Comments Add Comment

नारायणकाजीसँग पूर्वराजाको गुनासो: काठमाडौं–पोखरा सडकले सास्ती भो

११ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपालीको रोजगारका लागि जापान खुला भएको लेखेका छन् । यसबाहेकका अन्य सामग्रीहरुमा भने विविधता देखिन्छ । दूरसञ्चार कम्पनीहरुले ३ अर्ब नतिरेकोदेखि वाइडबडी खरिदसम्मका विषयमा आजका पत्रपत्रिकाहरुले चासो राखेका छन् । त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा नेता नारायणकाजी श्रेष्ठबीच अकस्मात भेट भएको समाचार पनि आजको पत्रिकामा छापिएको छ ।

कालीकोट आगलागीको पीडा झल्काउने तस्वीर छापेको नागरिकले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा नेता नारायणकाजी श्रेष्ठबीच पोखरा विमानस्थलमा जम्काभेट भएको लेखेको छ । साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्कंदै गरेका श्रेष्ठ र बुहारी हिमानी तथा नातिनीहरुलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको समाचारमा उल्लेख छ ।

नागरिक लेख्छ– श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नमस्कार गर्दै हालखबर सोधेका थिए । हालखबर सोधपुछपछि श्रेष्ठले के पढ्दै हुनुहुन्छ भन्दै सोधेका थिए । जवाफमा पूर्वराजा ज्ञानेन्द्रले मनीषा कोइरालाको पुस्तक हिल्ड पढिरहेको बताएका थिए ।

पूर्वराजा शाहले श्रेष्ठसँग काठमाडौंदेखि पोखरासम्मको सडक खराब भएका कारण हवाई माध्यमबाट यात्रा गर्नुपरेको भन्दै गुनासो गरेका थिए ।

जापानमा रोजगारी खुलेकोलाई पनि नागरिकले प्राथमिकताका साथ कभरेज गरेको छ ।

कान्तिपुरले दूरसञ्चार कम्पनीहरुले सरकारलाई राजस्व नतिरेको लेखेको छ । सांसद्देखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरुले ३ अर्बभन्दा बढी राजस्व नतिरेको समाचारमा उल्लेख छ ।

समाचार अनुसार, युनाइटेड टेलिकम लिमिटेड, (यूटीएल), स्मार्ट टेलिकम, सीजी कम्युनिकेसनलगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् ।

विवाहमण्डपमै आएर विराटनगरमा बेहुलीमाथि आक्रमण भएको अर्को खबर पनि कान्तिपुरमा छ । तेह्रथुम फेदाप गाउँपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फेमाथि सरोज लिम्बुलगायतको समूहले आक्रमण गरेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

वाइडबडी खरिदबारे निरन्तर चासो राख्दै आएको अन्नपूर्णले ‘पर्यटनमन्त्रीले ढाँटे कि महालेखापरीक्षकले ?’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । त्यस्तै कालीकोटका अग्नीपीडितलाई राष्ट्रपतिले ढाढस दिएको, सुनामीले इन्डोनेसियामा ४ सय २८ को मृत्यु भएकोलगायत खबर पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ ।

गोरखापत्रले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनबारे मुख्य समाचार लेखेको छ । तीन लाख ३७ हजार घर पुनर्निर्माण भएको अर्को खबर पनि गोरखापत्रमा छ । भारतबाट ४० युवतीको उद्धार भएकोलाई गोरखापत्रले एंकर बनाएको छ ।

राजधानीले संघीय शासन प्रणालीमा पनि प्रमुख जिल्ला अधिकारीलाई नै शक्तिशाली बनाउने गरी नयाँ कानून बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको लेखेको छ । सातै प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला समन्वय समिति रहे पनि यी निकायलाई सुरक्षासम्बन्धी कुनै अधिकार नदिई प्रमुख जिल्ला अधिकारी नै शक्तिशाली बनाउनेगरी नयाँ कानून बनाउन लागिएको राजधानीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment