनले जग्गाका कारण मात्र अड्किएको बताए । पोखरामा एउटा अन्तर्राष्ट्रिय सभाहल र अन्य २÷३ वटा राष्ट्रिय स्तरको सभाहल आवश्यक रहेको बताउँदै उनले भने,‘बजेट छुट्टिसकेको छ, ठाउँ खोज्नुस् ।’

उनले जग्गा खोज्दा कहीँ नभेटिए भेडिफारममा पनि अन्तर्राष्ट्रिय सभाहल बनाउन सकिने बताए । नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्र उपयुक्त ठाउँ भएको बताउँदै मन्त्री अधिकारीले थपे, ‘पोखरा उद्योग वाणिज्य संघले दिएको भए प्रदर्शनी केन्द्रमा पहिल्यै सभाहल बनिसक्थ्यो, तर फेरि पनि अर्को ठाउँमा जग्गा नभेटिए प्रदर्शनी केन्द्रमै बन्छ, यसै वर्ष त्यसको काम शुरु हुन्छ ।’

नेपाल एयरलाइन्सलाई एक वर्षभित्र यसले छाँट लियो भन्ने बनाउँछु

मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई एक वर्षभित्र यसले छाँट लियो भन्ने बनाउने उद्घोष गरे । नेपाल एयरलाइन्सलाई बनाउन आफूले धेरै मेहनत गरिरहेको बताउँदै उनले भने,‘म आत्मविश्वासका साथ भन्न चाहन्छु, एक वर्षमा यसले छाँट लियो भन्ने बनाउँछु ।’

उनले वाइड बडी खरिदमा भ्रष्टाचार भए नभएकोबारे छानबिन भइरहेको बताउँदै यसमा समस्या छ भन्दैमा छाडेर भाग्न नसक्ने स्पष्ट पारे । मन्त्री अधिकारीले भने, ‘समस्या आयो भन्दैमा छाडेर नेपाल एयरलाइन्सलाई डुबाउन सक्दिनँ ।’

वाइड बडीको खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा अगाडि नै भएकाले यसमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले भने, ‘भ्रष्टाचार भएको रहेछ भने कारबाही हुन्छ, भ्रष्टाचार भए बराबरको रकम पनि असुल उपर हुन्छ ।’

फेक रेस्क्यू कन्ट्रोल भइसक्यो

मन्त्री अधिकारीले ट्रेकिङमा फेक रेस्क्यूको समस्या समाधान भइसकेको दाबी गरे । आफू मन्त्री नियुक्त हुँदै गर्दा फेक रेस्क्यूको जगजगी रहेको बताउँदै आफूले त्यो जञ्जाल तोडेर कन्ट्रोलमा ल्याइसकेको उनको दाबी छ । उनले भने, ‘फेक रेस्क्यूको समस्या समाधान भइसकेको छ, अहिले यताउता छैन ।’

मन्त्री अधिकारीले पर्यटनमा सुशासन बलियो हुँदै गएको बताए । साथै उनले पर्यटन बोर्डलाई नचाहिने काममा बजेट खर्च नगर्न निर्देशनसमेत दिए ।

पर्यटकीय क्षेत्रहरु छिट्टै चौविसै घण्टा खुल्छ

मन्त्री अधिकारीले पर्यटकीय केन्द्रहरुमा चौविसै घण्टा खुल्ला गर्ने निर्णय चाँडै कार्यान्वयन हुने बताए । यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी भइरहेको बताउँदै उनले भने, ‘यो अब चाँडै निर्णय हुन्छ र कार्यान्वयनमा आउँछ ।’ काठमाडौंको ठमेल, पोखराको लेकसाइडलगायत पर्यटकीय केन्द्रलाई चौविसै घण्टा खुल्ला गर्नका लागि प्रयास भइरहेको उनको भनाइ थियो ।

उनले त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालन गर्ने निर्णय गरेलगत्तै पर्यटकीय केन्द्रलाई पनि चौविसै घण्टा खुलाउने तयारी गरे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण छलफल हुन नसकेको बताए ।

पोखरा पर्यटन परिषदको ८ बुँदे ज्ञापनपत्र

पोखरा पर्यटन परिषदले ज्ञापनपत्रमार्फत सर्वोच्च अदालतको फैसलालाई आधार बनाइ फेवातालको सीमांकन गर्न माग गरेको छ । उसले फेवातालको मुहान हर्पन खोलासहित ताल वरपर सबै ठाउँमा चेक ड्याम निर्माणका लागि बजेट आए पनि काम नभएकाले बजेट फ्रिज हुन नदिइ यथाशिघ्र काम थालनी गर्न माग गरेको छ ।

परिषदले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को प्रवेश शुल्क विवाद समाधानका लागि विदेशीलाई मल्टीपल प्रवेश आज्ञा र नेपालीलाई निःशुल्क प्रवेश दिने यसअघिको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ । सरकारले टिम्स वापत प्राप्त गर्ने रकम जे उद्देश्यले उठाइएको हो त्यसैका लागि खर्च गर्नुपर्ने र खर्च पारदर्शी हुनुपर्ने परिषदको माग छ ।

परिषदले पोखराबाट सिमरासहित विभिन्न क्षेत्र र भारतका विभिन्न सहरमा सिधा हवाइ सेवा सञ्चालन गर्ने वातावरण बनाइदिन, पर्यटन बसपार्क सुविधा सम्पन्न बनाउन, पोखरा–काठमाडौं, पोखरा–लुम्विनी, पोखरा–भैरहवालगायत भारतीय नाकाहरुसम्म पुग्ने सडकको स्तरोन्नति र पोखरादेखि तराइ जोड्ने फाष्ट ट्रयाक निर्माण गर्न माग गरेको छ ।

परिषदले पर्यटन प्रवद्र्धनका लागि अन्र्तराष्ट्रिय सभा, सम्मेलन गर्नुका साथै पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्नलाई जोड दिएको छ । उसले पर्यटकीय केन्द्र लेकसाइडलाई चौविसै घण्टा खुल्ला गर्ने निर्णय भए पनि विभिन्न अवरोध एवम् सुरक्षाका कारण कार्यान्वयनमा नआएकाले त्यसको वातावरण निर्माणका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment