Comments Add Comment

थोत्रा टायरबाट ऊर्जा निकाल्ने नेपालकै पहिलो उद्योग संकटमा

११ पुस, बुटवल । फालिएका थोत्रा टायर प्रशोधन गरेर वैकल्पिक ऊर्जाका रुपमा फर्नेस आयल र कार्वन उत्पादन गर्दै आएको नेपालकै पहिलो उद्योग कच्चा पदार्थ अभावमा संकटमा परेको छ । पछिल्लो समय थोत्रा टायर, ट्युबको भारततर्फ तस्करी तीव्र भएपछि उद्योग सञ्चालनमा समस्या भएको हो ।

रुपन्देहीको देवदह नगरपालिका-५ मा ५ करोड लगानीमा २०७२ सालदेखि स्पीड इनर्जी इन्डस्टि्रज प्रालि सञ्चालनमा आएको थियो । यसले दुई पांग्रे र चार पांग्रे सवारीसाधनमा प्रयोग हुने टायर, ट्यूब तथा रबरलाई पायरोलाइसिस प्रक्रियाद्वारा प्रशोधन गरी फर्नेस आयल, कार्बन ब्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको छ ।

साढे २ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगबाट उत्पादन हुने फर्नेस आयल र स्टिल स्क्र्याब नेपालकै सिमेन्ट, छड, बिस्कुट, ब्याट्री आदि उद्योगमा खपत हुन्छ । यस्तै, कार्बन धुलो भने इट्टा उद्योगहरुमा कोइलाको विकल्पमा प्रयोग हुनुका साथै भारत निर्यात हुँदै आएको छ । तर, नेपालमा भन्दा महंगो मूल्य पाइने भएकाले तस्करहरुले विभिन्न नाकाबाट निकासी गरी थोत्रा टायर भारतमा पुर्‍याएर बिक्री गर्न थालेपछि उद्योगलाई कच्चा पदार्थको अभाव खट्किएको छ ।

उद्योगका सञ्चालक अजयमान श्रेष्ठका अनुसार भारतमा यस्ता उद्योगहरु करिव ५ सयको हाराहारीमा छन् । फर्नेस आयलको मूल्य झण्डै दोब्बर हुँदा कच्चा पदार्थको रुपमा प्रयोग हुने थोत्रा टायर पनि महंगोमा विक्रि हुने सञ्चालक श्रेष्ठले बताए । थोत्रा टायरहरु विशेषगरी नवलपरासीको भैंसालोटन, महेशपुर, बेलासपुर, त्रिवेणी, रुपन्देहीको सुनौली, कपिलवस्तुको कृष्णनगर, बढनी र बीरगञ्ज नाकाबाट बढी मात्रामा तस्करी हुने गरेको उनको दावी छ ।

‘महिनाभरि उद्योग चलाउन नपाउँदा उत्पादन घटेर ठूलो नोक्सानी हुन थालेको छ, र कामदारलाई तलब दिन समेत समस्या भएको छ,’ सञ्चालक श्रेष्ठले गुनासो गरे । नवलपरासीका नाकाबाट भइरहेको टायर तस्करी रोकिदिन प्रमुख जिल्ला अधिकारीसँग अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको उनले बताए ।एक महिनामा २८ ब्याच चल्ने उद्योग टायरको अभावमा पछिल्ला ४ महिनायता ८ ब्याच मात्र सञ्चालन भएको छ । हरेक महिना एक सातादेखि  १० दिनसम्म उद्योग सञ्चालन हुन नसकेको श्रेष्ठले जानकारी दिए । उद्योगले दैनिक १० टन टायर प्रशोधन गर्न सक्छ । टायर प्रशोधन भएपछि त्यसबाट ४० प्रतिशत तेल, २५ प्रतिशत कार्बन ब्ल्याक र ३५ प्रतिशत स्टिल स्क्र्याब (तार) उत्पादन हुन्छ ।

उद्योगमा २५ जना कामदारले रोजगारी पाएका छन् । कच्चा पदार्थ पर्याप्त हुँदा मासिक एक लाख लिटर फर्नेस आयल उत्पादन हुँदै आएकोमा अहिले घटेर ४० हजार लिटर हाराहारीमा मात्रै उत्पादन हुने गरेको उद्योगका अप्रेटर अरबिन्द्र कुमारले बताए । उनले भने, ‘यस्तै अवस्था अझै केही महिना रहे घाटा बढेर उद्योग चल्न सक्दैन ।’

रुपन्देहीको स्पीड इनर्जी जस्तै उद्योग धनगढी, विराटनगर र वीरगञ्जमा गरी जम्मा ४ वटा सञ्चालनमा छन् । नेपालमा खपत हुने फर्नेस आयलमध्ये स्वदेशी उद्योगको उत्पादन कूल खपतको ३ प्रतिशत मात्र छ । उत्पादन गर्नसके ठूलो मात्रामा स्वदेशमै बजार भए पनि राज्यले आफूहरुलाई सहयोग नगरेको उद्योगका अर्का सञ्चालक भूपालकुमार श्रेष्ठले औंल्याए ।

‘कम्तीमा टायरको तस्करी रोकेर कच्चा पदार्थको सहज उपलब्धतामा सहयोग गरेमा अझै ४-५ वटा प्लान्ट थपेर आयात प्रतिस्थापन गर्न तयार छौं,’ उनले भने ।

वातावरणमैत्री उद्योग भएकाले राज्यबाट प्रोत्साहन पाउने नीतिगत व्यवस्था हुनुपर्ने उद्योगीको माग छ

अहिले नेपालका ठूला उद्योगहरुमा दैनिक १०-१५ हजार लिटरका दरले फर्नेस आयल खपत हुने गरेको श्रेष्ठ बताउँछन् । भारतबाट आयात गर्दा भ्याटसहित प्रतिलिटर ९२ रुपैयाँ पर्ने फर्नेस आयल रुपन्देहीको स्पीड इनर्जी उद्योगले प्रतिलिटर ५८ रुपैयाँमा बिक्री गर्दै आएको छ । मूल्य पनि सस्तो र क्यालोरिफिक भ्यालू (प्रज्ज्वलनशील क्षमता) पनि नेपाली उत्पादनको बढी भएकाले बजार र माग उच्च छ ।

अहिले उद्योगले वार्षिक ७ सय टन कार्बन भारत निर्यात गर्दै आएको छ । थोत्रा टायरहरु शव जलाउन, अलकत्रा पकाउन, इँट्टा पकाउन र आन्दोलनका क्रममा सडकमा अवरोध पुर्‍याउन जलाइन्थे । यसबाट मानव स्वास्थ्य र वातावरणमा असर पर्ने भएकाले यस्ता उद्योगले वातावरण संरक्षण र सरसफाइमा समेत योगदान पुर्‍याइरहेको उद्योगीको दावी छ । नेपाली उद्योगहरुलाई बन्द गराई आफ्नो ब्यापारमा एकाधिकार लाद्न समेत नियोजित रुपमा टायरको तस्करी भएको हुन सक्ने श्रेष्ठ औंल्याउँछन् ।

सरकारले टायर तस्करी नियन्त्रण गरिदिनुपर्ने, आफूहरुले उत्पादन गर्ने वैकल्पिक ऊर्जाको खरिद व्यवस्थापन गरिदिनुपर्ने, पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्क आयातित फर्नेस आयलमा पनि लगाइनुपर्ने, स्वदेशी औद्योगिक उत्पादन (फर्नेस आयल)को अनिवार्य उपयोग गर्नुपर्ने र वातावरणमैत्री उद्योग भएकाले राज्यबाट प्रोत्साहन पाउने नीतिगत व्यवस्था हुनुपर्ने उद्योगीको माग छ ।टायर तस्करीबाट उद्योग सञ्चालनमा परेको कठिनाइबारे संघीय सरकारका उद्योगमन्त्री मातृका यादवलाई समेत भेटेर जानकारी गराएको उल्लेख गर्दै श्रेष्ठले छिटै समस्या समाधान नभए उद्योग बन्द गर्ने बताए । वैकल्पिक ऊर्जा उत्पादन गर्ने नेपालको पहिलो र प्रदेश ५ को एक मात्र उद्योग भएकाले उद्योगलाई बन्द हुनबाट जोगाउन प्रदेश सरकारको पनि ध्यान जानुपर्ने उनको आग्रह छ ।

‘निर्यातजन्य उद्योग र त्यसमा पनि रिसाइक्लिन उद्योगको प्रवर्द्धनमा सरकार चुकेको छ,’ श्रेष्ठले भने, ‘तस्करी रोकेर थोत्रा टायरको कारोबारलाई भ्याटको दायरामा ल्याउन सक्ने हो भने राज्यको कर पनि गुम्दैन, हाम्रा उद्योगहरु राम्ररी चल्न सक्छन् र उत्पादन बढेर आयात प्रतिस्थापन पनि हुन्छ ।’

नेपालमा रहेका चारवटा यस्ता उद्योगलाई वार्षिक एक करोड किलोग्राम टायर आवश्यक पर्ने उद्योगीहरु बताउँछन् । अहिले थोत्रा टायर कवाड व्यवसायीहरुमार्फत विना बिल खरिद गर्नुपर्ने वाध्यता रहेको उद्योगी श्रेष्ठले खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment