Comments Add Comment

कराते च्याम्पियनसिपमा २० स्वर्णसहित नेपाल पहिलो

९ पुस, काठमाडौं । भारतको मुम्बईमा पुस ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको टिम काता र कुमेततर्फ गरी २० स्वर्ण र २ रजत जित्दै टिम च्याम्पियन बनेको छ ।

नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले जुनियर खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण जिते । उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सियिरतर्फको कातामा गरी तीन स्वर्ण जितेको प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी गराएका छन् ।

स्वर्ण जित्ने क्रममा सञ्जु देशारले ३५ केजी कुमिते तथा यु–१३ काता गरी दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यु –१४ काता दुवैमा स्वर्ण जिते ।

यस्तै दुई स्वर्ण जित्नेमा अश्मिता राई, रश्मी पाण्डे, बिमला नेपाली र हृषभ राज गिरी रहेका छन् । अश्मिताले ५५ केजी कुमिते र यु –१५, रश्मीले ४५ केजी कुमिते र यु –१६ काता, बिमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा हृषभले यु–१६ ५५ केजी कुमिते र कातामा स्वर्ण जितेका हुन् ।

सूर्य बिक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत जिते । सूर्यले यु–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए । राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुल्ला कातामा रजत पाए ।

यसैगरी सिनियर तर्फ अंकित गुरुङ्गले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण जित्दै नेपाललाई टिम च्याम्पियन बनाउन सफल भएका हुन् ।

नेपाल खेलकुद विज्ञान प्रतिष्ठाने २०७२, ०७३ र ०७४ सालमा केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा स्वर्ण हात पार्ने खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउन पहिलो पटक कराते खेलाडीहरुलाई मुम्बईमा आयोजना भएको प्रतियोगितामा सहभागी गराएको हो ।

नेपाली टोलीले पहिलो सहभागितामानै राम्रो नतिजा ल्याउन सफल भएको नेपाली टोली नेता सानका उपनिर्देशक एवं कराते प्रशिक्षक तुलसी कुमार महर्जनले बताए ।

मुम्बई गएको टोलीमा खेलाडीका अलावा प्रशिक्षकमा रामकृष्ण खड्गी, निर्णायकमा एशियन प्यासिफिक तथा सितेरियो कराते रेफ्री रविन्द्र मानन्धर, रेफ्रि उमेश गुरुङ्ग र सचिन चौलागाई तथा अफिसियलमा विकासविक्रम शाह थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment