Comments Add Comment

हिउँदे अधिवेशनमा ‘मन्त्री र प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ प्रभावकारी बनाइने

१० पुस, काठमाडौं । संसदको हिउँदे अधिवेशनमा मन्त्री र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाइने सभामुख कृष्णबहादुर महराले बताएका छन् ।

मंगलबार पत्रकारहरुसँगको भेटमा उनले हिउँदे अधिवेशनमा प्रधानमन्त्रीसँग पनि प्रश्नोत्तर कार्यक्रम सुरु हुने उल्लेख गरे । ‘मन्त्री र प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्यो भने त्यसले जिवन्त ल्याउँछ । सबै प्रस्तावको मन्त्रीहरुले जवाफ दिनुपर्छ’, महराले भने, ‘त्यसकारण प्रश्नोत्तरले राम्रो सन्देश जान्छ ।’

यसअघि, वर्षे अधिवेशनमा एकपटक शिक्षामन्त्रीहरुसँग प्रश्नोत्तर कार्यक्रम भएको थियो भने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्ने कार्यसूची तय भएर पनि रोकिएको थियो । ‘मन्त्रीसँग मात्रै प्रश्नोत्तर हुँदा पनि धेरै हुन्छ । तर प्रधानमन्त्रीसँग पनि प्रश्नोत्तर हुन्छ’ महराले भने ।

संसद एजेण्डाविहीन नहुने अपेक्षा

सभामुख महराले हिउँदे अधिवेशन एजेण्डाविहीन नहुने विश्वास पनि ब्यक्त गरे । संसदीय समितिमा रहेका विधेयकहरु पास भएर आउँदा र संसद सचिवालयमा दर्ता भएका विधेयकका कारण प्रारम्भमा एजेण्डाको समस्या नहुने महराको भनाइ छ ।

संविधानसँग बाझिएका कानुनहरु परिमाजर्नका लागि समेत सरकारले गृहकार्य गरिरहेकाले हिउँदे अधिवेशन एजेण्डाविहीन नहुने महराले बताए । संविधान अनुसार परिमार्जन गर्नुपर्ने कानुनहरुका सन्दर्भमा आफूले प्रधानमन्त्री र कानुनमन्त्रीको धेरै पटक ध्यानाकर्षण गरेको सभामुख महराले उल्लेख गरे ।

‘एकै पटक धेरै कानूनहरु ब्यवस्थित गर्ने ढङ्गले पनि विधेयक आएको छ । अरु ऐनहरुको हकमा सरकार छिटो ल्याउने तयारीमा रहेको देख्छु’, महराले अगाडि भने, ‘विश्वास गर्न चाहन्छु फागुन २१ लाई कुनै हतार नहुने हिसाबले संसदमा विधेयक पेस होलान् ।’

मंगलबारको कार्यव्यवस्था समितिको बैठकमा आफूले यसपटक नियम निलम्बन गर्न नपरोस् भनेर अनुरोध गरेको महराले बताए । यसअघि वर्षे अधिवेशनमा मौलिक हकसँग सम्बन्धित कानूनहरु पारित गर्ने सन्दर्भमा ६ पटकसम्म नियम निलम्बन गर्नुपरेको थियो ।

कानुन मन्त्रालयका अनुसार हाल कायम रहेका ३३९ वटा कानुनहरुमध्ये १७४ वटा कानुन संविधान अनुसार परिमार्जन गर्नुपर्ने हुन्छ ।

मुख्य नेताहरुको सम्बोधन

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन बुधबार सबै राजनीतिक दलका मुख्य नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

हिउँदे अधिवेशनको पहिलो दिनको कार्यसूची तय गर्न मंगलबार दिउँसो बसेको कार्यव्यवस्था समितिको बैठकले मुख्य नेताहरुको सम्बोधनलाई मुख्य एजेण्डा बनाएको छ । ‘गएको अधिवेशनको समीक्षा र अबको अधिवेशनलाई कसरी लैजाने भन्ने विषयमा उहाँहरुले आफ्नो विचार राख्नुहुन्छ’, सभामुख महराले भने ।

यसैगरी, बुधबारको बैठकमा कर्मचारी समायोजन अध्यादेश पनि पेस हुँदैछ । कार्यव्यवस्था समितिले राष्ट्रियसभाबाट पारित भएको प्रशासकीय अदालत सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि पेस गर्ने कार्यसूची तय गरेको छ ।

बुधबार नै तीन जना पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । कार्यव्यवस्था समितिले पूर्व सांसदहरु चक्र बास्तोला, पद्मरत्न तुलाधार, मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव पारित गर्ने तय गरेको छ । पूर्वपरराष्ट्र मन्त्री रहेका बास्तोलाको गत असोज २७ गते निधन भएको थियो भने, पूर्वस्वास्थ्यमन्त्री तथा वामपन्थी नेता तुलाधरको गत कातिक १८ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment