Comments Add Comment

शिक्षकको कुटाइपछि विद्यार्थीको मृत्यु, तपस्वी बमजनको आश्रमबाट आनी वेपत्ता

१२ पुस, काठमाडौं । कान्तिपुर दैनिकले बारामा शिक्षकको कुटपिटबाट एक विद्यार्थीको मृत्यु भएको र तपस्वी रामबहादुर बम्जनको आश्रमबाट तीन जना आनीहरु बेपत्ता भएको विषयलाई मुख्य प्राथमिकताका साथ छापेको छ ।

समाचारमा लेखिएअनुसार बाराको कलैया उपमहानगरपालिका १ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका १३ वर्षीय छोरा अजयकुमारको उपचारको क्रममा मृत्यु भएको हो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर फर्काइदिएका थिए ।

यसैगरी बाराको हलखोरियास्थित तपस्वी रामबहादुर बम्जनको आश्रमबाट आनीहरु वेपत्ता भएपछि परिवारका सदस्यहरुले प्रहरीमा उजुरी दिएका छन् । वेपत्ता हुनेहरुमा फूलमाया रुम्बा र कर्म वाइबा लगायत रहेको कान्तिपुरमा समाचार छ ।

बनेन लगानीको वातावरण, जग्गा प्राप्ती सहज नहुँदा लगानीकर्ता निराश

नागरिक दैनिकले दुई तिहाइको मजबुत र स्थीर सरकार बने पनि लगानी मैत्री वातावरण नबनेको मुख्य समाचार लेखेको छ ।

नागरिक दैनिक लेख्छ, ‘यो बेला लगानीमा स्वदेशी र विदेशी लगानीकर्ताको व्यापक चासो हुनुपर्ने हो तर त्यस्तो देखिएको छैन । राष्ट्र बैंकको पछिल्लो चार महिनाको तथ्यांकले मुलुकमा आउने लगानीको प्रतिबद्धता उल्टै आधा घटेको देखाएको छ ।’

कारोबार दैनिकले जग्गा प्राप्ती सहज नहुँदा ठूला लगानीकर्ता उत्पादनमुलक क्षेत्रमा आकर्षित हुन नसकेको मुख्य समाचार लेखेको छ । सरकारले औद्योगिक क्षेत्रलाई बढावा दिई चालु वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने घोषणा गरे पनि जग्गा प्राप्ती सहज हुन नसकेको समाचारको सार छ ।

प्रदेश राजधानीमै घर भएका सांसदले लिए घरभाडा

प्रदेश राजधानीमै घर भएका र सरकारी आवास प्रयोग गरिरहे पनि घर भाडा वाफतको रकम बुझ्ने प्रदेश सांसदहरुको नालीबेली नया‍ँ पत्रिका दैनिकमा छ ।

प्रदेश १ को राजधानी विराटनगरमै घर भएका संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, नेकपाकी मीना यादव र लीलाबल्लभ अधिकारी तथा कांग्रेसकी बिन्दिया कार्कीले घरभाडा भनेर रकम बुझ्दै आएको समाचारमा उल्लेख छ ।

यसैगरी प्रदेश २ मा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवसहित १४ सांसदले घरभाडा लिँदै आएका छन् । यादवको घर जनकपुरमै भए पनि मासिक १८ हजार रुपैयाँ बुझ्दै आएका छन् ।

राजपाका सुरिता साह, ज्युनल राइन, रिना यादव, जानकीशरण साह र परमेश्वर साह, कांग्रेसका मञ्जुकुमारी यादव, सरस्वती चौधरी, प्रमिला दास र शिवचन्द्र चौधरी, नेकपाका रामचन्द्र मण्डल र किशोरी साह, संघीय फोरमका कौशल यादव र रामआशिष यादवले पनि प्रदेशसभाबाट घर भाडाको रकम लिने गरेको समाचारमा उल्लेख छ ।

प्रदेश ३ को अस्थायी राजधानी मकवानपुरमै घर भएका सांसदहरु इन्द्र वानिया, मुनु सिग्देल र जुनेली श्रेष्ठले प्रदेशसभाबाट पाउने १५ हजार रुपैयाँमध्ये आधा रकम बुझ्दै आएका छन् ।

गण्डकी प्रदेशका सांसद मीनप्रसाद गुरुङको घर पोखरामै रहे पनि उनले प्रदेशसभामा घर नभएको विवरण पेस गरेर भाडावाफतको रकम बुझ्दै आएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमै घर भएका १३ सांसदहरुले भाडा वाफतको रकम बुझ्दै आएका छन् । घरभाडाको रकम लिनेहरुमा नेकपाका कमलादेवी विक, कृष्णप्रसाद न्यौपाने, तुलसीप्रसाद चौधरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र सुनिताकुमारी ठटेर छन् । यसैगरी कांग्रेसका अष्टभुजा पाठक, पुष्पा थरुनी, फखरुद्दिन खान, बलदेव शर्मा पोखरेल, रमा अर्याल र बसीउद्दिन खाँ र संघीय समाजवादी फोरमका सन्तोषकुमार पाण्डेले पनि रकम बुझ्दै आएका छन् ।

कर्णाली प्रदेशका सांसद विन्दमान विष्टले सिँचाइ डिभिजन कार्यालयको आवासमा बस्दै आए पनि घर भाडाको रकम बुझ्दै आएको समाचारमा उल्लेख छ । यसैगरी सुर्खेतको वीरेन्द्रनगरमै घर भएर पनि घर भाडा भनेर रकम लिनेहरुमा नेकपाका सुशीलकुमार थापा, अम्मरबहादुर थापा र सीता नेपाली तथा कांग्रेसका यज्ञबहादुर बीसी छन् ।

सुदूरपश्चिम प्रदेशमा राजपा सांसद मालामती राना, नेकपाका नेपालु चौधरी, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी र वीरमान चौधरी तथा कांग्रेस सांसद डिल्लीराज पन्त, टेकबहादुर रैका, दिव्यश्वरी शाह, देवराज पाठक र भरत खड्काले घर भाडा भनेर रकम बुझ्दै आएको नयाँ पत्रिकामा उल्लेख छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको विषय आजको अन्नपूर्ण पोष्ट दैनिकको प्रमुख समाचार छ । मंगलबार उनले वाइडबडीका लागि भुक्तानी गर्दा महालेखा परीक्षकसँग राय लिएको दाबी गरेका थिए तर महालेखा परीक्षक टंकमणि शर्माले सार्वजनिक लेखा समितिमा मन्त्री अधिकारीले झुठो बोलेको स्पष्ट पारेका छन् ।

राजधानी दैनिकले हिउँदे अधिवेशनको पहिलो दिनमै सरकार विपक्षीको निसानामा परेको र नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले मध्यमार्गी भूमिका खेलेको समाचार लेखेको छ ।

नेपाल समाचारपत्र दैनिकले धरहरा पुनर्निर्माणको आज शिल्यान्स हुन लागेको समाचार लेखेको छ ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment