Comments Add Comment

युएईमा दुई नेपाली अलपत्र, एजेण्ट भन्छन्–जेसुकै गरून्

युएई । एजेण्टले रोजगारी दिलाइदिने भन्दै भिजिट भिसामा युएई ल्याएका दुईजना नेपाली अलपत्र परेका छन् । तनहुँका होमबहादुर नेपाली र रोल्पाका दिलबहादुर मगर रोजगारी नपाएर अलपत्र परेका हुन् ।

उनीहरुलाई गत कात्तिकमा काठमाडौंका सुवास कार्की र गोरख खत्रीले युएईमा एजेण्ट सरिता महतमार्फत रोजगारी दिलाइ दिने सहमतिमा युएई पठाएका थिए ।

अनलाइनखबरको सम्पर्कमा आएका होमबहादुर र दिलबहादुरले दुई महिना यहाँ रहदाँको पीडा सुनाउँदै भने-यहाँ आएको २० दिनपछि सरिताले कामका लागि लैजानुभयो । बेकरीमा काम गर्नुपर्ने थियो । १४ सय दिहराम तलवसहित खाना बस्न भनिएतापनि एकहजार ४५० सुख्खामा काम गर्नुपर्ने थियो । १२ घण्टा काम भनेको थियो तर १६ घण्टासम्म काम गर्नुपर्ने रहेछ ।

‘एउटै कोठामा २० जना पाकिस्तानीहरुसँग सुत्नु पर्‍यो । त्यहाँ बस्न असहज भएपछि नयाँ कार्पेट किनेर छतमा समेत रात कटाउनु परेको छ । खाना समेत मिठो थिएन । झोलसरिको आलुको तरकारीसँग खबुज (रोटी) खानु पर्थ्यो । दुईतीन दिन त खायौँ तर सकेनौँ,’ होमबहादुरले दुःख सुनाए ।

वेकरीको काममा चित्त नबुझेपछि सरितालाई उनीहरुले अर्को काम लगाइदिन आग्रह गरे । त्यहाँ काम नगर्ने भएपछि कोठासमेत छोड्नु पर्ने भयो । त्यो बीचमा २ दिनसम्म पार्कमा रात कटाएको होमबहादुरले सुनाए ।

राजु गुरुङ नाम गरेका व्यक्तिले पार्कमा सुतेको अवस्थामा भेटेपछि मुसाफाको एक कम्पनीमा एसी फिटिङस्को काममा लगाइदिए ।

हाल काम गर्दै  आएको कम्पनीले आइतबार साँझ १ महिना १४ दिनसम्म काम गरेकाे तलब दिएर अब काममा नजान भनेकाे छ। ‘छुट्टी गएकाहरु साेमबार आउँदैछन् ।  अब तिमीहरु यहाँबाट जान सक्छाैँ,’ कम्पनीबाट खबर आएकाे हाेमबहादुरले जानकारी गराए।

अब त्यस कम्पनीमा भिसानलाग्ने र काम छाेड्न पर्ने भएकाे छ।

एजेण्ट भन्छन्-जेसुकै गरुन्, म हैरान भएँ

अनलाइनखबरसँगको कुराकानीमा सरिता महतले उनीहरुलाई कामको लागि ल्याएको स्वीकार गर्दै १ हजार डलर लिएको बताएकी छिन् । ‘उनीहरुलाई एयरपोर्टमा मैले रिसिभ गरेको हो । १ हजार डरल लिएको पनि हो । उनीहरुलाई काम पनि लगाइदिएको हुँ । तर बिचैमा काम छोडेे ।’ उनले भनिन् ।

यता सम्झौता अनुसारको काम र सुविधा नभएपछि आफूहरुले उक्त काम नगर्ने बताएको होमबहादुरले बताए ।

अहिले होमबहादुर र दिलबहादुर मुसाफामा बस्दै आएका छन् । त्यहाँ डेढ महिनादेखि काम गर्दै आएको तर काम गरिरहेको कम्पनीले भिसा नलगाएको र हालसम्म कुनै तलव सुविधा नदिएको उनीहरुले सुनाए । भिसा सकिन १५ दिन मात्र बाँकी रहेकाले अब उनीहरु नेपाल र्फकन खोजिरहेका छन् ।

होमबहादुर र दिलबहादुरले दूतावासमा दिएको निवेदन ।

पूर्व सम्झौता अनुसारको काम नभएपछि नेपाल फर्काइदिन सरितालाई जानकारी गराएको उनले बताए । तर, सरिताले यहीँ काम गर्ने भए अझैपनि काम खोजिदिने तर नेपाल फर्काउन सहयोग नगर्ने बताउँदै आएकी छिन् ।

डेढ महिनादेखि उनीहरु आफ्नो सम्पर्कमा नहरेको जनाउँदै अब नेपाल फर्काउन आफ्नो कुनै आधार नरहेको सरिताको तर्क छ । तर, होमबहादुर यो कुरा स्वीकार गर्दैनन् । ‘सरिताले भने अनुसारको काममा लगाउन सक्नुभएन । हामीलाई अल्लार्ने काम मात्र भयो । अब उहाँले हामीलाई काममा लगाउनु हुन्छ भन्ने विश्वास छैन । हामी घर जाने हो । पाउनु पर्ने हाम्रो रकम फिर्ता दिन पर्छ,’ उनले भने ।

यता सरिताले भने ४८ सय दिहराम उल्टै आफ्नो खर्च भएको हिसाब देखाएकी छन् ।

दिवाकर कोइराला नाम गरेको व्यक्तिलाई ३५ सय दिहराम दिएर पठाएको उनले बताइन् । भाइहरुलाई काममा लगाइदिन्छु भनेपछि आफूले कमिशनको पैसा दिएर उनको साथमा पठाएको सरिताको भनाइ छ ।

पैसा फिर्ता गर्ने सन्दर्भमा भनेे दिवाकर आफ्नो सम्पर्कमा नरहेको र पैसा उठाइदिन उल्टै पत्रकारसँग आग्रह गरिन् । ‘दिवाकरले मेरो नम्बर ब्लक गरेको छ । तपाईले सम्पर्क गरेर पैसा मागिदिनुस् न,’ उनले भनिन् ।

दूतावास भन्छ- समस्या समाधान नगरे तस्करको सूचिमा राख्छौं

सरितासँगको निरन्तरको संवादमा कुरा नमिलेपछि उनीहरुले दूतावासमा निवेदन दिएका छन् ।

‘नेपालबाट भिजिटमा पठाएर यहाँ भनेअनुसारको काम लगाउन नसकेको र पैसा फिर्ता नगरेकाले पैसा फिर्ता गराइदिन दूतावास समक्ष अनुरोध गर्दछौ’ निवेदनमा उल्लेख छ ।

निवेदन उपर छानबिन गर्दै दूतावासले एजेण्टसँग सम्पर्क गरेको भएतापनि एजेण्ट हालसम्म सम्पर्कमा नआएको दूतावासका श्रम सहचारी मोतीराम भुषालले बताए ।

दूतावाससँग समन्वय गरेर पीडितको समस्या समाधानमा एजेण्ट सहमत नभए दूतावासले आफ्नो प्रकृयाले काम गर्ने उनले बताए ।

दूतावासको प्रकृया अन्तरगत मानव तस्करको सूचिमा राखेर परराष्ट्रमा जानकारी गराउने भुषालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment