Comments Add Comment

ईंटाभट्टामा पाकिरहेको जिन्दगी

१० पुस, काठमाडौं । उनी यतिबेला कुनै विद्यालयको कक्षा कोठामा पाठ घोक्दै हुनुपर्ने हो । नभए घरैमा आमासित लाडिएर बसिरहनुपर्ने हो । तर, आठ वर्षका साजनलाई त्यस्तो अवसर कहाँ ? न त उनकी आमालाई नै छोराछोरी खेलाएर बस्ने फुर्सद छ ।

करिब ३५ वर्षीय मायालाई नित्य एउटै चिन्ता हुन्छ, ‘दुई छोराछोरीलाई दुई छाक पेट भरिने गरी कसरी खुवाउने ?’

त्यही चिन्ताले गर्दा १५ वर्षदेखि मायाको दैनिकी फर्पिङको ईंटाभट्टामा बितिरहेको छ । ईंटा चाङ लगाएर बनाएको टहरोमा रात बिताउने उनी दिनभरी परिश्रम गर्छिन् । न त बच्चा भोकले रुनेवित्तिकै दूध चुसाउने समय छ न त लिटोपिठोमा ध्यान दिने फुर्सद नै ।

मायाको जस्तै छ ईंटाभट्टाका अन्य आमाहरुको कथा पनि । ईंटा उद्योगमा घोटिएका आमाहरुले त्यहाँ उड्ने धुलोसँगै सन्तानको भाग्य धुमिल बन्दै गएको बुझ्न पाएका छैनन् ।

अलि ठूला भएका छोराछोरीले काममा सघाउँछन् । सानाहरु त्यही धुलोमा खेलेर दिन कटाउँछन् । आमाले आफूलाई हेर्ने समय पर्खेर दिनभर ज्ञानी बनिदिन्छन् ।

हुन त उनीहरु विद्यालय भर्ना भएका पनि हुन् । तर, वर्षमा ६ महिनामा विद्यालय जान पाउँछन् । बाँकी ६ महिना भने आमासँगै लतारिनुपर्छ उनीहरुले ।

सर्लाहीकी माया हुन् या रोल्पाकी संगीता, ईंटा भट्टामा उनीहरुको भोगाइ फरक छैन । दैनिकी फरक छैन । काम गर्दाको मेहनत र दुःख फरक छैन ।

औद्योगिक क्षेत्रलाई बालश्रममुक्त गर्ने र बालबालिकालाई आधारभूत शिक्षा दिने घोषणा, भाषण, नारा या चर्का कुरा सुनिएकै छ । नेताहरु अभिभावक बनेर बालबालिकालाई विद्यालयमा भर्ना गरेका खबरहरु पनि आएकै छन् । यी आमाहरुलाई भने ती विषयसँग सरोकार छैन । सामान्य रोग लाग्दा उपचार गर्न सकियोस् र बिहान बेलुकाको छाक टार्न पाइयोस् । उनीहरुको सपना र मेहनतको कथा यत्ति त हो ।

ईंटा बराबर पैसा

कडा मेहनत र कला भरे जस्तो आकर्षक परिणाम । जसका हातले बनाएका ईंटाले पूरा भएका छन्, हजारौँका सपना । त्यसबाटै चलेको छ उनीहरुको दुई छाक ।

यो उनीहरुको आम्दानीको बेला हो । वर्षभरि बाँच्न पुग्ने गरी पसिना बगाउने समय हो । अहिले काममा जोतिन नसके उनीहरुको बाँकी समय पनि खेर जान्छ ।

‘यसरी नै ईंटा बनाउने समयमा काठमाडौं आउने र काम गर्ने, काम नभएका बेला घर जाने गरेको १५ वर्ष भयो । यही पेशाबाट जेनतेन गुजारा चलिरहेको छ,’ मायाले भनिन्, ‘यहाँ जति काम उति नै पैसा हुन्छ । जस्तो, दिनमा एक हजार ईंटा बोक्यो भने एक हजार रुपैयाँ नै आउँछ, ईंटा बनाउँदा पनि त्यही नै हो ।’

यसरी ईंटा बराबरको पैसा पाउन थालेको पनि धेरै भएको छैन । अहिले उनलाई मेहनतको फल पाएकोजस्तो लाग्छ । भन्छिन्, ‘पहिले त यस्तो थिएन, एक हजार ईंटा बोक्दा दुई सय रुपैयाँ मात्र आउथ्यो । तीन वर्ष भयो यसरी बढेको ।

उनी महिनामा १५ हजारको हाराहारीमा कमाउँछिन् ।

बच्चाहरुलाई देखाउँदै उनले भनिन्, ‘यस्ता भल्ट्याङभुल्टुङ बोकेर आएका छौँ । अब यिनीहरुकै लागि पनि गर्नै पर्‍यो ।’

रोल्पादेखि फर्पिङ

ईंटा भट्टासम्म काम गर्न आउने मजदुरहरु धेरैजसो आफै काम खोज्दै आएका होइनन् । ईंटा उद्योगका मालिकसँग सम्झौता गरेर गएका नाइकेले उनीहरुलाई ल्याउँछन् ।

दशैँअघि नै दुईदेखि तीन लाख रुपैयाँ पेश्की लिएर गएका नाइकेले उनीहरुलाई पनि दशैँ मान्ने खर्च दिएका थिए । त्यो बेला लिएको खर्च पूरा गर्न र थप आम्दानी गर्न नाइकेले बोलाएको ठाउँमा उनीहरु काम गर्न आएका छन् ।

‘तीन वर्ष भयो ईंटाभट्टामा काम गर्न थालेको । के गर्नु टाढा भनेर भएन । हाम्रोतिर ईंटाभट्टा छैन । योभन्दा पहिले भक्तपुरमा काम गर्थें । अहिले यहाँ फर्पिङमा छु,’ रोल्पाका नुमबहादुर पुनले भने ।

उनलाई नाइकेले नै ल्याएका हुन् । दशैँको लागि खर्च पठाइदिएका थिए । चाड मानेपछि उनीहरु यहाँ काममा आउँछन् । घर जाने बेला पनि नाइट बस यहीँ आउँछ ।

हाँसोले भुलाएको थकान

नुमबहादुर जस्तै कामदारहरु नेपालका महोत्तरी, सिन्धुली, सर्लाही, रोल्पा, काभ्रेलगायत जिल्लाका साथै भारतबाट समेत आएका छन् । उनीहरु आफ्नो सीपअनुसार फरक-फरक काममा छन् ।

कोही माटो मुछिरहेका, कोही काठको साँचोमा माटो कसेर ईंटा बनाइरहेका, कोही ईंटा बोकिरहेका, कोही भट्टीमा पोल्न ईंटाको चाङ मिलाइरहेका हुन्छन् । एउटै भट्टामा हुने पाँच सयभन्दा बढी कामदारहरु मेसिन जसरी नै अनवरत आफ्नोे भूमिकामा लागिरहेका छन् ।

पहिलेभन्दा फेरिएको छ अहिले उनीहरुको काम गर्ने शैली । झिँझो मानेर एकोहोरो काम गरिरहन परेको छैन । स्मार्टफोनमा गीत बजाउँदै, एकअर्कासँग रमाइलो कुराकानी गर्दै, हाँस्दै आफ्नो थकाइ बिर्साएका छन् ।

हप्तामा एक दिन बिदा हुन्छ । त्यो दिनलाई उनीहरु ‘हप्ता’ भन्छन् । पालो लगाएर हप्ता मिलाइएको हुन्छ । हप्तामा उनीहरु नुहाइधुवाइ गर्ने र हप्ताभरलाई पुग्ने सरसामान किनेर ल्याउने गर्छन् । त्यही दिनको फुर्सदमा उनीहरु पानीपुरीदेखि माछामासु खाने फुर्सद मिलाउँछन् ।

‘आज पनि यिनीहरुमध्ये केहीको हप्ता छ । सरसमान लिन बजार गएका छन् । एक हप्तासम्म पुग्ने गरी दाल, चामल, नुनलगायत सबै सामान ल्याएर राख्छन् र त्यही खान्छन्,’ ईंटाभट्टामा भेटिएका एक उद्योगीले सुनाए ।

हराउन नहुने कागज

ईंटाभट्टामा दिउँसो मात्रै काम गरेर साध्य नै चल्दैन । यी चिसा रातहरुमा पनि उनीहरुमध्ये केही काममै  खटिएका हुन्छन् । बाहिरको शितमा बसेर फलामे साँचोमा ईंटा बनाइरहेका हुन्छन् ।

रातिको सिफ्टमा काम गर्नेहरु दिनभरी सुत्छन् । राति ११ बजे उठेर बिहान उज्यालो हुने बेलासम्म काम गर्छन् । मुछेको माटो गाडामा हालेर ल्याउँछन्, र ईंटा छाप्ने साँचोमा छाप्छन् । साँचोमा माटो हालेपछि तारले काट्ने र घोप्ट्याउने गरिन्छ । त्यसरी बनाएको ईंटा बिहान उज्यालोमा अरुले बोकेर भट्टासम्म लैजान्छन् ।

ईंटा बोकिरहेका उनीहरुको सबैको हातमा एउटा कागज छ । एक खेप ईंटा लगेपछि उनीहरुको कागजमा एक छाप लाग्छ । त्यसरी नै दिनभरि कति काम गरे भन्ने निर्क्यौल त्यही कागजको छापले गर्छ ।

यदि त्यो कागज हरायो भने ? निन्याउरो अनुहार बनाएर उनीहरु भन्छन्, ‘कागज हरायो भने पैसा हरायो । यसलाई सम्हालेर राख्नुपर्छ ।’

‘प्रत्येकको आफ्नोे-आफ्नो रेट हुन्छ । एक खेप लगेपछि कागजमा एक-पटक छाप लाग्छ । पहिलोपटक जति वटा ईंटा लगेको हो हरेकपटक त्यति नै ईंटा लैजाउनुपर्छ’ हरेकको कागजमा छाप लगाइरहेका सुपरभाइजरले सुनाए ।

अलि ठूला बच्चाहरुले पनि १८ वटा ईंटा बोक्ने उनले जानकारी दिए ।

‘यिनीहरुलाई होलो काम दिएको हो । सक्ने काम गर्छन् र पैसा पनि कमाउँछन्,’ बच्चालाई काम दिएर गुन लगाएको भावमा सुपरभाइजरले सुनाए ।

उद्योगीका गुनासा आफ्नै

ईंटाभट्टाले वातावरण प्रदुषण गराएको, बच्चाहरुको श्रम शोषण गरेको जस्ता कुराहरु बारम्बार उठ्ने गरेका छन् । तर, ईंटा उद्योगीहरुका आफ्नै गुनासो छन् । आफूहरुले यति धेरैलाई रोजगारी दिएको कुरालाई भुलिदिन नहुने उनीहरुको आग्रह छ ।

‘पहिले प्राकृतिक रुपमा चिम्नीले नै धुँवा तान्थ्यो । अहिले यसमा फोर्स डाफ्ट जडान गरेर वातावरण बचाउने गरी काम गरेका छौँ । यसले कोइला पनि कम खान्छ र वातावरण प्रदुषण कम गर्न पनि सहयोग गर्छ । समयअनुसार हरेक कुरा फेरिँदै गएको छ’ एक उद्योगीले भने ।

कामदारको श्रमशोषणका बारेमा उनको प्रष्टिकरण छ, ‘कामदारबारे हामीलाई धेरै थाहा पनि हुँदैन । ठेकेदारलाई ठेक्का दिएका हुन्छौँ । उसैले कामदार ल्याउँछ । फायर जोनमा बस्ने सबै भारतबाट आएकै कामदार छन् भने अरु कामदार नेपालकै हुन्छन् । हामीले ठेकदारसँग नै कुरा गर्छौं । ठेकेदारले जो ल्याउँछ काममा उही नै हुन्छ ।’

३९ वर्षमा देखिएको परिवर्तन 

कृष्ण व्यञ्जनकार ८० वर्षका भए । ३९ वर्षदेखि ईंटा भट्टा चलाइरहेका उनले धेरै परिवर्तन अनुभव गरेका छन् ।

‘मैले ३६ सालदेखि ईंटाको काम गरिहेको छु । त्यो बेला ४० हजारमा सबै कुरा पुग्थ्यो । अहिले त ५ करोड पेश्की दिन मात्र लाग्छ । अझ कति त खाएर भागिदिने पनि हुन्छन् । पेश्की लिएर विदेश गइदिन्छन्’ उनले भने, ‘पोहोर जेठमा नाइकेलाई पेश्की दिएर पठाएको थिएँ, अहिले बल्ल कामदार काममा आएका छन् ।’

अहिले डेढ सय रोपनी जग्गा भाडामा लिएर काम गरिरहेका उनले असारमा भने त्यही जग्गा खेत रोप्नेलाई छाडिदिन्छन् । पुसदेखि फेरि ईंटाको काम सुरु हुन्छ ।

भट्टामा काम गरिरहेका कामदारहरुलाई बेला-बेला एक/एक पाउ मासु बाँडिदिन्छन् । कामदारहरु पनि बुढा साहुदेखि खुशी छन् । चौरासी गर्दा कानमा लगाएको मुन्द्रा देखाउँदै गिज्याउँछन् । उनी पनि उसै गरी हाँसिदिन्छन् ।

‘सुरुमा ठेक्कापट्टा गर्थें । अहिले जस्तो जमाना होइन । मटारमा ध्रुव भन्ने ईंटा भट्टामा पैसा फसेपछि आफैले गर्न थालेँ । पहिले बालकुमारी, त्यहाँबाट गठ्ठाघर, त्यसपछि भातेढिकुरा गर्दै धेरैतिर सरेँ,’ उनले भने ।

उनी थप्छन्, ‘पहिले जस्तो समय छैन । कामदारलाई केही भन्न हुन्न । केही भन्यो भने काम छाडेर हिँडिदिन्छन् । काम गर्ने मान्छे नै पाइँदैन । अझ चन्दा माग्न आउने उत्तिकै हुन्छन् । पैसा भन्या यसै उम्रेको जस्तो सोच्छन् ।’

कृष्णले भनेजस्तै धेरै कुरा फेरिएको छ । काम जान्नेहरु ५० हजार रुपैयाँसम्म खाने भएका छन् । तर, सामान्य मजदुरको अवस्था भने अझै राम्रो हुन सकेको छैन । सन्तानलाई धुलोदेखि पर राख्नुपर्छ, आफूले काम गर्न आउँदा पनि उनीहरुको पढाइ बिग्रनु हुँदैन भन्ने चेतना देखिँदैन ।

सबैतिर यस्तै हो त ? होइन । फरक अभ्यास हुने ईंटा उद्योगहरु पनि छन् ।

चीनले सिकाएको तरिका

०३४ सालमा चीनले बनाएर नेपाल सरकारलाई हस्तान्तरण गरेको भक्तपुर ईंटा टायल कारखाना ०६० सालपछि नीजी क्षेत्रलाई बेचियो । त्यसपछि आरआरपी समूहले भक्तपुर ईंटा टायल उद्योगका नाममा सञ्चालन गरिरहेको छ ।

‘०६० सालमा यहाँको मेसिनरी र सबै सामान सरकारले आरआरपी समूहलाई बेचेको हो । त्यसैले यहाँबाट निस्केको ईंटालाई चाइनिज ईंटा भन्छन्,’ गएको १३ वर्षदेखि यहीँ काम गरिरहेका मेकानिकल इञ्जिनियर बाबुराजा रञ्जितकारले सुनाए ।

अरु ईंटा उद्योगमा जस्तो यहाँ बाल मजदुरहरु देखिँदैनन् । काठको बाकसमा हातले माटो कसेर ईंटा बनाउनुपर्ने दुःख पनि छैन । दुर्घटना र सामान्य स्वास्थ्य उपचारका लागि उद्योगभित्रै स्वास्थ्य केन्द्र छ । कामदारलाई उपदान र काम नभएको समयमा ६० प्रतिशत तलब दिने व्यवस्था छ ।

‘अरुभन्दा फरक ईंटा बन्नुको कारण पनि यहाँको मेसिन नै हो । चीनले दिएर गएको भन्दा अर्को एउटा मेसिन पनि हामीले नेपालमा नै बनाएर काम गरिरहेका छौँ’ इञ्जिनियर रञ्जितकारले भने ।

मान्छेले हातले नै गर्ने काम अहिले मेसिनले गरेको छ । मेसिन एक फन्को घुम्दा ४२ वटा ईंटा निस्कन्छ । जुन हातैले गर्ने हो भने घण्टौँ लाग्छ ।

‘मेसिनको ४५ लाख जति पर्छ । माटो हालिदिएपछि मेसिनले नै पानी हालेर मुछ्ने काम पनि गर्छ । यसले उत्पादन पनि बढ्छ । काठको बक्समा छापेर बनाउँदा मान्छेहरुलाई बस्ने व्यवस्था पनि गरिदिनुपर्छ । अहिले त्यो सबै झन्झट यहाँ छैन,’ उनले भने, ‘बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म काम हुन्छ । सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र ललितपुरका कामदार छन् । पानी पर्ने बेला तीन महिनाजति काम हुँदैन ।’

सबैतिर यस्तै हुन सक्दैन होला ? उद्योगीहरु सामान्य तरिकाले भन्छन् ‘सबैतिर चीनले गएर मेसिन बनाइदिएको छैन नि त !’

तस्वीरहरु : ऋग्वेद शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment