Comments Add Comment

धान चामलको ग्राफ : गौरवपूर्ण इतिहास, बिर्सनलायक वर्तमान

११ पुस, काठमाडौं । धान र चामलको आयात २० प्रतिशतले बढेको छ । गतवर्ष ७ लाख ३५ हजार मेट्रिक टन धान–चामल भित्रियो । जबकी अघिल्लो वर्ष धान–चामल आयात ५ लाख ८८ हजार मेट्रिक टन थियो ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार एक वर्षमा २९ अर्ब ३४ करोड रुपैयाँकोे धान, चामल र कनिका भित्रिएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्ममा १२ अर्ब २८ करोड रुपैयाँ बराबरको चामल आयात भयो । यो अवधिमा आयात भएको ३ लाख ४१ हजार मेट्रिक टन चामल नेपाली बजारमा खपत भईसकेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले धान–चामलबाट ७१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । समग्रमा चामल आयातबाट सरकारले गत वर्ष २ अर्ब १५ करोड रुपैयाँ राजस्व असुल्यो ।

अर्थविद मदनकुमार दाहालका अनुसार सरकार र निजी क्षेत्रको चिन्ता मात्रै व्यक्त गरेर बस्ने तर कृषि क्षेत्रमा लगानी नगर्ने प्रवृत्तिका कारण आयातमा निरन्तर वृद्धि भएको हो । उनी भन्छन्, ‘लगानी, अनुदान लगायतका सुविधा दिएर कृषकलाई प्रोत्साहन नगरेसम्म धानको आयात यसरी नै उकालो लागिरहन्छ ।’

‘जनसंख्याको वृद्धि र खानेबानीमा भएको परिवर्तनसँगै चामलको माग बढ्नु अस्वाभावीक होइन’, दाहाल भन्छन्, ‘हरेक वर्ष धान उत्पादन बढ्दै गएको तथ्यांकमाथि नै प्रश्न उठाउनुपर्ने अवस्था छ । उत्पादनमा भएको झिनो वृद्धिलाई हेरेर सरकार मख्ख परेर बस्नु हुँदैन ।’

चामलको खपत वर्षेनी उच्च दरमा बढेसँगै आयात पनि उकालो लागेको हो । आर्थिक वर्ष २०७४÷७५ मा झण्डै ३० अर्ब रुपैयाँ बराबरको धान–चामल आयात भयो । तर, यो वर्ष पहिलो चौमासिकमै १२ अर्बको चामल भित्रिसकेको छ । यसलाई आधार मान्दा यो वर्ष ३६ अर्ब बराबरको धान–चामल आयात हुने सरकारको प्रक्षेपण छ ।

गौरवपूर्ण इतिहास

नेपाल कुनै बेला चामल निर्यात गर्ने देशको रुपमा परिचित थियो । चार दशकअघिसम्म पनि धान उत्पादनमा नेपाल निकै अब्बल मानिन्थ्यो । दक्षिण एसियाली देशमा मात्रै होइन दक्षिण कोरिया, मलेसियादेखि अमेरिकासम्म नेपाली चामल निर्यात हुने गरेको अभिलेख छ ।

०३६ सालसम्म पनि नेपाली चामल विदेशी बजारसम्म पुग्थ्यो । आर्थिक वर्ष ०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको थियो ।

तर पछिल्लो समय स्वदेशी धान र चामललाई भारतीय उत्पादनले नेपाल भित्रै चुनौती दिईरहेको छ । सरकारी अनुदानमा उत्पादित भारतीय प्रिमियम चामल नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन्छन् ।

सरकारी प्रोत्साहन विना उत्पादित स्वदेशी धान–चामल भने प्रतिस्पर्धा गर्न नसकेर आन्तरिक बजारमा ‘हेपिएका’ छन् । कृषि मन्त्रालयका उपसचिव विनोद भट्टराई नेपालमा धानको उत्पादन बढाउन विभिन्न चुनौती रहेको बताउँछन्

उपसचिव भट्टराई जमीनको चक्लाबन्दी होस् भनेर ‘सुपर जोनहरु’ घोषणा गर्न शुरु गरिएको बताउँछन् । उनको बुझाईमा धानको उत्पादन बढ्न नसक्नुमा अंशबण्डा गर्नुपर्ने चलन पनि कारक हो ।

गत वर्ष नेपालमा धान उत्पादनमा एक लाख मेट्रिक टनले कमी आएको थियो । अघिल्लो पटक रेकर्ड राख्दै ५२ लाख मेट्रिक टन फलेको गत वर्ष ५१ लाख मेट्रिक टनमा झर्‍यो ।

महँगो चामल विदेशबाट

तुलनात्मक रुपमा महँगो मानिने खैरो चामल (ब्राउन राइस) को आयात पनि बृद्धि भएको छ । गत वर्ष ३५१ मेट्रिक ब्राउन चामल भित्रिएको छ । अघिल्लो वर्ष २८७ मेट्रिक टन मात्रै खैरो चाल भित्रिएको थियो ।

खैरो चामलको माग बढ्नुले पनि धान–चामलको समग्र आयात बढाएको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् । गत आर्थिक वर्षमा तयारी चामल मात्रै ४ लाख ९७ हजार मेट्रिक टन आयात भयो । अघिल्लो वर्ष यस्तो चामलको परिमाण ३ लाख ९३ हजार मेट्रिक टन थियो ।

यस्तै धान पनि ठूलो मात्रामा नेपाल भित्रीरहेको छ । हरेक वर्ष धानको आयात पनि बढ्दै गएको देखिन्छ । अघिल्लो वर्ष १ लाख ६३ हजार मेट्रिक टन मात्रै धान भित्र्याइएको थियो । गत वर्ष ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको धान नेपालले भारत लगायतका मुलुकबाट खरिद गरेको छ ।

सामान्यतयाः दाना उद्योग र घरेलु मदिरा बनाउन प्रयोग हुने कनिकाको आयात भने घटेको छ । गत वर्ष २९ हजार मेट्रिक टनकानिका? नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । यसका लागि मात्रै ७३ करोड विदेशी मुद्रा विदेशिएको छ । अघिल्लो वर्ष ३२ बजार मेट्रिक कनिका नेपाल भित्रिएको थियो ।

भातै मीठो

गाउँघरमा पनि ढिँडो र च्याँख्लालाई भातले विस्थापित गर्न थालेको छ । अर्थविदहरूका अनुसार ‘भात नै खाने संस्कार’ पनि चामलको माग तीव्र गतिमा बढ्नुको एउटा महत्वपूर्ण कारण हो ।

बढ्दो जनसंख्या, भात खाने संस्कृति जस्ता कारणले समेत चामलमा परनिर्भरता बढेको अर्थविदहरू बताउँछन् । कतिपय अर्थविद भने चामल आयातको तथ्यांक हेरेर ‘नर्भस’ हुन नहुने सुझाव दिन्छन् ।

अर्थशास्त्री विश्व पौडेल तथ्यांक हेरेर तर्सिने भन्दा त्यसबाट पाठ सिकेर अघि बढ्ने कुरा महत्वपूर्ण रहेको बताउँछन् । उनी भन्छन्, ‘आयातको आँकडा हेरेर तर्सिनु भन्दा उत्पादन बढाउन तिर लाग्नु बुद्धिमानी हुन्छ ।’

पौडेल यहाँबाट चामल निर्यात हुने समयमा नेपालमै कुपोषण र भोकमरीको समस्या ब्याप्त रहेको तथ्य भुल्न नहुनेमा जोड दिन्छन् । ‘त्यतिबेला धेरै खेतीयोग्य जमिन जमिन्दार र धनी वर्गको हातमा थियो’ अर्थशास्त्री पौडेल भन्छन्, ‘चामल आयातमा भएको वृद्धिले आत्तिनु पर्दैन । यसकै कारण नेपालमा पोषणको अवस्थामा आएको सुधार र त्यसले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा देखिएका सकारात्मक प्रभावलाई विर्सन मिल्दैन ।’

मानव विकासका विभिन्न पाटोमा नेपालले सुधार गर्दै लगेकाले चामलको प्रयोगमा भएको वृद्धि पनि त्यसको संकेतका रुपमा देखिएको पौडेलको भनाई छ । उनी परिवारलाई मिठो खुवाउने अभिलाषाले विदेशिएका युवाले पठाएको रेमिट्यान्सका कारण पनि चामलको आयात बढाएको बताउँछन् । अर्थशास्त्री पौडेल निर्माणाधीन सिँचाइका ठूला परियोजना बेलैमा सम्पन्न गरेर धान उत्पादन बढाउनुपर्ने सुझाव दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment