Comments Add Comment

विप्लवको पार्टीबाट कुनै खतरा छैन : आईजीपी खनाल

११ पुस, बुटवल । नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट कुनै सुरक्षा चुनौति नभएको दावी गरेका छन् ।

बुटवलको दीप बोर्डिङ स्कूलमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै आईजीपी खनालले नेपाल प्रहरी विप्लव नेतृत्वको नेकपालगायत अन्य विद्रोही शक्तिलाई दबाउन र नियन्त्रण गर्न सक्षम रहेको दावी गरे ।

उनले संविधान नमानेर बाहिर रहेका यस्ता दलहरुका गतिविधिबाट नडराउन पनि समुदायलाई आग्रह गरे । ‘विप्लवको पार्टीबाट कुनै सुरक्षा थ्रेट छैन,’ खनालले भने, ‘विद्रोह गर्छौं भन्ने शक्तिलाई नियन्त्रण गर्न हामी पूर्णसक्षम छौं ।’

कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रसंगमा बोल्दै आईजीपी खनालले चारवटा विज्ञ टोलीले उक्त घटनाको अनुसन्धान जारी राखेकाले दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताए । लैंगिक हिंसालगायत आपराधिक घटनामध्ये ९७.५ प्रतिशत घटनामा प्रहरी सफल भएपनि निर्मला पन्तलगायत थोरै घटनामा मात्र सफलता नमिलेकाले प्रहरीमाथि अविश्वास बढेको उनले स्वीकार गरे ।

समुदायले प्रहरीमाथि विश्वास गर्नुपर्ने आग्रह गर्दै प्रहरी समुदायसँग हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताए । प्रहरीप्रति अविश्वास कायम रहे अनुसन्धानमा सफलता मिल्न झन् ढिलाई हुने उनको भनाइ छ ।

आईजीपी खनालले थुप्रै विद्यार्थीहरु लागु औषध प्रयोगकर्ता रहेको औंल्याउँदै ती सबै विद्यार्थीको घर-घर गएर रोक्ने काम गर्न प्रहरीले नसक्ने हुँदा परिवार र समुदायले रोक्नुपर्ने आग्रह पनि गरे ।

कार्यक्रममा विद्यार्थीहरुले भने निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीको भूमिकाले गर्दा प्रहरीमाथि विश्वास गर्न कठीन भइरहेको बताएका थिए । उनीहरुले निर्मला पन्तका बलात्कारी र हत्यारालाई पत्ता लगाएर कारबाही नगर्दासम्म प्रहरीमाथिको अविश्वास कायमै रहने धारणा राखेका थिए ।

यद्यपि विद्यार्थीले प्रहरीको नेतृत्व समुदायमा आएर नागरिकका कुरा सुन्ने र अन्तरक्रिया गर्ने काम भने सकारात्मक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment