Comments Add Comment

चितवन हात्ती महोत्सव : हात्ती वाकमा चार हात्ती दोस्रो चरणमा प्रवेश

११, पुस, चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबार सुरु भएको ‘पन्ध्रौं चितवन हात्ती महोत्सव’ मा हात्ती फास्ट वाक र छावाबीचको फुटवलका खेलहरु सुरु भएका छन् ।

सौराहाको बाघमारा चौरमा सुरु भएको महोत्सवमा हात्ती वाकतर्फ भएको प्रतिस्पर्धामा पाँच वटा हात्ती मध्ये लक्की कली, पूजा कली, रानीमाया कली र गुलाफ कली विजयी हुँदै चार वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेको छ । एउटा हात्ती पहिलो चरणबाटै बाहिरिएको छ । यस प्रतिस्पर्धामा १५ वटा हात्तीको सहभागिता रहेको छ ।

यस्तै बुधबार हात्तीका छावाहरुको मैत्रीपूर्ण फुटबल खेल भएको छ । छावाहरुको फूटलबल अन्तरगत मेगा बैंकले एमइ ट्राभल एण्ड टुर्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै बुधबार सांगीतिक कार्यक्रम अन्तर्गत चर्चित लोक गायक मिलन लामा, नेत्रजी पन्तलगायतको कलाकारहरुले प्रस्तुति दिएका छन् । महोत्सव अवधिभर हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने (हात्ती वाक) प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती श्रृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध साँस्कृतिक कार्यक्रम रहने आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष समुन घिमिरेले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको अध्यक्ष घिमिरेले बताए ।

स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा सुरु भएको महोत्सव पाँच दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment