Comments Add Comment

विमानस्थलमा प्रचण्ड र शेखरको जुहारी- हिन्दुको कुरा किन ? एसिया समिट किन ?

९ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलमा सोमबार नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालावीच जम्काभेट भयो । जम्काभेटमात्रै भएन, धर्मका बारेमा केहीबेर ‘वैचारिक संघर्ष’ नै चल्यो ।

नेकपा अध्यक्ष प्रचण्ड चितवन जाने क्रममा विमानस्थलको भीआइपी कक्षमा पुगेका थिए । डा. कोइरालाचाहिँ गृहनगर बिराटनगर हिँडेका थिए ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा दिल्लीदेखि नै प्रचण्डसँग छलफलमा सहभागी डा. शेखर कोइराला र जनयुद्धका कमाण्डर प्रचण्डवीचको व्यक्तिगत सम्बन्ध नराम्रो छैन । र, यही कारण उनीहरु त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा केहीबेर गफिए ।

‘तपाईहरुले पार्टीको महासमिति बैठकमा हिन्दु राष्ट्रको बहस किन ल्याइराख्या ?’ प्रचण्डले डा. कोइरालामाथि प्रश्न तेस्र्याए ।

नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस सुरु भएकोमा प्रचण्ड खुशी छैनन् । संविधानले नै नेपाललाई धर्म निरपेक्ष घोषणा गरिसकेको अवस्थामा कांग्रेस पश्चगमनतिर जान खोजेको प्रचण्डले सार्वजनिक मञ्चबाटै बताउँदै आएका छन् । र, उनले सोमबार यही प्रश्न डा. शेखर कोइरालाका अगाडि पनि तेस्र्याए । हिन्दु राष्ट्रको बहसले राजावादीलाई फाइदा पुग्ने प्रचण्डले तर्क गर्दै आएका छन् ।

कांग्रेस नेता डा. कोइरालाले चाहिँ प्रचण्डको प्रश्नको जवाफमा हालै सम्पन्न एशिया प्यासिफिक समिटको प्रशंग कोट्याए । उनले प्रचण्डलाई प्रतिप्रश्न गरे- ‘तपाईहरुले चाहिँ सरकारसमेत लागेर एशिया प्यासिफिक समिट किन ल्याएको नि ? प्रधानमन्त्री केपी ओली सोल्टी होटलमा किन बास बस्दै गएको ?’

नेकपा अध्यक्ष प्रचण्डले डा. कोइरालाको प्रश्नको सामना गर्न सकेनन् । किनभने एशिया प्यासिफिक समिटमा सरकारको सहभागितालाई लिएर प्रचण्ड पनि सन्तुष्ट छैनन् । यही कारण उनी समिटका बेला दाँत दुख्यो भन्दै मेडिसिटी हस्पिटल गएका थिए ।

कांग्रेस नेता डा. कोइरालाले प्यासिफिक समिटको प्रश्न सोधेपछि प्रचण्डले यो सम्मेलनलाई पार्टीमा दुईजना बाहेक अरु कसैले सपोर्ट नगरेको प्रतिक्रिया दिए । प्रचण्डले ‘दुईजना’ भनेर ओली र माधव नेपाललाई संकेत गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment