Comments Add Comment

यात्रुलाई रुचेन टुँडिखेल क्षेत्रमा लागू गरिएको ‘पिक एण्ड ड्रप’ नीति !

११ पुस, काठमाडौं । काठमाडौंको टुँडिखेल क्षेत्रमा लागू गरिएको ‘पिक एण्ड ड्रप’ नीति अवैज्ञानिक भएको भन्दै यात्रु विरोधमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले ‘पिक एण्ड ड्रप’ प्रभावकारी भएको दावी गरिरहँदा यात्रु भने रुष्ट देखिएका हुन् ।

‘पिक एण्ड ड्रप’ नीतिले झन् सास्ती भएको भन्दै भुकुटीमण्डप क्षेत्रमा बस स्टपमा यात्रुहरुले प्रदर्शन गरेका छन् । ‘गाडीमा चढ्न खोज्दा गाडीलाई पनि लखेट्ने हामीलाई पनि लखेट्ने, प्रहरीले के गर्न खोजेको हो’, एक यात्रुले भने ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारका अनुसार त्यसक्षेत्रमा हिजो मंगलबार पनि विवाद भएको थियो ।  ‘पहिले यात्रु ओराल्ने-चढाउने ठाउँमा रोक लगाएपछि विरोध त हुने नै भयो, भर्खरै यो नीति कार्यान्वयन शुरु भएकाले पनि यस्तो हुन्छ केही समय’, वृत्त स्रोतले भन्यो ।

यात्रुहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्दा केहीबेर चर्काचर्की भएको थियो । भुकुटीमण्डपसहित सुन्धारा, एनएसी बिल्डिङ र रत्पार्क क्षेत्रमा पनि यात्रुले सास्ती व्यहोरिरहेका छन् ।

सवारी चालकले पनि पुरानो बस स्टपमा यात्रु ओराल्न-चढाउन नपाएको भन्दै असन्तुष्टी ब्यक्त गरेका छन् ।  ट्राफिक जाम न्युनिकरण गर्न भन्दै काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुस १ गतदेखि टुँडिखेल क्षेत्रमा सवारी साधनका लागि पिक एण्ड ड्रप लागू गरेको थियो ।

सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भन्दै यो नीति ल्याइएको हो ।  काठमाडौं महानगरपालिकाले भने ‘पिक एण्ड ड्रप’ नीति प्रभावकारी भएको दावी गरेको छ ।

शुरुवाती चरण भएकाले यात्रुलाई असहज लागेको महानगरपालिकाको सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले बताए ।  ‘पहिले गाडी चढिरहेको ठाउँमा चढ्न नदिएपछि रिस त उठ्ने नै भयो, विस्तारै बुझ्छन्’, उनले भने ।

टुँडिखेल क्षेत्रमा परीक्षणका रुपमा कार्यान्वयनमा ल्याइएको ‘पिक एण्ड ड्रप’ नियमलाई विस्तारै महानगरका ३२ वटै वडामा लागू गर्ने तयारी छ । विशेष गरी अत्यधिक जाम हुने कोटेश्वर, चावहिल, महाराजगञ्जमा पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर आफू नेतृत्वको कार्यदलले अध्ययन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment