Comments Add Comment

सस्तो कमेडीमा लगानी गर्दा निर्माताको हावा टाइट

नेपाली चलचित्रमा एउटा पुरातन शैली छ । त्यो शैली के भन्दा, जे कुरा बजारमा चलेको छ त्यसकै अन्धअनुसरण गर्ने । पछि लाग्ने । आँखा चिम्लेर । आइटम गीत होस् वा उत्तेजक दृश्य । लोकगीत होस् वा लभ एक्सन । कस्तो ‘आइटम’ चलेको छ ? त्यसैको पछि दौडने प्रवृत्ति छ । बजार निर्देशित यो भुत्ते सोंचको कारण कति लगानीकर्ता हचुवाको भरमा पैसा खन्याउन उद्दत छन् । खन्याइरहेका पनि छन् ।

पछिल्लो लहड के देखिएको छ भने, दर्शकलाई जसोतसो हसाँइदियो भने चलचित्र चलिहाल्छ । यही भएर पनि होला, निर्माताहरु भकाभक लगानी गर्न उक्सिएका छन् । राम्रै चलचित्र बनाउने ल्याकत भएका निर्देशकमा समेत कमेडीको काउकुती लाग्न थालेको छ । उनीहरुको ध्येय के मात्र छ भने, चलचित्र हँसाउने हुनुपर्छ । कथा बटारेर हुन्छ कि पात्रको हुलिया बदलेर, दर्शक हाँस्नुपर्छ । तर, यो भ्रमले धेरै निर्माताको हावा टाइट छ ।

यो बर्षको ट्रेन्ड हेरौं, आफैमा हास्यस्पद छ ।

फिल्ममेकर्स ‘हँसाउने फिल्म’को पछाडि यसरी दौडिरहेका छन् कि, चलचित्र होइन बरु उनीहरुको वेग र दिशा देख्दा हाँसउठ्दो लाग्छ । चलचित्रमा कमेडी हुन्छ । यसलाई अन्यथा लिन भएन । चलचित्रको रस र श्रृंगारभित्र पनि यी तत्व घुलनशिल हुन्छ । तर, चलचित्रलाई नै जर्बजस्ती कमेडीमा धकेल्दा त्यसको परिणाम टिठलाग्दो आएको छ ।

चलचित्र ‘छक्का पन्जा’ले दर्शक हसाँएरै करोडौ कमाएपछि यो ट्रेन अझै विकसित भएको हो । यसको पछाडि लाग्दा धेरै निर्माताले लाखौ स्वाहा मात्र बनाएका छैनन्, दर्शकले गम्भिर कथामा चलचित्र हेर्न नै पाएका छैनन् । पछिल्लो रिलिज नेपाली चलचित्र ‘सुश्री सम्पत्ती’ बक्स अफिसमा वेपत्तासँग पछारियो । चलचित्रका मुख्य कलाकार सलोन बस्नेत र विनोद न्यौपानेलाई कमेडी थोपार्न खोज्दा सुव्रतराज आचार्यले ‘असफल निर्देशक’को तक्मा पाए । उनको गल्ती के भयो भने, चलचित्रको शीर्षक अनुसारको बिषय खोज्न भन्दा पनि कमेडी संवादमा मात्र आफूलाई अभ्यस्त बनाउन खोजे र त्यही अनुसार कथाको निर्माण गरे । जसले दर्शकलाई हलमा टिकाउन सकेन ।

चलचित्र ‘पशुपति प्रसाद’ जस्तो गहन बिषयमा चलचित्र बनाएका निर्देशक दिपेन्द्र के खनालले पूर्ववत रुपमा राम्रो चलचित्र दिने हिम्मत गरेनन् । बजारबाट निर्देशित भएर रक्षात्मक खेल खेल्ने खाजे । चलचित्र ‘चंगाचेट’ त्यसैको नतिजा थियो । यो कमेडी चलचित्रले दर्शकलाई गम्भिर बिषय भन्दा पनि कमेडी संवादले नै हसाँउन खोज्यो । चलचित्र औसत त चल्यो तर दर्शकले दिपेन्द्रलाई ‘पशुपति प्रसाद’जस्तो संझन सकेनन् ।

मैले एक्सन फिल्म बनाएँ भने के हुन्छ ? : दीपकराज गिरी

नेपाली टेलिभिजनमा जमिरहेका हाँस्य कलाकारहरु दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपालले चलचित्रको पर्दामा हात हाले र आफ्नै विधालाई अगाडि बढाए । उनीहरुलाई टेलिभिजनमा कमेडी अवतारमा देखिरहेका दर्शकले ठूलो पर्दामा पनि रुचाए ।

दिपकराज गिरी भन्छन्–‘जसले जुन विधामा दर्शकलाई लोभ्याएको छ उसले सोही विधाको चलचित्र बनाउन आवश्यक छ । हाम्रो टिमले एक्सन चलचित्र बनायो भने के होला ? अहिलेको मुख्य समस्या नै यहि हो ।’
नेपालमा अहिले पचास प्रतिशत भन्दा बढी कमेडीलाई मात्र फोकस गरेर चलचित्र बनाइएको छ । यदि यहि अवस्था रह्यो भने यसले विकराल रुप लिने वुझाई दिपकको छ । उनले भने–‘कमेडी गर्न जान्नेले कमेडी गर्यो भने त्यो बल्ल कमेडी हुन्छ । नत्र हरर चलचित्र बन्छ ।’

चलचित्र भित्र दर्शकलाई हसाँउन आवश्यक छ । तर, दर्शक हसाँउने चक्करमा गम्भिर भूमिका गर्ने कलाकार, गम्भिर कथामा चलचित्र बनाउने निर्देशकले पनि मुख बङ्ग्याउन थाले भने त्यसले समस्या निम्त्याउँछ । अहिले देखिएको समस्या पनि यहि नै हो ।

सुरक्षित हुने बाटो खोज्दा चिप्लिए निर्माता

आफूले खोजे जस्तो भूमिका नपाएको बताउँदै आएकी नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ कमेडीमै सिमित भयो । यो चलचित्रले दर्शकलाई कुनै नयाँपन दिएन, केकीको अभिनयले पनि प्रभावित बनाएन । केकीले, पहिलो चलचित्रबाट नै सुरक्षित हुने उपाय खोज्दा कमेडीमा हात हालेको बताएकी थिइन् । नायिका ऋचा शर्माले बनाएको हरर चलचित्र ‘सुनकेशरी’ले दर्शक तर्साएन, बरु हसाँयो । हरर चलचित्रमा पनि कमेडीको भेल प्रवेश गराउँदा ऋचा शर्मा चिप्लिइन् । किनकी, ऋचाबाट दर्शकले अपेक्षा गरेको चलचित्र यस्तो थिएन । तर, उनी सुरक्षित बन्न खोज्दा उनले निर्माण गरेको दोश्रो चलचित्र पनि चलेन ।

पुरा चलचित्रमा नै जर्बजस्ती कमेडी घुसाउन खोज्दा दर्शकले रुचाएका छैनन् । तर, चलचित्र भित्र कमेडी राख्दा भने दर्शकले रुचाएका छन् । चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भयो । तर, यो विशुद्ध लभ स्टोरी चलचित्र थियो । तर, यसमा नायक सलोन बस्नेतले गरेको कमेडीले दर्शकलाई चलचित्रमा होल्ड गराइदियो र चलचित्र चलेपछि सलोनको प्रशंसा भयो । उनै, सलोनलाई पुरा चलचित्र भरी कमेडी गर्न लगाउँदा ‘सुश्री सम्पत्ती’ चिप्लिएको छ ।

जे चलेको छ त्यसकै मात्र पछि लागेर आफूले नसक्ने विधामा हात हाल्नु गलत हो । सिंगो चलचित्रमा कमेडी मसला बन्न सक्छ । तर, मसलालाई नै सिंगो चलचित्र बन्न सक्दैन । यो बर्ष रिलिज भएका अधिकांश चलचित्रबाट निर्माता घाटामा जानुको मुख्यकारण नै यहि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment