Comments Add Comment

आईजीपीको पत्रकार सम्मेलनः समाचारको खण्डन र मिडियाकर्मीको आलोचना

९ पुस, काठमाडौं । एकपछि अर्को प्रकरणमा प्रहरी आलोचित भइरहँदा सञ्चार माध्यमले उठान गरेको विषयलाई लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आक्रोश व्यक्त गरेका छन् । आईजीपी भएपछि दोस्रोपटक सोमबार केन्द्रीय प्रहरी कार्यालय, नक्सालमा पत्रकार सम्मेलन गरेका उनले अधिकांश समय आफ्नाबारे आएको समाचारको खण्डन र आलोचनामा खर्चिए ।

आरम्भमै प्रहरी मुख्यालयले प्रवक्तामार्फत सूचना प्रवाह गर्ने गरेकाले सञ्चारकर्मीसँग दूरी बढेको जनाउँदै महानिरीक्षक खनालले आफ्ना कार्यकालमा भएका गतिविधिको फेहरिस्त प्रस्तुत गरे ।

पावर पोइन्ट प्रेजेन्टेसनसहित भएको करिब ४० मिनेटको प्रस्तुतिका क्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कार्यक्रममा सुरक्षा प्रदान गरिएकोदेखि संरचनागत कार्यहरुबारे जानकारी दिए ।

त्यसक्रममा सञ्चारमाध्यममा आएका विषयप्रति जवाफ दिँदै पनि गए । कतिपय प्रसंगमा उनले ‘विस्तृतमा केहीवेरमा कुरा गर्ने’ बताउँदै अघि बढ्थे भने कतिपय विषयको जवाफ पोखिहाल्थे ।

‘कहिले हात लाग्यो शून्य कहिले के… !’

अन्तरक्रिया खण्डमा भने उनी पत्रकारमाथि खुलेरै खनिए । निर्मला हत्या प्रकरणबारे राखिएको जिज्ञासाको जवाफ दिने क्रममा सुरुवात्मै उनले पत्रकारलाई व्यंग्य गर्दै भने, ‘हामीले भन्दा बढी तपाईंहरुले बुझिसक्नु भएको छ ।’

उनले थुप्रै पत्रकारहरुको ‘इन्भेस्टिगेटिभ जर्नलिज्म’ हेरिरहेको उल्लेख गर्दै भने, ‘तपाईंहरुले पनि आ-आफ्नो प्रयत्नका साथ गरिरहनु भएको छ ।’

‘कतिपय फिल्डमा पनि जानु भएको छ । नगएकालाई भन्नुस्’, उनले भने, ‘क्राइमको सेक्टरमा बसेर काम गरिरहेका पत्रकारले के सूचना दिने, के नदिने बुझेको हुन्छ । निर्मलाको हकमा यत्ति भन्छु, नेपाल प्रहरीले आफ्नो एक्सपटिजको उच्चतम् सदुपयोग गरेर काम गरिरहेको छ ।’

‘तपाईंहरु कहिले अनुसन्धान शुन्य भन्नुहुन्छ । कहिले हात लाग्यो शुन्य पनि भन्नुहुन्छ कहिले के…’, खनालले असन्तुष्टि व्यक्त गर्दै भने, ‘शून्य कसरी भनौं ? अनुसन्धानको विषयमा तपाईंहरुको जस्तै हाम्रो पनि एंगल हुन्छ । त्यसबाट भयो भने शतप्रतिशत हुन्छ । नत्र हुँदैन ।’

‘बुलेटप्रुफ गाडी सोख होइन, आवश्यकता’

प्रहरीका ८ सय ५० कार्यालय शौचालयविहीन रहँदा आईजीपीलाई सवा दुई करोडको बुलेटप्रुफ नयाँ गाडी ल्याइएको विषयमा खनालले त्यो सोख नभई आवश्यकता भएको उल्लेख गर्दै आफ्नो बचाउ गरे ।

‘हिजो प्रदेशमा बसेका एआईजीले चढेका गाडीहरु अहिले डीआईजीले चढिरहेका छन्, यसमा मेरो नै आउनु पर्ने ? योप्रति मलाई दुःख लाग्छ’, उनले भने, ‘व्यक्तिगत कुरामा नगए हुन्थ्यो । गाडी मैले काहीँ लुकाएर चढ्नुपर्ने नै होइन ।’

‘१२ वर्षसम्म एउटा गाडी रहेछ । एकठाउँमा ठोक्किएर आएपछि प्रदेश ५ को गाडी झिकाएर चढिरहेको थिएँ’, खनालले भने, ‘त्यसैले जनताको सेवा गर्न, तपाईंहरुले भनेको सूचनालाई भेरिफाई गर्न जान नयाँ गाडी ल्याइएको हो । यो मेरो सोख नभइ आवश्यकताको आधारमा मन्त्रालयस्तरबाट निर्णय भएर आएको हो ।’

उनले महानिरीक्षकले धेरै गाडी चढेर हिँड्नु पर्ने अवस्था केही नभएको बताउँदै भने, ‘मैले यहाँबाट गएर अर्को गाडी चढ्नु नै पर्छ, यो आवश्यकता अनुरुप भएको निर्णय हो । कतिपय गोप्य अपरेशनका लागि प्राइभेट नम्बरको प्लेट राखिने हुँदा गाडी नम्बरहरु ‘एक्सपोज’ भएको भन्दै उनले गुनासो पनि व्यक्त गरे ।

‘माग्ने जस्तो… जहिले पनि गाडी भएन भनेर बस्ने ?’, उनले भने, ‘के माग्ने मात्रै हो ? आफ्नो पनि गर्ने समुचित प्रयोग गरौं भनेर पुराना गाडीलाई पनि मर्मत सम्भार गरेर चलाउने काम भइरहेको छ । अस्तिमात्रै एउटा गाडी ६ लाख खर्चेर बनाएँ ।’

सचिवालयमा धेरै अधिकारीहरु थुपारिएको विषयप्रति उनले भने, ‘अहिले १६ जना एआईजीबाट घटेर ३ जना छन् । त्यसैले दुई/दुई वटा विभाग एउटा एआईजीले हेर्नु पर्ने अवस्था छ । त्यसले संख्या धेरै हुन गएको हो ।’

‘१६ करोडको बिल्डिङ मैले बस्नलाई बनाएको होइन’

प्रहरी प्रधान कार्यालयमा १६ करोडको हल बनाउन लागिएको विषयलाई लिएर शौचालयसँग जोडिएको विषयप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।

यो पनि पढ्नुहोस निर्मला काण्ड : हतारमा नतिजा खोज्दा कमजोरी भएको आईजीपी खनालद्वारा स्वीकार

‘१६ करोडको विल्डिङ मैले बस्नलाई बनाएको होइन । भोलि तपाईंहरुको गतिविधि गर्नलाई पनि त्यो विल्डिङ काम लाग्छ’, उनले भने, ‘०१२ सालदेखि प्रहरीको यही एउटा हल छ । कुनै ठूलो कार्यक्रम गर्नुपर्‍यो भने मान्छे अट्ने ठाउँ छैन । अन्तरराष्ट्रिय इभेन्ट गर्नुपर्‍यो भने के गर्ने ? त्यसका लागि नयाँ हल बनाउन लागिएको हो ।’

‘तपाईंको प्रहरी राम्रो देखाउन लागेको हो मैले । तपाईं भोलि विदेश जाँदा मेरो प्रहरी यस्तो छ भन्नेका लागि गरेको हो’, खनालले सञ्चार माध्यममा आएका विषयहरुप्रति खण्डन गर्दै भने, ‘सायद त्यो हल बन्दा मैले उपयोग गर्न पाउँदिन होला । त्यस्तै हल त भृकुटीमण्डपमा पनि बनाउने काम भएको छ ।’

उनले अगाडि भने, ‘प्रदेश नं. २ मा त ८५ विगाहा जमिनमा बनेको तालिम केन्द्र उत्कृष्ट हुँदैछ । गर्व गर्ने ठाउँ हुँदैछ ।’

‘नीतिगत कुरा ५ महिनामै बिग्रेको हो ?’

उनले प्रहरी अधिकारीको वृत्ति विकासदेखि लिएर नीतिगत विषयप्रति भइरहेको आलोचनालाई लिएर आक्रोश व्यक्त गर्दै भने, ‘५ महिनामा सबै कुराहरु विगारेको त होइन होला !’ प्रहरी एकेडेमी सार्ने विषयदेखि प्रहरी अध्यादेशमा प्रहरी अधिकारीहरुको असन्तुष्टिको विषयलाई लिएर उनले त्यो आक्रोश व्यक्त गरेका हुन् ।

‘वृत्ति विकासदेखि नीतिगत निर्णय गर्ने सबै कुरामा प्रहरी महानिरीक्षकदेखि सबैको संलग्नता भइरहेको छ’, उनले भने, ‘संघीय ऐन बनाउने कुरामा ३/४ वर्षदेखि म आफैं पनि संलग्न छु । कमिटीहरु बनेका छन् ।’

उनले विभिन्न कमिटीहरुको सुझाव अनुरुप अहिले ऐन लागू हुने चरणमा रहेको उल्लेख गरे । ‘योभन्दा अगाडि विगतका नेतृत्व तहले काम गरेर बुझाएका प्रतिवेदन छन्, त्यसलाई पनि रिभ्यू गरेर बुझाएका छौं’, उनले भने ।

‘म पनि त्यही तह पार गरेर आएँ, को कस्तो थाहा छ’

प्रहरी अधिकारीहरुको बढुवा र पदस्थापनमा पटक पटक कमजोरी भएको विषय आउने गरेको उल्लेख गर्दै उनले ‘यसो भयो कि त्यसो भयो’ भनेर लेखी राख्नु आवश्यक नभएको टिप्पणी गरे ।

‘मलाई लाग्छ म पनि यही तह पार गरेर आएको हुँ’, महानिरीक्षक खनालले भने, ‘संगठनभित्रको प्रहरी कर्मचारीको विषयवस्तु नेतृत्वलाई थाहा हुन्छ । त्यसैले यहाँ यसो भयो कि भनेर भनि राख्नु आवश्यक छैन ।’

‘डीआईजीदेखि सबै दर्जाका सन्तुष्ट हुँदा ठीक छ, राम्रो काम हुँदा ठीक छ’, खनालले सरुवाको विषयमा प्रस्टिकरण दिए, ‘एउटाले नगर्दा अर्कोले काम गर्नुपर्छ भनेर नराम्रो काम हुँदा एक वर्ष नपुगेपछि फिर्ता तानेका छौं । र, त्यहाँ अर्को काम गर्ने मान्छे पठाएका छौं ।’

नेतृत्व विकासको हकमा जो डीआईजीहरु नेतृत्वमा जानु पर्ने हो, उनीहरुलाई ठीक ठाउँमा पठाइएको तर्क गरे । ‘नेतृत्वमा जानेहरुलाई प्रदेश र महानगरको जिम्मा लगाइएको छ’, उनले भने, ‘उनीहरुले आफूलाई त्यहाँ प्रमाणित पनि गर्नुपर्ने छ ।’

नेतृत्वमा जाने बाँकी अधिकारहिरुको अवसर अझै आउने उनले जनाए ।

३० वर्षेको कुरा

उनले हरेक पटक महानिरीक्षक परिवर्तन हुँदै पिच्छे ३० वर्षे सेवा अवधिको कुरा बहसमा आउने उल्लेख गर्दै भने, ‘त्यो विषयप्रति बोल्न नजाउँ । त्यसमा मेरो केही पनि भन्नु छैन ।’ ‘राम्रोसँग काम गरेर जान सकुँ । सबैले प्रहरी महानिरीक्षक सर्वेन्द्रले पनि राम्रो गरेको थियो भनेर भोलिको दिनमा भनोस् भनेर म लालायित छु’, उनले भने, ‘अरु केही पनि छैन ।’

पत्रकारहरुको कतिपय प्रश्नमा उनले कतिपय थाहा भएकै विषयमा पनि आफ्नो मुखबाट व्यक्त गर्न नलगाउन सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment